|

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ।

रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा वडा सदस्यसहित चारजनाको मृत्यु र चारजना घाइते भएका थिए।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले घाइतेलाई जनही एक लाख रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराइने जानकारी दिए। मृतकका परिवारलाई किरिया खर्चका लागि पचास हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको उनले बताए।

बेनीदेखि बेगको सिम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप औलामा दुर्घटना हुँदा बेगकी वडा सदस्य गौमाया विक, चालक दुढबहादुर थापा, यात्रु खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको थियो।

मृतक र घाइते सबै बेगका हुन् । ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जालाई बेनी अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको छ।

प्रहरीका अनुसार जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो। मंगलबार बिहानै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।

यसैगरी रघुगंगा गाउँपालिकाका अध्यक्ष भबवहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रशासकीय अधिकृत अमृत सुवेदीले मंगलबार शोक विज्ञप्ति जारी गरेर मृतकप्रति श्रद्धाञ्जलि र घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन्।

वडा सदस्यको निधन भएको शोकमा गाउँपालिका, शाखा र वडा कार्यालय तथा बेगका विद्यालय मंगलबार बन्द गरिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.