‘जनतामा पार्टीप्रति आशा र भरोसा बढेको छ’

|

काठमाडौं : नेकपा एमालेका नेताहरूले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन्। 

नेकपा एमालेका नवनिर्वाचित सचिवद्वय योगेशकुमार भट्टराई, पदमा अर्याल र केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनले मुलुकको समस्या समाधान गर्नका लागि मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका हुन्। 

मंगलबार राति चितवनको सौराहामा नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित सचिव भट्टराईले भने, ‘मुलुकमा विद्यमान राष्ट्रिय मुद्दालाई राष्ट्र र जनताको हितमा समाधान गर्नेगरी आफ्नो पार्टीले मुलुकमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने सन्देश दिएको छ। नेकपा एमालेप्रति जनताको अभूतपूर्व आशा, भरोसा र समर्थन बढेको छ।’

महाधिवेशनको सन्देश नेपाली जनताको बीचमा नेकपा एमाले लोकप्रिय बनेको उनको भनाइ छ। राष्ट्रिय राजनीतिको मुलुकलाई सही दिशामा नेतृत्व गर्न सक्ने राजनीतिक दल भएकाले छिटोभन्दा छिटो एमालेको नेतृत्वमा नयाँ म्यान्डेट प्राप्त गर्दै नयाँ सरकार निर्माण गर्नुपर्ने बताए। 

यस्तै, एमालेकै सचिव पद्‍मा अर्यालले नेपाली जनताका सपनालाई विपनामा परिणत गर्ने शक्ति आफ्नो पार्टी मात्रै भएको सन्देश महाधिवेशनले दिएको बताइन्। नयाँ संकल्प र पार्टीभित्रको नयाँ एकताका साथ अघि बढ्नुपर्ने सन्देश पनि महाधिवेशनले प्रवाह गरेको दाबी गरिन्। 

सचिव अर्यालले भनिन्, ‘नेकपा एमाले राष्ट्र र जनताप्रति समर्पित हुँदै नयाँ संकल्पका साथ, नयाँ एकताका साथ जति पनि समस्याहरू छन्। नेपाली जनताको जति पनि सपनाहरू छन्। ती सपनालाई विपनामा परिणत गर्नका लागि आजको दिनदेखि उद्घोष गर्‍यो भन्ने सन्देश जनतामा पुग्ने गरी सन्देश प्रवाह गर्न यो महाधिवेशन सक्षम भएको छ।’

नवनिर्वाचित केन्द्रीय सदस्य महेश बस्नेतले पनि यो महाधिवेशनले मुलुकको नेतृत्व लिने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको सन्देश दिएको बताएका छन्। केपी ओलीले अघि सार्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई अघि बढाउने जिम्मेवारीसमेत एमालेको रहेको म्यान्डेट महाधिवेशनबाट प्राप्त भएको दाबी गरे। 

मुलुकको नेतृत्व गर्न केपी ओली सक्षम भएको र त्यसैलाई अनुमोदन गर्न महाधिवेशनको उद्घाटन सत्रमा लाखौं जनता सहभागी भएको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.