|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा शनिबार भएको खेलमा मनाङ मर्स्याङदी क्लब र च्यासल युथ क्लब विजयी भएका छन्।

दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा च्यासलले एपिएफलाई १-० ले पराजित गर्दा दिनको अर्को खेलमा मनाङले हिमालयन शेर्पालाई पनि समान १-० ले नै पराजित गर्‍यो।

च्यासल र एपिएफबिच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने च्यासलले अग्रता लियो। ४९ औं मिनेटमा रुमेश बर्तौलाले कमल श्रेष्ठको पासलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए। उक्त गोल नै च्यासललाई तीन अंक दिलाउन पर्याप्त रह्यो।

प्रतियोगितामा यसअघि च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३-० ले पराजित भएको थियो। एपिएफको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३-२ गोल अन्तरले पराजित भएको थियो।

शनिबार नै रंगशालामा भएको दोस्रो खेलमा मनाङ अफ्रिकी स्ट्राइकर ओलावाले आफिजको एकमात्र गोलमा दोस्रो जित हात पार्न सफल भयो। मनाङका लागि आफिजले ८४ औं मिनेटमा पुजन उपरकोटीको कर्नरमा फ्रि हेडमार्फत आकर्षक गोल गरेका थिए।

त्यसअघि पहिलो हाफ र दोस्रो हाफको अधिकांश समय दुबै टिमले गोलका सुन्दर मौका बनाए पनि गोल गर्न असफल रहे।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.