|

काठमाडौं : दक्षिण अफ्रिकामा पुष्टि भएको ‘ओमिक्रोन’ नामक बी १.१.५२९ नयाँ भेरियन्ट केही देशमा समेत देखिएर सतर्कता अपनाइरहँदा नेपालमा पनि सो भेरियन्ट छ कि छैन भनेर पुष्टि गर्न परीक्षणका (जीन सिक्वेन्सिङ)लागि पनि ७ सय ५० नमुना बेलायत पठाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नयाँ भेरियन्ट भए/नभएको पत्ता लगाउन ७ सय ५० नमुना बेलायत पठाएको बताए।

‘७ सय ५० नमुना हामीले परीक्षणका लागि बेलायत पठाएका छौं, त्यसको रिपोट आएपछि हाम्रोमा नयाँ भेरियन्ट भित्रिसकेको छ/छैन भन्ने पुष्टि हुन्छ’‚ उनले भने।

सरकारले ७ सय ५० नमुना ओमिक्रोन भेरियन्ट हो वा होइन होइन भनेर पुष्टि गर्ने उद्देश्यले बेलायत पठाउनुले यो आशंकामाथि बल पुगेको छ।

नेपालमा जीन सिक्वेन्सिङका लागि ९६ वटा नमुना  परीक्षणका क्रममा छन्। टेकुस्थित केन्द्रीय प्रयोगशालामा  जीन सिक्वेन्सिङका लागि मेसिनमा राखिएको उक्त नमुनाको नतिजा चार दिनमा आउने बताइएको छ।

नेपालमा दोस्रो लहर डेल्टाले ल्याएको थियो । यसले कैँयौं मानिसको ज्यान लिएको थियो। हाल दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन’ नामक बी १.१.५२९ नयाँ भेरियन्टले अझै तीव्र संक्रमणदर देखाएको अधिकारीले बताएका छन् ।

 

ओमिक्रोन’ भेरियन्ट भित्रन नदिन सतर्कता

कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस नेपाल भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको छ।

ओमिक्रोन भेरियन्टका केही संक्रमित हङकङमा समेत भेटिएको हुँदा सरकारले अबदेखि हङकङबाट आउनेहरूका लागि अनिवार्य क्वारेन्टाइन र परीक्षण गर्ने निर्णय भएको डा. पौडेलले बताए।

‘हङकङमा ओमिक्रोन भेरियन्टका केही केस भेटिएको छ। त्यसैले अबदेखि त्यहाँबाट आउनेहरूका लागि अनिवार्य होटल क्वारेन्टाइन र परीक्षणका साथै परीक्षणमा कोरोना पोजेटिभ देखिए जीन सिक्वेन्सिङ गर्नेछौं‘‚ उनले भने।

‘भारतले आफ्नो हवाइ उडानमा कडाइ गरिसकेको छ, हामीले पनि अब थप कडाइ कसरी गर्ने भन्ने विषयमा भोलि बस्ने सिसिएसीको बैठकमा छलफल हुन्छ, अहिलेसम्म हवाइ उडान बन्द गर्ने विषयमा छलफल भएको छैन तर हाम्रो सिधा उडान हुने मुलुकहरूमा यो भेरियन्ट देखिए त्यसतर्फ पनि सोच्नुपर्ने हुनसक्छ’‚ उनले भने।

सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ।

सोही विषयमा थप छलफल तथा निर्णय गर्न आज कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठक बस्दै छ। बैठकमा स्वास्थ्य विज्ञहरूको समेत सहभागिता रहने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.