|

काठमाडौं : नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि मतदान जारी छ। मंगलबार बिहान  ४ बजेदेखि सुरू भएको मतदान सकिन अझै डेढ घण्टा लाग्ने निर्वाचन समितिले जनाएको छ। बिहान ९ बजेसम्म १५ सय मतदान भएकाे छ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र भीम रावल तथा अन्य शीर्ष नेताले मतदान गरिसकेका छन्। विद्युतीय प्रक्रियामा मतदान भइरहेको छ। 

पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचन हुँदैछ। त्यस्तै‚ केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रतर्फ दलित (खुला), थारू (खुला), पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशको महिलातर्फ केन्द्रीय सदस्यका लागि निर्वाचन भइरहेको छ। अरू सबै पदमा सर्वसम्मत भएको छ।

अध्यक्ष पदका लागि ओली र रावलले उम्मेदवारी दिएका छन्। यस्तै‚ ६ उपाध्यक्षका लागि सात र सात सचिवका लागि नौजनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्बाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। 

यस्तै‚ सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, भीम आचार्य र टंक कार्कीको उम्मेदवारी परेको छ।

केन्द्रीय समितिमा ८४ खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ। प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। 

त्यस्तै‚ समावेशी क्षेत्रको दलित खुलातर्फ आठ सदस्यका लागि नौ जना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार तथा सुदूरपश्चिम प्रदेशको महिलातर्फ तीन सदस्यका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुँदैछ। 

महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्दैछ। महाधिवेशनको उद्घाटनसत्र यही मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा भएको थियो भने बन्दसत्र सौराहामा भएको हो। सर्वसम्मत पदाधिकारीलगायत सदस्य चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा गएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.