लिङ्देनलाई लोहनीको साथ, जबरा पनि उतै नजिक

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सुरु भएको छ। राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि भएको पार्टी एकतापछि पहिलोपटक काठमाडौंको भृकुटीमण्डपमा एकता महाधिवेशन गर्न लागेको हो।

महाधिवेशन तीन दिनसम्म चल्ने महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले बताए। महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललगायत शीर्ष राजनीतिक दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यतालिका छ। 

फरक राजनीतिक विचार बोकेको पार्टी राप्रपा एकताको महाधिवेशनमा केन्द्रित बनेको हो। महाधिवेशनमा पुरानो र नयाँ पुस्ता भिडन्तमा छन्।  राप्रपाका अध्यक्ष कमल थापाले अध्यक्षमा आफूलाई दोहोर्‍याउने भएका छन् भने  उनलाई राजेन्द्र लिङ्देनले चुनौती दिन लागेका छन्। 

पटक–पटक विभाजन र एकता गर्दै आएका उनीहरूको दलले यसपटकको महाधिवेशनलाई एकताको महाधिवेशन भनेको छ। राप्रपा एकीकरणपछि तीन अध्यक्ष रहेका थिए। यो महाधिवेशनले एक अध्यक्ष चयन गर्नेछ। तीन वर्ष अध्यक्ष भएर पार्टीको नेतृत्व गरेका थापा र राप्रपाको नेतृत्व अब नयाँ पुस्ताले गर्नुपर्ने भन्दै लिङ्देन पक्ष चुनावी मैदानमा उत्रिएका छन्। 

दुई अध्यक्षबीच टक्कर भएपछि वरिष्ठ नेताहरू पनि दुई खेमामा खुलेरै लागेका छन्। थापालाई लोकेन्द्रबहादुर चन्द, दीपक बोहरा लगायतको साथ छ भने लिङ्देनलाई डाक्टर प्रकाशचन्द्र लोहनी, धवल शम्शेर राणालगायतको साथ छ।  तीनपटक अध्यक्ष भएका कमल थापालाई पुराना पुस्ताको साथ रहँदा लिङ्देन युवा पुस्तामा लोकप्रिय छन्। 

तर, अर्का अध्यक्ष पशुपति शमशेर राणा कतै खुलेका छैनन्। स्रोतको अनुसार उनीनिकट नेताहरू युवा पुस्तालाई अघि सार्नुपर्ने भन्दै अधिकांश लिङ्देनको पक्षमा उभिएकाले जबराको समर्थन पनि त्यतै रहेको बताइएको छ। 

महाधिवेशनबाट पदाधिकारीमा अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री चयन गर्ने गरी विधान संशोधन गर्न लागिएको छ । राप्रपाको एकता महाधिवेशनले पहिलोपटक निर्वाचनबाट पदाधिकारी चयन गर्न लागेको प्रचार विभाग संयोजक श्रेष्ठले बताए। 

महाधिवेशनमा ४ हजार ५ सय ६० प्रतिनिधिको सहभागिता हुनेछन्। संघीयता खारेजी, हिन्दु राज्य र राजतन्त्रको पक्षमा उभिँदै  राप्रपाका दुई अध्यक्ष यही एजेण्डा बोकेर अधिवेशनमा होमिएको छ। 
यता, महाधिवेशन प्रतिनिधिको विषयमा राप्रपाभित्र विवाद भएको छ। संस्थापन पक्षले जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिको सूचीमा हेरफेर गरेको भन्दै लिङ्देन पक्षले विरोध जनाएको छ। मंगलबार राति संस्थापन पक्षले प्रतिनिधि हेरफेर गरेको भन्दै लिङ्देन समूहले पार्टी कार्यालय घेराउसमेत गरेको थियो। 

अध्यक्ष थापा र महामन्त्री लिङ्देन दुवैले आफ्नो जित सुनिश्चित भएको दाबी प्रस्तुत गरिरहेका छन्। टुटफुटबाट आएको राप्रपा २०६२/०६३ को आन्दोलनपछि पशुपति शमशेर नेतृत्वको राप्रपा र सूर्यबहादुर थापा नेतृत्वको राजपाले गणतन्त्र र धर्मनिरपेक्षता जस्ता विषय स्वीकार गरेका थिए।

तर, कमल थापा नेतृत्वको राप्रपा नेपालले संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको मुद्दा अघि सार्दै २०६४ को संविधानसभाको निर्वाचनमा सहभागी भयो। निर्वाचनमा तीन पार्टीको जम्मा १७ सिट भयो। फेरि शक्तिशाली बन्‍ने भन्दै फुटेका राप्रपा मिल्ने तयारी भयो।

तीनवटै राप्रपाबीच एकताका प्रयास भए। तर, त्यसले सार्थक रूप लिन पाएन। त्यसपछि विचार मिल्नेको एकता भन्दै राप्रपासँग मिलेर राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी निर्माण भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.