|

पर्सा : वीरगञ्जमा वायु प्रदूषण मापन थालिएको छ। अमेरिकी सरकारले अनुदानमा दिएको ‘ब्लुस्काइ डिभाइस’मार्फत पहिलोपटक प्रदूषण मापन सुरु भएको हो। वीरगञ्ज महानगरपालिका-३१ स्थित सोलखपुरमा जडान गरिएको ती डिभाइसमार्फत प्रदूषण मापन गर्न थालिएको जनाइएको छ। डिभाइस यहाँको प्रदूषणको मात्रा यकिन गर्ने छ।

महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख इञ्जिनियर सुनिलकुमार कर्णका अनुसार त्रिभुवन विश्वविद्यालयको वातावरण विभागसँग समन्वय गरी ती उपकरण जडान गरिएको हो। मुलुकको सबैभन्दा ठूलो पर्सा–बारा औद्योगिक करिडोरको ठूलो हिस्सा यही पर्छ। यहाँका धेरै उद्योगले औद्योगिक प्रदूषण नियन्त्रणका लागि कदम नचालेकाले प्रदूषण बढेको जनगुनासो लामो समयदेखि रहिआएको छ। महानगरमा जनघनत्व उच्च छ। सवारीसाधनको संख्या पनि बढ्दो छ।

करिडोर भएर बग्ने सिर्सिया खोलामा उद्योगबाट निस्कने प्रदूषित पानी, रासायनिक पदार्थ, खरानी आदि वस्तु प्रशोधन नगरी फाल्दै आइएको छ। यसबाट पछिल्लो समय सिर्सियासमेत अत्यधिक प्रदूषित बनेको छ। शाखाले यसअघि नै महानगर क्षेत्रमा रहेका उद्योगले गर्ने प्रदूषणको मापन गर्ने गृहकार्य सुरु गरिसकेको जनाएको छ। यसका लागि महानगर क्षेत्रमा रहेका उद्योगको लगत सङ्कलन कार्य सम्पन्न भइसकेको इञ्जिनियर कर्णले जानकारी दिए।

कर्णले भने‚ ‘वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँगको समन्वयमा उद्योगले के–कति परिमाणमा हावा, पानी, ध्वनि, धुवाँ, धुलो, ताप आदिको प्रदूषण गरिरहेका छन्, त्यसको मूल्यांकन भइरहेको छ।’ सम्बन्धित उद्योगहरूले प्रदूषण गरेको यकिन भए नियन्त्रणका लागि सुझाव र निर्देशन दिने र अटेर गरे कारबाही गरिने छ।

उनका अनुसार यहाँ साना, मझौला र ठूला गरी करिब २०० उद्योग सञ्चालनमा छन्। महानगर र त्रिविको संयुक्त विशेषज्ञ टोली प्रत्येक उद्योगमा स्थलगतरूपमै पुगेर त्यहाँबाट भइरहेको वातावरण प्रदूषणको मूल्यांकन गर्ने काम गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.