|

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। 

दिउँसो एक बजे बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। यसअघि उनले हिजै विश्वासको मत लिने भनिए पनि विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव मात्रै पेश गरेका थिए।  

हिजो पेश गरिएको प्रस्तावमा आज मत विभाजन हुनेछ। हिजोको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि उनले आज विश्वासको मत लिन लागेका हुन्।  पार्टीको महाधिवेशनका कारण प्रदेशसभा बैठकमा एमाले सांसद उपस्थित हुन नसकेका हुन्। 

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको आज २९ औं दिनमा विश्वासको मत लिन लागेका हुन्।  कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता हस्तान्तरण गरेपछि गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। 

सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन्। प्रदेशसभामा कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ। हाल सत्तारुढ गठबन्धनसँग २३ मत छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.