|
तस्वीर : रासस

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टीको आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा नेता राजेन्द्र लिङ्देनलाई जिताउन आग्रह गरेका छन्। 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा आवश्यक भएको बताए।

उनले पार्टीभित्र नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने आफ्नो भनाइ र विश्वास रहेको उल्लेख गर्दै राप्रपाको नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देनको पक्षमा उभिएको स्पष्ट पारे।

अध्यक्ष लोहनीले पार्टीका अन्य दुई अध्यक्ष कमल थापा र पशुपति शमशेर राणालाई पनि अभिभावकीय भूमिका निर्वाह गर्दै नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन आग्रह गरे।

उनले भने‚ ‘पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा आवश्यक छ भन्ने दृष्टिकोण सार्वजनिक रूपमा व्यक्त गरेको थिएँ। सोही धारणाअनुरूप राप्रपाको नयाँ नेतृत्वमा राप्रपाका पूर्वमहामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनको पक्षमा उभिएको छु।’

राप्रपामा आजको परिस्थितिमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्ने धारणा राख्दै अरू दुई अध्यक्षलाई पनि नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन आह्वान गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टीका अर्का अध्यक्ष कमल थापालाई समय बुझेर विश्राम लिन आग्रह गरे। उनले आफू पार्टी अध्यक्ष बन्दा कसैले अपमानित महसुस गर्नु नपर्ने पनि बताए।

नेता लिङ्देनले पार्टी भित्र र बाहिरका शुभेच्छुकहरू पनि नयाँ नेतृत्वको पक्षमा रहेको दाबी गरे।

उनले भने‚ ‘श्रद्धेय कमल थापा, समयको पदचाप र कार्यकर्ताको आवाजलाई बुझ्नुहोस्। तपाईं राप्रपा र राजनीतिबाट भाग्नोस् भन्ने होइन, म बन्नुमा तपाईंको पनि लगानी र मेहनत छ।’

उनले पार्टी भित्रको मात्रै नभई देशकै अपरिहार्य आवश्यकताले आफूले पार्टीको नेतृत्व लिन चाहेको स्पष्ट पारे। नेता लिङ्देनले देश र धर्म बचाउनका लागि राप्रपा बलियो बनाउनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.