|

काठमाडौं : काठमाडौंमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले फाइनल सम्‍भावना कायम राखेको छ। पछिल्ला तीन खलमा लगातार जित निकालेसँगै अन्तिम दुईको सम्‍भावना कायम रहेको हो।

बुधबार मूलपानी मैदानमा भएको प्रतियोगिताको १८औँ खेलमा सुदूरपश्चिमले प्रदेश एकलाई ६ विकेटले पराजित गर्‍यो।

प्रदेश एकले दिएको ९० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ११४ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गर्दै कर्णालीबाहेक बाँकी सबै टिमको फाइनल सम्‍भावनासमेत खोल्न सुदूरपश्चिम सफल भयो।

टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले अंकित सुवेदीको ६१ रनको शानदार अर्धशतकीय इनिङका बाबजुत ९० रन मात्रै बनायो। सुवेदीबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। सुदूरपश्चिमका लागि शेर मल्लले ४ तथा नरेन्द्र साउदले ३ विकेट लिँदा कैला एरीको नाममा २ विकेट रह्यो।

९० रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमको सुरुवात खराब भए पनि पछिल्लो क्रम सम्हालिँदा ३१ ओभरमै लक्ष्य पूरा गर्दै ६ विकेटको जित निकाल्यो। उसका लागि वसन्त कार्की र अर्जुन साउदले पाँचौँ विकेटका लागि ७१ रनको अविजित साझेदारी गरे।

त्यसअघि सुदूरपश्चिमले २३ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो। कार्की ३७ रनमा नटआउट रहँदा साउद ३२ रनमा अविजित रहे। थप दोहोरो स्कोरका रूपमा दीपक टमाटाको १० रन रह्यो।  प्रदेश एकका लागि अभिनय राजवंशीले २ विकेट तथा श्रवन किस्कु र अंकित सुवेदीले थप १-१ विकेट लिए।

यसअघि सुदूरपश्चिमले सुरूवाती दुई खेलमा लगातार हार व्‍यहोर्दा त्ससपछिका लगातार तीन खेलमा जित निकाल्न सफल भयो। सुदूरपश्चिमको पाँच खेलमा ६ अंक भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.