|
गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको घोषणा गरिँदै। तस्वीर : सञ्जय रेग्मी

पर्वत : पोखरा थिएटरको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुने भएको छ।

‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ मूल मन्त्रसाथ हुने महोत्सव आगामी माघ ११-१५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए।

महोत्सवमा सहभागी हुन विभिन्न छनोट चरण पार गर्नुपर्नेछ। पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिने र त्यसका लागि पुस ३ गतेभित्र नाटकको कथावस्तु पठाउनुपर्ने छ।

कथावस्तुको अध्ययनपश्चात् केही सीमित नाटक दोस्रो चरणका लागि छनोट गरिने आयोजकको भनाई छ।

दोस्रो चरणमा छानिएका नाटकको रिहर्सल हेरेर निर्णायक मण्डलले अन्तिम चरणको लागि छनोट गर्नेछ। यसरी अन्तिम चरणमा छनोट भएका नाटक गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ।

उत्कृष्ट नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा ३ सदस्यीय निर्णायक समिति बनाइएको छ। समितिका सदस्यमा कलाकार माओत्से गुरुङ र प्रमिला तुलाचन छन्।

महोत्सवमा गण्डकीका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्।

निर्णायक संयोजकसमेत रहेका वरिष्ठ कलाकार घिमिरेले पछिल्लो क्रममा रङ्गमञ्चतर्फ स्कुलका विद्यार्थीको आर्कषण बढ्न थालेकोमा खुसी व्यक्त गरे।

पोखरा महानगरीय स्तरमा गर्दै आएको नाटक गत वर्ष प्रदेश स्तरमा गर्दा झनै उत्साहपूर्ण भएको र हरेक पटक विद्यार्थी तथा अभिभावकको चासो र आकर्षण बढ्दै गएको उनको भनाई छ।

महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्य रहने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.