पाँचदिनसम्म सडक बन्द गरिँदा सर्वसाधारणलाई सकस

|
जोरपाटी-सुन्दरीजल सडकखण्डको मेडिकल कलेज नजिकै अलकत्रा हाली बन्द गरिएको सडक।

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले गत कात्तिक २२ गते जोरपाटी–सुन्दरीजल सडक २७ र २८ गते पिच गर्ने भन्दै त्यहाँ कसैलाई पानी नहाल्न अनुरोध गर्‍याे। यही सूचनाले वर्षौंदेखि अलपत्र सडक पिच हुने भनी स्थानीय हर्षित भए। नभन्दै सोही दिन उक्त सडक खण्डअन्तर्गत जोरपाटी सानो बजारदेखि भेनस स्कुल अगाडिसम्मको करिब चार सय मिटर सडक पिच भयो।

तर त्यो स्कुलअगाडिबाट गोकर्णतर्फको सडक पिच भएन। बरु पाँच दिनसम्म अलकत्रा हालेर सडक बन्द गरियो। सवारीसाधन हिँड्न दिइएन। यसले गर्दा सवारीसाधन चालक अहिले दुःख खेपिरहेका छन्। यात्रुहरू समयमा गन्तव्यमा पुग्न सकेका छैनन्। 

अहिले जोरपाटीबाट सुन्दरीजल जाने सवारीसाधन कहिले तीनचुली त कहिले छहारी क्लबबाट आरुबारी घुम्दै सुन्दरीजल पुग्ने गरेका छन्। सुन्दरीजलबाट जोरपाटी चावहिल रत्नपार्क आउने सवारीसाधन अत्तरखेलबाट घुमेर छहारी क्लब निस्किएर जोरपाटी चोक निस्कने गरेका छन् भने कुनै सवारीसाधन बागमती किनारबाट निस्किने गरेका छन्।

‘पाँच दिनसम्म सडक बन्द गरी जनतालाई दुःख दियो’

सडक पिच गर्नेभन्दा पनि बन्द गरेर जनतालाई दुःख दिइएको गोकर्ण अत्तरखेलका स्थानीय राम भण्डारी बताउँछन्। उनले भने, ‘पाँच दिनदेखि सडक बीचमा ठूला ढलका पाइप तेर्स्याएर बन्द गरिएको छ, अलकत्रा हाले पनि पिच भने भएन। यो अस्पताल क्षेत्र हो, यस्तो के गरेको होला?।’ 

त्यहीँ नजिकै नेपाल मेडिकल कलेज शिक्षण अस्पताल छ तर सडक बन्द गरिँदा बिरामी ल्याउन सकस छ। तत्काल सडक पिच गरेर नागरिकलाई सहजता दिलाउनुपर्ने उनको माग छ। ‘सडक त रातको समयमा पिच गर्ने हो तर नगरपालिकाले दिउँसो काम गर्ने गर्छ। यसो गर्दा सर्वसाधारणलाई समस्या हुन्छ’‚ उनले भने।

पटक पटक आन्दोलन भयो तर पिच भएन 

जोरपाटी–सुन्दरीजल सडकको छुट्टै चर्चा छ। सडक पिच भएर होइन वर्षेनि अलपत्र परेका कारण। उक्त सडक खण्डको ७ किमी सडक निर्माणका लागि आशीष/सि.एम.जे.भी.सँग २०७३ सालमै २०७५ साल असोज महिनामा सक्ने गरी करिब ५४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि सडक पिच हुन सकेन। सम्झौता अवधि सकिएको तीन वर्ष बित्दा बल्ल जोरपाटीको सानो बजारबाट छहारी क्लबसम्मको करिब तीन सय किमि, मेडिकल कलेजबाट शिव चोकसम्मको सडक पिच भएको छ।

त्यस्तै माइती नेपालबाट नाम्गेल बसपार्क र सुन्दरीजलस्थित सैनिक ब्यारेक क्षेत्रमा मात्रै पिच भएको छ। सडक पिच भएको क्षेत्रमा सर्वसाधारणलाई धेरै सहज भएको छ तर बाँकी सडक खाल्डाखुल्डीमा परिणत भएको छ। पानी पर्दा पोखरी जमेर हिलाम्मे हुन्छ भने अहिले धुलोले दिउँसै रात पर्ने गरेको छ। 

‘जति विराेध र आन्दोलन गरे पनि ठेकेदार र सम्बन्धित निकायले काम गर्दैनन्, ठेकेदारले जति ढिला सुस्ती गरे पनि सरकारले केही कारबाही गर्ने पनि हाेइन’‚ स्थानीय भण्डारीले भने। नगरपालिकाले मुआब्जा विवाद समाधान गरी २०७६ मंसिर २० गतेबाट सडक रेखांकनको काम सुरु गरेकाे थियो। समयमा सडक पिच माग गर्दै स्थानीय पटक-पटक आन्दोलन गरे पनि माग सुनुवाइ भएको छैन। 

२०७६ साउन महिनामा स्थानीयले जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर खेत रोप्ने गह्रा जस्तो बनाइएको भन्दै स्थानीयले उक्त सडक अवरुद्ध गरेका थिए। त्यस्तै २०७७ चैत १४ गते शनिबार दिनभर नै भैरवचौरमा समयमा सडक पिच नगरेको भनी त्यहाँका स्थानीयले सडक अवरुद्ध गरेका थिए। 

आयोजना भन्छ : काम तत्काल सुरु गरी चैतमा सकिन्छ

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता लक्ष्मण देवकोटाले मेसिन बिग्रिएका कारण पिच गर्ने काम रोकिएको बताए। ‘निरन्तर सडक पिच भइरहेको थियो, अलकत्रा हाल्दा हाल्दै मेसिन बिग्रिएर सडक बन्द गरिएको हो, आजबाट काम सुरु हुन्छ’‚ उनले भने।

रातको समयमा धेरै चिसो हुने हुँदा पिचको काम नगरेको उनको तर्क छ। उनले भने, ‘पिचको काम रातको समयमा गर्नुपर्ने थियो,तर अहिले धेरै चिसोको समय छ,यस्तो बेला पिच गर्न हुँदैन,छिट्टै उप्किन्छ।’ उक्त सडक खण्ड पिच गर्नका लागि आगामी चैत सम्ममा म्याद थपेको र सोही समयमा सबै काम सकिने उनको भनाई छ। 

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.