|

चितवन : नेकपा (एमाले)को दशौं महाधिवेशनका प्रतिनिधिहरूले निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्दा एमाले पुनः फुटको बाटोमा जाने चिन्ता व्यक्त गर्दै सर्वसम्मतबाट नेतृत्व चयन गर्नुपर्ने माग गरेका छन्।

चितवनमा जारी महाधिवेशनको बन्दसत्रमा उपस्थित प्रतिनिधिहरूले निर्वाचनमा जाँदा ओली समूहले मात्रै जित्ने र अर्को समूहले हार्ने हुँदा पार्टी फेरि फुटको सँघारमा पुग्न सक्ने बताएका छन्। कैलालीबाट आएका प्रतिनिधि नरबहादुर खड्काले पार्टी निर्वाचनमा गएमा माओवादीबाट आएकाहरू र माधव नेपाल पक्षबाट आएकाहरूले चुनाव जित्न नसक्ने र उनीहरू पार्टी नेतृत्वबाट बाहिरिने भएकाले सर्वसम्मतिमा सबैलाई समेट्नुपर्ने सुझाव दिए।

‘निर्वाचनमा जाँदा ओली समूहकाले मात्रै जित्ने छन्। माओवादी र माधव नेपाल समूहबाट आएकाले हार्ने निश्चित छ,’ खड्काले भने‚ ‘त्यस्तो भएमा झन् पार्टी फुटतिर जान्छ। त्यसैले सर्वसम्मत गरी सबैलाई समेट्नुपर्छ।’ उनले केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्य थपेर पार्टीलाई एकजुट बनाउन गरेको पहल सकारात्मक भएको बताए।

नुवाकोटबाट आएकी बिन्दा ढुंगानाले पार्टीलाइ एकढिक्का बनाउन सर्वसम्मत नेतृत्व चयनको बिकल्प नभएको बताइन्। ‘सबैतिर हामीले सर्वसम्मत नै गर्दै आएका छौं। पार्टीलाई फुटमा होइन जुटमा लैजान हामीले वडादेखि यहाँसम्म कतै निर्वाचन गरेनौं‚’ ढुंगानाले भनिन्, ‘त्यसैले पार्टीको एकता जोगाउन केन्द्रमा पनि निर्वाचन गर्नु हुँदैन, सर्वसम्मत गर्नुपर्छ।’

एमालेलाई एकतावद्ध बनाउन सर्वसम्मत रुपमा नै नेतृत्व चयन हुनुपर्नेमा खोजिना खातुनको पनि जोड छ। उनले भनिन्, ‘सकेसम्म सर्वसम्मतबाटै सबै कुरा मिलाउनुपर्छ। पार्टीलाई मजबुद बनाउन निर्वाचनलाई अन्तिम विकल्पको रुपमा मात्रै राख्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.