|

पर्वत : कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको छ।

कोरोना संक्रमणको दोस्रो लहरपछि जनजीविका सामान्य बन्दै बनेपछि मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढ्दै गइरहेकाले थियो। तर‚ ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।

उनका अनुसार बुधवार राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी विशेष गरी पर्यटकहरूका लागि सात दिनभित्रको पिसिआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ। तर‚ मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।

‘मंसिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागु हुने गरी मुस्ताङ प्रवेशमा विशेष गरी घुम्न आउनेहरूको लागि कडाइ गर्न लागिएको छ। त्यसबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापहरूमा पनि कडाइ गर्दै आदेश जारी भएको छ‚’ प्रजिअ शर्माले भने, ‘नेपाल भित्रिएका बाह्य पर्यटक तथा आन्तरिक पर्यटकहरु एक पटक मुस्ताङ पुगेर आउने सोच राखेका हुन्छन्। अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिँदै गएको बेलामा पर्यटकहरूको माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो।’

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार लगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न आदेश दिएको छ। यस्तै‚ विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायतका अनिवार्य कार्य गर्नु परे बढीमा २५ जनाभन्दा भेला हुन नपाउने भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.