कर्मचारीमा त्रास कायमै

|
पुरानो ढोका निकालेर नयाँ ढोका हालिँदै।

काठमाडौं : रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा पानी चुहिएपछि अहिले मर्मत सम्भार भइरहेको छ। गत भदौ महिनामा नयाँ भवनको विभिन्न भागमा पानी चुहिएपछि कार्यालयले पुन: मर्मत गरेको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ८ गते उक्त नयाँ भवनको उद्घाटन गरेका थिए तर उद्घाटन भएको आठ महिना अर्थात् भदौ महिनामा पानी चुहिएर पार्किङस्थल जलमग्न भएको थियो। 

भवनको फल्स सिलिङ झरेपछि त्यहाँ काम गर्ने कर्मचारी त्रसित भएका थिए। त्यतिमात्र नभई कार्यालयको भुइँतलाको वाल नै फुटेको थियो। भुइँमा ओछ्याएको ब्लक भासिएर भ्वाङ परेको थियो। भवनको कम्पाउन्ड वाल ढलेको थियो। त्यस्तै शौचालयकाे मलमूत्र पनि चुहिएको थियो। 

अहिले कार्यालयले ठेकेदारलाई पुनः काम अह्राई ढल मर्मत भइसकेको छ। त्यहाँ कार्यरत कर्मचारीका अनुसार मर्मत गरिएपछि अहिले शौचालय चुहिएको चुहिएको छैन। त्यस्तै,भ्वाङ परेको प्वालमा ब्लक हाली टालिएको छ। 

पुरानाे ढोका फोडेर नयाँ हालियो

ठेकेदार कम्पनीको लापरबाहीले कार्यालयको ढोका समेत राम्ररी हालिएन। त्यसो त फेरि ढोका नयाँ फेरिँदै छ। कार्यालयका एक कर्मचारीका अनुसार ढोका राम्रोसँग नहालिएका कारण भित्रबाट पूरै बाहिरकाे दृश्य देखिएपछि पुनः नयाँ फेरिएको हो।

‘राम्रोसँग ढोका नजोडिएको कारण भित्र बस्दा बाहिरको सबै दृश्य देखिएपछि फेरि नयाँ ढोका हालिएको छ, जति हाले पनि रकमको मतलब छैन, जे गरे पनि यहाँ छुट छ’‚ ती कर्मचारीले भने। नयाँ भवनको चौकसमा पनि ढोका हाल्न थालिएको छ।

कर्मचारीलाई अझै त्रास

तत्कालीन महान्याधिवक्ता अग्निप्रसाद खरेलले उक्त भवन बनाउन २०७५ असोज २४ गते शिलान्यास गरेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार शर्मा–समानान्तर जेभीले कार्यालय बनाउन ठेक्का पाएको थियो।

भवनमा करिब ७३ करोड खर्चिएको प्राधिकरणले जनाएको छ। कर्मचारीहरू ती ठेकेदारले गुणस्तरहीन भवन बनाएको भन्दै मर्मत गरिए पनि अझै त्रास रहेको बताएका छन्। 

‘ठेकेदारले राम्रो भवन बनाएको भए त यस्तो समस्या नै आउने थिएन’‚ नाम नखुलाउने स्वार्थमा अर्का कर्मचारी भन्छन्, ‘फल सिलिङ झरेर एकजना साथीको टाउको झण्डै फुट्यो, अहिले मर्मत त भइरहेको छ, पानी परेका वेला फेरि नचुहिएला भन्न सकिन्न। यहाँ कुन वेला के हुन्छ थाहै छैन।’

‘आयोगमा केही जानकारी आएन’

भदौ २० गते आइतबार राति परेको पानी कार्यालयमा चुहिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्यसको भोलि सोमबार नै स्थलगत अनुगमन गरेको थियो।

त्यसबेला आयोगका सूचना अधिकारी बेदप्रसाद भण्डारीले गुणस्तरहीन काम भएको पाइएमा ठेकेदारलाई कारबाही गर्ने बताएका थिए। तर छलफलपश्चात् हालसम्म केही जानकारी आयोगमा नआएको सूचना अधिकारी भण्डारीले बताए। ‘पानी चुहिएको समाचार प्रकाशित भएपछि छलफलको लागि टोली गएको थियो’‚ उनले भने, ‘त्यसपछि आयोगमा के-के भयो भनी केही जानकारी आएको छैन।’

यसो भन्छ कार्यालय 

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भवनबाट पानी नचुहिएकाे र ढलको समस्याले पानी जमेको बताउँदै बाँकी काम भइरहेको बताए। उनले भने, ‘पहिला बोरिङबाट पानी आएको थिएन, त्यो पनि बनाएर पानी आउन थालेको छ। मर्मतभन्दा पनि यो बाँकी नियमितकाे काम नै हो।’

अरू ठूलो केही त्रुटि फेला नपरेको र कर्मचारी डराउनुपर्ने केही कारण नरहेको उनको भनाइ छ। उनका अनुसार सोही कम्पनीलाई त्यही ठेक्का गरेको रकममै काम लगाइएको छ। 

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.