|

काठमाडौं : जिल्लामा जारी यु-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश आफ्नो पाँचौं खेलमा चौथो जित निकाल्दै शीर्ष स्थानमा उक्लिन सफल भएको छ। अपराजित रहेको प्रदेश १ ले भने चौथो खेलमा पहिलो हार भोग्यो।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले ३७.२ ओभरमा अलआउट हुँदै केवल १०६ रनमात्र बनाउन सक्यो। १०७ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको लुम्बिनीले २३.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ६ विकेटको जित निकाल्यो।

लुम्बिनीलाई सहज जित दिलाउन कप्तान तथा ओपनर डेभ खनालले २५ रन बनाउँदा विशालविक्रम केसीले २६ रन बनाए। त्यस्तै वासिर अहमेद २४ रनमा नटआउट रहे। त्यसअघि ओपनर आकाश त्रिपाठीले १३ रन जोड्दा विक्रम भण्डारीले १६ रन बनाएका थिए।

प्रदेश १ का लागि दीपेश कँडेलले २ विकेट लिँदा गौरव कटवाल र लुभ कामतका नाममा १-१ विकेट रह्यो।

यसअघि खराब प्रदर्शन गरेको प्रदेश १ लागि तीन खेलाडीले मात्र दोहोरो रनको स्कोर तयार गर्न सके। लुम्बिनीका बलर सामु निरीह देखिएको प्रदेश १ का लागि गौरव कटुवाललले सर्वाधिक १९ रन बनाउँदा दीपक जोशीले १८ र राकेश शाहले १३ रनको योगदान दिए।

खराब सुरुवात गरेको प्रदेश १ ले सात रन हुँदा पहिलो विकेट गुमाएको थियो। त्यसपछि उसको स्कोर २० रन हुँदा तीन विकेट झरेको थियो।

प्रदेश १ का कुनै पनि खेलाडीबीच गतिलो साझेदारी हुन सकेन। एकपछि अर्को विकेट गुमाएको प्रदेश १ को पारी मात्र १ सय ६ रनमा समेटियो। सस्तैमा समेट्ने क्रममा लुम्बिनीका मोहम्मद हुसेनले पाँच विकेट लिए भने वासिर अहमेदले तीन तथा दुर्गेश गुप्ताले दुई विकेट लिए। जितसँगै लुम्बिनीको फाइनल यात्रा समेत बलियो बनेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.