|

बैतडी : वाईवाई उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जित दर्ता गरेको छ। आज सम्पन्न खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ६ विकेटले हराउदैं तेस्रो जित दर्ता गरेको हो।

यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ र कर्णालीलाई १० विकेटले पराजित गरेको थियो। तेस्रो जित निकालेको सुदूरपश्चिम ६ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ। आठ अंकका साथ पहिलो स्थानमा लुम्बिनी प्रदेश रहेको छ।

आज प्रदेश १ ले दिएको ९१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा ३१ ओभरमा पूरा गर्‍यो। सुदूरपश्चिमका लागि अर्जुन साउद र वसन्त कार्कीले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाएका हुन्।

२३ रनमा ४ विकेट गुमाएर धर्मराएको सुदूरको पारी सम्हाल्दै अर्जुन र वसन्तले पाँचौं विकेटका लागि ७१ रनको साझेदारी गर्दै जित हासिल गरे। जसमा वसन्तले ३७ र अर्जुनले ३२ रन जोडे।

प्रदेश १ का अभिनय राजवंशीले दुई र श्रवण किस्कु र अंकित सुवेदीले समान १÷१ विकेट हात पारे।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको प्रदेश १ २४ ओभरमा मात्रै ९० रनमा सीमित भयो। उसका अंकित सुवेदी एक्लैले ६१ रनको पारी खेले पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन समेत जोड्न सकेनन्।

सुदूरपश्चिमका शेर मल्लले ४, नरेन्द्र साउदले ३ र कैलास ऐरीले २ विकेट हात पारे।  शेर मल्ल खेलका म्यान अफ द म्याच चुनिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.