समयमै उद्धार हुन सकेको भए कम क्षति हुन्थ्यो

|

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीबाट उत्तरी म्याग्दीको रघुगंगगा गाउँपालिका–१,बेगखोलाको सिम गाउँमा जाँदै गरेको ग१ज ७२ ५१ नम्बरको बोलेरो जिप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना भयो।

सोमबार दिउँसो करिब पौने ५ बजे अनियन्त्रित भई सडकबाट चालकसहित ८ जना सवार जिप सडकभन्दा करिब १ सय ५० मिटर तल खसेर घाईते भएका स्थानीय युवा ज्ञानबहादुर शेरबुजाले दुई बल्ड्याङ खाँदासम्म होसमा  भए पनि त्यसपछि बेहोस भएको बताए।

‘दुर्घटनास्थलमा समयमै सवारीसाधन पुगेन,एउटा एम्बुलेन्स बाटोमै फस्यो’ घाइते शेरबुर्जाले भने।

तत्कालै घाइतेको उद्धार हुन सकेको भए धेरै मानवीय क्षति हुने अवस्था नभएको बताए।‘उद्धारमा खटिएको टोली नै ढिलो पुग्यो,‘गाउँमा एम्बुलेन्स नहुँदा दुर्घटनामा गाउँले ज्यान गुमाउनुपर्‍यो’ उनले भने। उनले उद्धारमा खटिएकाहरूको सहयोगमा जसोतसो अस्पतालमा आएपछि मात्रै बाँचिन्छ भन्ने आश पलाएको बताए।

जिपभित्र घाइते यात्रुहरु चिच्याइरहेको अवस्थामा आकस्मिक उद्धारका लागि स्ट्रेचर लगायतको आवश्यक उपकरणको अभावका कारण समयमै उद्धार नभएको बताए।​

​सदरमुकाम बेनीबाट करिब १५ किलोमिटर नजिक भएको दुर्घटनामा घाइतको उद्धारकार्यमा ढिलाइ हुँदा मानवीय क्षति भएको छ। दुर्घटनापछि नेपाल प्रहरी, रेडक्रस सोसाइटी, स्थानीयबासीलाई बेनी अस्पतालसम्म ल्याउन ३ घण्टा भन्दा बढी लागेको थियो।

जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै र २ जनाको बेनी अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी वडा सदस्य गौमायाँ विक, सवारी चालक दुतबहादुर थापाले समयमै उद्धार नहुदाँ ज्यान गएको उद्धारमा खटिएको टोलीको भनाइ छ।

दुर्घटनामा गम्भीर घाइते ३ जनाको पोखराको मणिपाल अस्पताल र १ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ। ‘समयमै प्राथमिक उपचार नपाउदाँ समस्या भयो,‘घटनास्थलबाट सकेसम्म छिटो स्वास्थ्य संस्थामा ल्याउनुपर्छ’ उपचारमा खटिएका एक चिकित्सकले भने।

​जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले खवर आएलगत्तै प्रहरीको जनशक्ति पुग्ने गरे पनि आवश्यक दुर्घटनास्थलमा एम्बुलेन्ससहित अक्सिजनलगायत आपतकालीन उपकरणहरूको अभावले उपचारमा समस्या हुने गरेको बताए। साँघुरो बाटोमा रहेको घुम्तीका कारण दुर्घटना भएको बताए।

उनले साँझ र रातको समयमा उद्धारमा कठिनाइ हुने गरे पनि म्याग्दीमा उपकरणको अभावले थप समस्या हुने गरेको बताए। भौगोलिक रुपमा विकट म्याग्दीमा हुने सडक दुर्घटनाका घाइतेले समयमै उपचार नपाउँदा समस्या हुने गरेको छ। कच्ची सडकमा बर्षेनी दुर्घटना हुने भए पनि आपतकालीन उद्धारसहितका दस्ता तथा उपकरणको अभावले समस्या हुने गरेको उद्धारकार्यमा खटिएको टोलीको भनाइ छ।

गाउँपालिकाको राहत

बोलेरो जिप दुर्घटनामा ज्यान गुमाएकाको आफन्त र घाइतेहरुको उपचारमा गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। सवारी चालक र वडा सदस्यसहित दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ४ जना घाईते भएका छन्।

मृतक चारजनाकै घरपरिवारलाई आफ्नो परम्पराअनुसार काजकिरियाका लागि रु ५० हजारका दरले र घाईतेहरुको उपचारमा लाग्ने खर्चमध्ये जनही रु १ लाखसम्म गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। ग१ज ७२५१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा बेगका स्थानीय खिम पुन, खिमानन्द शर्मा, चालक दुतबहादुर थापा, र वडा सदस्य गौमायाँ विश्वकर्माको मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका ४ जनालाई बेनी अस्पतालबाट थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा रेफर गरिएको छ।

यसैबीच दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शोकमा मंगलबार गाउँपालिकाले गाउँपालिका, वडा कार्यालय, सेवा केन्द्र, र अत्यावश्यकबाहेकका स्वास्थ्य सेवाको कामकाज बन्द गर्‍यो। वडा नम्बर एकमा विद्यालयहरु समेत बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

मंगलबार गाउँपालिकामा एक कार्यक्रम गरि दुर्घटनामा परेर ज्यान गुमाएका वडा सदस्य सहित चार जनाको तस्बिरमा माल्यार्पण गरेर दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभासमेत गरिएको छ।

गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत सुवेदी, वडा नम्बर २ का अध्यक्ष रिम कटुवाल, ३ का अध्यक्ष जीवन मल्ल, ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, ८ का अध्यक्ष गमान छन्त्याल लगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीले समेत ज्यान गुमाएकाहरुको तस्बिरमा फूलमाला लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.