|

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी, लेस्टर सिटी तथा ब्रेन्टफोर्डले आ-आफनो खेलमा जित निकालेका छन्। म्यानचेस्टर युनाइटेडले भने शीर्ष स्थानको चेल्सीलाई बराबरीमा रोकेको छ।

जितसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ। एक खेल कम खेलेको चेल्सी १२ खेलबाट २९ अंकका साथ शीर्ष स्थानमा रहँदा १३ खेलबाट २९ अंक बनाएको सिटी दोस्रो स्थानमा छ। शीर्ष स्थानको चेल्सीले आज राति म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ।

उपाधि दाबेदार सिटीले वेस्टह्यामविरुद्ध पहिलो हाफमानै अग्रता लियो। वेस्टह्याम युनाइटेडलाई २-१ ले पराजित गर्ने क्रममा सिटीले घरेलु मैदानमा गुन्डोनानको गोलबाट अग्रता लिएको थियो। उनले ३३ औं मिनेटमा रियाद महारेजको क्रसलाई सदुपयोग गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। अधिकांश समय १-० को अग्रता बनाएको सिटीका लागि ९० औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। तर‚ वेस्टह्यामका लागि लान्जीनीले अतिरिक्त समयमा गोल गर्दै सिटीको क्लिन सिट हुनबाट रोकेका थिए।

लेस्टरको फराकिलो जित

प्रिमियर लिगअन्तर्गत नै आइतबार रातिनै भएको अर्को खेलमा लेस्टर सिटीले वार्टफोर्डमाथि ४-२ को प्रभावशाली जित निकाल्यो। लेस्टरको जितमा जेमी भर्डी र म्याडिसन नायक सावित भए। भर्डीले लेस्टरका लागि दुई गोल गरेका थिए।

किङ पावर स्टेडियममा भएको खेलमा १६ औं मिनेटमा म्याडिसनको गोलमार्फत लेस्टरले अग्रता लियो। तर‚ जोसहुवा किङले पेनल्टीमार्फत ३० औं मिनेटमा खेल बराबरीमा ल्याउँदै लेस्टरलाई दबाब बढाए।

यद्यपि‚ पहिलो हाफमानै अग्रता फराकिलो पार्न भर्डीले ३४ र ४२ मिनेटमा मडिसनकै एसिस्टमा गोल गर्दै पहिलो हाफमा टिमलाई ३-१ को अवस्थामा पुर्‍याए। दोस्रो हाफमा वार्टफोर्डका डेनिसले ६१ औं मिनेटमा गोल गर्दै अग्रता साँघुर्‍याउने प्रयास गरे। तर‚ लोकमनले ६८ औं मिनेटमा पुन गोल गर्दै लेस्टरको ४-२ को जित पक्का गरे। जितपछि लेस्टर १८ अंकका साथ नवौं स्थानमा उक्लिएको छ।

ब्रेन्ट फोर्ड विजयी

सोही समयमा भएको अर्को खेलमा ब्रेन्ट फोर्डले एभर्टनमाथि १-० को जित निकाल्दै प्रिमियर लिगमा पाँच खेल लामो जित प्रतिक्षा अन्त गर्‍यो। ब्रेन्ट फोर्डको मैदानमा एभर्टनको भने ७ खेल देखिको जितको प्रतिक्षा कायम रह्यो।

एभर्टनलाई पराजित गर्नका लागि इभान टोनिले २४ औं मिनेटमा पेनल्टीमार्फत गरेको एकमात्र गोल निर्णायक भएको थियो। जितसँगै ब्रेन्ट फोर्ड १६ अंकका साथ १२ औं स्थानम उक्लियो। एभर्टन भने १४ औं स्थानमा झर्‍यो।

चेल्सी र युनाइटेडले अंक बाँडे

इंग्लिस प्रिमियर लिगमा आइतबार भएको खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले अंक बाँडेका छन्। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बराबरी भएसँगै अब प्रिमियर लगमा उपाधि भिडन्त खुला भएको छ।

युनाइटेडलाई ५० औं मिनेटमा सान्चोले गोल गर्दै सुरुवाती अग्रता दिलाए। तर चेल्सीलाई खेलमा फर्काउन जोर्गिन्होले ६९ औं मिनेटमा पेनल्टीमार्फत गोल गरेका थिए।

बराबरीका बाबजुत चेल्सी शीर्ष स्थानमा कायम छ।१३ खेलको समाप्तिमा चेल्सीको ९ जित र ३ बराबरी र १ हारसहित ३० अंक भएको छ। दोस्रो स्थानको सिटीको २९ अंक भएको छ। तेस्रो स्थानमा रहेको लिभरपुलको २८ अंक छ। बर्नली र टोटन्ह्याम बिचको खेल भने अत्याधिक हिंका कारण स्थगित गरियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.