|

म्याग्दी : म्याग्दीमा दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन हुने भएको छ।

यही मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा १० दिनसम्म मतदाता नामावली सङ्कलन गरिने जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ।

ती पालिकामा ३ वटा टोलीमार्फत नामावली सङ्कलन गरिनेछ भने २ वटा टोलीले मंसिर २९ गतेदेखि आगामी पुस ९ गतेसम्म रघुगंगा र मंगला गाउँपालिकामा नामावली सङ्कलन गर्ने जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए। टोलीले पालिकाको केन्द्रमा रहेर १० दिनसम्म नामावली सङ्कलन गर्नेछ। 

यसैक्रममा आइतबार जिल्ला निर्वाचन कार्यालय म्याग्दीको आयोजनामा बेनीमा ‘मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम–२०७८’ विषयक अन्तरसंवाद गरिएको छ।

कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र कार्यालय प्रमुखसहित पत्रकार सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले मतदाता नामावली सङ्कलनलाई विश्वसनीय बनाउनुपर्ने बताए। मतदान गर्न योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न सबैले सहयोग गर्नुपर्ने भन्दै उनले त्यसका लागि जनप्रतिनिधि र राजनीतिक दलले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले मतदान गर्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्ने बताए। उनले जिल्लामा सञ्चालन हुने फोटोसहितको मतदाता नामावली सङ्कलनमा सम्बन्धित स्थानीय तहमा सुरक्षाका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिने जानकारी दिए। म्याग्दी जिल्लामा हाल ८० हजार १ सय ५४ जना मतदाता छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.