|

काठमाडौं : दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपाल भित्रने जोखिम रहेको सरकारले बताइरहेको छ।

विश्वव्यापी फैलिएको ‘डेल्टा भेरियन्ट’पछि हाल यो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वव्यापी चासोको विषय बनेको छ।

अप्रत्यक्ष रूपमा कोरोनाको नयाँ भेरियन्ट भित्रन सक्ने हुँदा सावधानी अपनाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको बी ११ ५२९ नाम दिएको यो नयाँ भाइरस २४ नोभेम्बरमा पहिलोपटक विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) मा रिपोर्ट गरिएको र डब्ल्यूएचओमा व्यापक छलफलपछि २६ नोभेम्बरमा यो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ भनेर नामकरण गरेको थियो।

कस्तो बेलामा ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिन्छ?

कुनै पनि भाइरस तीव्र गतिमा फैलने अवस्था, फरक लक्षण देखिने, घातकता बढ्ने, जनस्वास्थका मापदण्ड प्रभावहीन हुने, हाल निदान गर्ने हालको प्रविधि, खोप तथा उपचारमा समस्या देखिनु आदि मध्येमा एक वा सोभन्दा बढी लक्षण देखिएमा भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिने गरिन्छ। कोरोना भाइरसले आफ्नो जीनमा स–साना परिवर्तन गरिरहन्छ र त्यसलाई नै म्युटेसन भनिन्छ।

डब्ल्यूएचओका अनुसार प्रारम्भिक नतिजाअनुसार ओमिक्रोन भेरियन्टले अरू ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएका भाइरसभन्दा पुन: संक्रमण गर्न सक्ने क्षमता बढी देखाएको भनिएको छ।

 नेपालमा जोखिम कति छ?

धेरै देशमा यो भेरियन्ट देखिसकेको अवस्थामा नेपालमा पनि देखिन सक्ने जोखिम उच्च रहेको बताइन्छ। यो भेरियन्ट भर्खरै देखिएको हुँदा यसबारे धेरै जानकारी बाहिर नआए पनि हालसम्मको अनुसन्धानमा यो भेरियन्ट अलि कडै खालको रहेको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन।

उनका अनुसार हाम्रोमा खुला सिमाना भएको र पछिल्लो समय यो भेरियन्ट देखिएका देशबाट मान्छेको आवतजावत भइरहेको अवस्थामा नयाँ भेरियन्ट चाँडै भित्रने जोखिम बढ्दै गएको बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रूप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताउँछन्।

उनले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने भने सम्भावना रहेको बताए। ‘नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च रहेको छ तर हामी फैलिन नदिनका लागि तयारी अवस्थामा रहेका छौ‌’‚ उनले भने।

मन्त्रालयले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा रहेका सहायता कक्षले विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर निगरानी तीव्र बनाएको छ।

यस्तै विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको र ती व्यक्तिमा कस्तो लक्षण देखिएको छ, त्यसको पनि निगरानी गरिएको डा. अधिकारीले बताए।  

नयाँ भेरियन्टबारे धेरै कुरा थाहा हुनै बाँकी

धेरैले पूर्ण खोप लगाइरहेको अवस्थामा त्यसैले लक्षित जनसंख्यामा दुई मात्रा पूर्ण खोप लगाइसकेका देशमा ‘ओमिक्रोन भेरियन्ट’ ले कसरी प्रभाव पर्छ भन्ने नतिजा महत्त्वपूर्ण हुनेछ। यसको ‘स्पाइक प्रोटिन’मा व्यापक उत्परिवर्तन भएकाले यो तीव्र गतिमा फैलिएर संक्रामक हुने भनिएको छ तर कति संक्रामक हुन्छ भन्ने यकिन भइनसकेको अवस्थामा यो भेरियन्टको प्रभाव अझै कस्तो हुन्छ भन्ने कुराँ बाँकी नै रहेको डा. पुनले बताए।

‘प्रारम्भिक अनुसन्धानम यो भेरियन्ट  अलि आक्रामक छ भनिएको छ, अझै पहिले नै संक्रमित भएकाहरूलाई पुनः संक्रमित समेत बनाउँछ भनिएको छ तर पूर्ण खोप लगाएकाहरूलाई कस्तो हुन्छ भन्ने कुरामा अझै खुल्न बाँकी छ’‚ उनले भने।

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्युटेसन देखिएको र त्यसमा पनि अझ ‘स्पाइक प्रोटिन’ समेतमा हुँदा विगतमा देखिएका ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत पर्ने भाइरसभन्दा बढी जोखिम हुन सक्ने डा. पुनले बताए।

नयाँ भेरियन्टहरू देखिइरहेका वेला हाम्रो मुख्य काम भनेको जनस्वास्थ्यका मापदण्ड पालना गर्नैपर्ने डा. पुनले बताए। ‘म्युटेसन भएर भेरियन्ट देखिइरहेका वेला हामीले बच्ने भनेको भिडभाड कम गर्ने र जनस्वास्थ्यको मापदण्ड नै पालना गर्ने हो’‚ उनले भने।

नेपालमा नै परीक्षण गरेर पत्ता लगाउन सकिन्छ ओमिक्रोन भेरियन्ट

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जीन सिक्वेन्सिङ गरेर पत्ता लगाउन सकिने बताइएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले ओमिक्रोनको जीन सिक्वेन्सिङबाट पत्ता लगाउन सक्षम रहेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए। उनका अनुसार हाल पनि जीन सिक्वेन्सिङका लागि  केही नमुना परीक्षणकै क्रममा रहेको बताए।

‘हामीसँग नयाँ भेरियन्ट पत्ता लगाउने क्षमता छ, केही आवश्यक पूर्वाधार जुटाउनुपर्ने अवस्था आउला‚ नत्र हाम्रै प्रयोशालामा हुन्छ। यसअघि पनि डेल्टा, गामा, काप्पा लगायत भेरियन्ट जीन सिक्वेन्सिङबाटै पत्ता लगाइएको हो’‚ उनले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.