|

मेरा सपनाहरू पूरा नहुँदा मलाई ज्यादै ननिको लाग्छ, निराशा जाग्छ। टेक्ने जमिन भासिएजस्तो, समाउने हाँगो भाँचिएजस्तो लाग्छ।  

पाठकहरू, तपाईंहरूलाई पनि त्यस्तै त्यस्तै त हुँदो हो नि, होइन? 

हो, मेरा केही थान सपना पूरा नहुनुमा मुख्यत: मेरै दोष हुन सक्ला। मैले ती सपनाहरू पुरा गर्न आवश्यक परिश्रम नगरेर सपना देख्‍नमा मात्रै व्यस्त भएँ कि? अर्थाभावका कारण मलजल गरेर हुर्काउन नसकेकाले मेरा सपनाहरू टाक्सिए कि? 

यसैगरी, तपाईंहरूका पनि बग्रेल्ती सपनाहरू पूरा नभएका होलान्। तपाईंहरूका आफ्ना बाध्यताहरू तगारो बनेर बाटोमा तेर्सिए कि? काबुबाहिरको परिस्थितिका कारण ती सपनाहरू शहीद पो भए कि? यस्तै यस्तै कारणहरूले तपाईंहरूका कतिपय सपनाहरू मास छर्न गए होलान् भनूँ।   

हरेक दिन हाम्रा सपनाहरू इँटाभट्टामा भन्दा पनि तातो अरबका मरुभूमिहरूमा खरानी हुन्छन् र काठका बाकसमा फर्किन्छन्। त्यति मात्र कहाँ हो र? संसारभरका सबैभन्दा फोहोर, कठिन र जोखिमयुक्त काम गर्दागर्दै एकदिन प्रशस्त कमाएर घर फर्किने र अलि सुखपूर्ण जीवन जिउने युवा सपनाहरू हरेक दिन खरानी हुन्छन् विभिन्न मुलुकहरूमा।

जति नै दु:ख लागे पनि तपाईं-हाम्रा केही थान सपनाहरू अधुरै रहँदैमा राष्ट्रिय संकट आइहाल्दैन। तर, पुस्ता दर-पुस्ताका सपनाहरू नेपाली सपनाहरू भनूँ भकाभक मर्दै गए भने त्यो चाहिँ गम्‍भीर राष्ट्रिय संकटको द्योतक हो।

कम्तीमा पनि विक्रम संवत् २००७ देखि पुस्ता दर-पुस्ताका नेपालीहरूले देखेको/भोगेको/पढेको/सुनेको आधारमा भन्न सकिन्छ, हामी नेपाली सपनाहरूको असामयिक मृत्युवरणको मूक साक्षीका रूपमा जसोतसो उभिएका छौँ, राष्ट्रिय संकटको लामो शृंखलासँग सकी-नसकी लडिरहेका छौँ। 

हुन त देशविशेषका सपनाहरू स्पष्टत: परिभाषित विरलै हुन्छन्। छोटेबडे नेताहरूका सपनाहरू निर्वाचनपिच्छे बदलिइरहन्छन्, स्वप्नद्रष्टाहरू हामीले पाएकै छैनौँ भन्न कन्जुस्याइँ गर्नुपर्ने कुनै कारण देख्दिनँ। दल विशेषमा लागेकाहरूको यसमा विमति होला तर कटू सत्य के हो भने हामीले कम्तीमा पनि ५० वर्षअघि सोच्ने राजनीतिकर्मी पाएको भए यो देश नियन्त्रित अस्थिरताको चक्रब्यूहबाट मुक्त भइसक्थ्यो।  

भारतमा 'मुंगेरी लालके हसिन सपने'  व्यंग्यार्थमा बढी प्रयोग हुने भएकोले त्यसको चर्चा सान्दर्भिक नहोला। दी अमेरिकन ड्रिम अर्थात् अमेरिकी सपनालाई अपवाद मानूँ। यसो किनभने अमेरिकी नागरिकहरू मात्रै होइन, विभिन्न देशका खास गरी युवा, अधबैँसे र ज्येष्ठ नागरिकहरू समेत अमेरिकी सपनासँग जोडिन चाहन्छन्।

विश्वास लागेन भने अमेरिकी भिसा पाउने आशामा बर्सेनि डिभी लट्री फर्म भर्ने लाखौँ नेपालीहरूलाई हेर्नुस्, वैध-अवैध रूपमा अमेरिकामा बसिरहेका नेपालीहरूलाई हेर्नुस्। 

त्यसो भए के हो त यो अमेरिकी सपना भनेको? मेरियम-वेब्स्टर शब्दकोषले यसलाई सुखी जीवनको एउटा बाटो भनेको छ। शब्दकोषका अनुसार धेरै अमेरिकीहरू संयुक्त राज्य अमेरिकामा जो कोहीले पनि विशेष गरी कडा परिश्रम गरेर र सफलता प्राप्त गरेर अमेरिकी सपना पूरा गर्न सक्छ भन्ने सोच्दछन्।

अमेरिकन हेरिटेज पत्रिकाको अप्रिल/मे, १९८१ को भल्युम ३२ को तेस्रो अंकमा प्रकाशित 'दी अमेरिकन ड्रिम' शीर्षकको लेखमा एन्थोनी ब्रान्ट लेख्छन्: इतिहासकार जेम्स ट्रस्लो एडम्सले सन् १९३१ मा 'अमेरिकी सपना'को 'आविष्कार' गरे। सोही वर्ष प्रकाशित उनको पुस्तक- दी एपिक अभ अमेरिकाको मूल मर्म नै 'अमेरिकी सपना' थियो, ब्रान्ट लेख्छन्: प्रकाशकहरूले अनुमति दिएको भए एडम्सले पुस्तकको नाम नै 'दी अमेरिकन ड्रिम' राख्ने थिए।

एडम्सले समयक्रममा अमेरिकी सपनालाई परिभाषित र पुनर्परिभाषित गरेको ब्रान्टले उल्लेख गरेका छन्। 

हाम्रा संयुक्त राज्य अमेरिकाका प्रत्येक तप्काका नागरिकको पहिलेभन्दा राम्रो, पहिलेभन्दा बढी समृद्ध र बढी सुखी जीवन नै अमेरिकी सपना हो भन्ने मान्यता राखेका एडम्सले आफ्नो व्याख्यालाई फराकिलो पार्दै लगे।

अमेरिकी सपनालाई 'परिमार्जन' गर्दै उनले लेखे: यो पहिलेको भन्दा राम्रो र बढी स्वतन्त्र जीवनको आशा हो, त्यस्तो जीवनको आशा हो जहाँ मानिस आफूले चाहेजस्तो सोच्न सक्छ र इच्छाएको प्रगति गर्न सक्छ।

अमेरिकी सपनाको उनको पुन: परिमार्जित परिभाषा यस्तो छ: उत्थान र विकासको एउटा नयाँ गतिशील सपना, एउटा यस्तो जीवन निर्माण गर्ने सपना जसमा मानिसहरू सफल होऊन्, त्यति मात्रै होइन मानिसहरूकै रूपमा उनीहरू सुपरिचित होऊन्, आर्थिक समृद्धि हासिल गर्ने मात्र होइन, सामाजिक प्रतिष्ठा  र स्वाभिमानयुक्त जीवन बाँच्न सकून्। 

अमेरिकी राष्ट्रपति  जिमी कार्टर, रिचर्ड निक्सनलगायतले विभिन्न मञ्‍चहरूमा अमेरिकी सपनाको जपना गर्दागर्दै पनि यस अवधारणाको पनि कालक्रममा व्याख्यान्तर हुँदै गएको छ, यसो हुनु अस्वाभाविक पनि होइन।

प्रजेक्ट सिन्डिकेटको १४, अगष्ट २०१९ अंकमा प्रकाशित 'दी अमेरिकन ड्रिम २.०' शीर्षकको लेखमा एलेक्स फ्रिडमन लेख्छन्: अमेरिकी सपनाले समानतामा आधारित, व्यापक आर्थिक वृद्धि र योग्यतातन्त्रका सिद्धान्तहरू समेटेको थियो र यसले संयुक्त राज्य अमेरिकालाई विश्वको प्रमुख अर्थतन्त्रको रूपमा स्थापित गरायो।

तर, हालका दशकहरूमा यो सपना अस्तित्वमा छैन र धेरैभन्दा धेरै कामदारहरू पछि परेका छन् सम्भवत: यो सबै राम्रैका लागि भइरहेको छ।

फ्रिडमनको दलील छ- अमेरिकी सपनाको मृत्यु भएको स्वीकार्ने यो उपयुक्त समय हो। यसका अन्तर्निहित शर्तहरू, सबल, निरन्तर आर्थिक वृद्धि र धनाढ्यहरूलाई प्रणाली दाउमा राख्न नदिने उद्देश्यले निर्मित योग्यतातन्त्र अब प्रयुक्त हुँदैनन्। तर, अमेरिकी सपना २.० अझै पनि सम्भव छ, यो सपना साकार पार्ने योजना प्रस्तुत गर्नु राष्ट्रपति पदका उम्मेदवारहरूको दायित्व हुनेछ। 

अमेरिकी सपना २.० का कुरा भइरहेका बेला हामीचाहिँ राजनीतिक परिवर्तन, त्यसपछि सत्तामा आउने नयाँ-पुराना शासकहरूको भ्रष्टीकरण पुन:भ्रष्टीकरण, अशान्ति, अस्थिरता र पुन: परिवर्तनको अन्त्यहीन दुष्चक्रमा जसोतसो बाँचिरहेका छौँ।

शासकहरूलाई नेपाली सपनाको व्याख्या गर्न र ती सपना साकार पार्न समय नभए पनि सत्ताका लागि, शक्तिका लागि अनेक षडयन्त्र गर्न, युगौँयुगसम्म देश र जनताको भविष्य अन्धकारमय हुने किसिमका सन्धि-सम्झौता गर्न अनि अधिकारको दुरूपयोग गर्दै पुस्तौँपुस्तासम्मका लागि कमाइको जोहो गर्न पर्याप्त समय छ।

विक्रम संवत् २००७ देखि नेपालमा हरेक दशकमा ठूलै राजनीतिक उथलपुथल हुने गरेको इतिहास छ। नानाथरी नेताहरूले गरेको भ्रष्टाचार, प्रदर्शन गरेको चरम अराजकता, नालायकी मात्रै होइन, भू-रणनीतिक अवस्थिति र विभिन्न शक्तिराष्ट्रहरूका परस्पर विरोधी चासोहरूका कारण नेपाल राजनीतिक परिवर्तन, नेतृत्वको भ्रष्टीकरण र पुन: परिवर्तनको अन्त्यहीन दुष्चक्रमा फसेको छ।  

आफ्नै गाउँ-शहर, टोल, छिमेक, आफ्नै देशमा दु:खजिलो गरी आफ्नो र परिवारको पालनपोषण गर्ने, जिउ ज्यान हत्केलामै राखेर भए पनि राष्ट्रिय सार्वभौमिकताको रक्षा गरी भावी पुस्तालाई सग्लो, बस्न योग्य देश सुम्पने, यस्तै त हुन् हाम्रा राष्ट्रिय सपना। आहालको जस्तो स्थिरता खोजेको होइन हामीले, ब्रेक फेल भएर अनियन्त्रित गतिमा खचाखच भरिएका यात्रुहरूसहित भीरतिर कुदिरहेको कुनै बसको जस्तो गतिशीलता पनि खोजेको होइन।

हामीले खोजेको त राष्ट्रिय समृद्धिको सुस्पष्ट लक्ष्यहरूसहितको गतिशील स्थिरता न हो। विडम्बना के भने पुस्तौँ पुस्ताले राजनीतिक परिवर्तनका लागि रगत, पसिना, आँसु बगाए, ज्यान अर्पे, कतिले सर्वस्व गुमाए तर हामी झनझन् कमजोर हुँदै गयौँ, विदेशीहरू यस देशमा झनझन् बलिया हुँदै गए, उनीहरूकै एजेन्डामा देश चल्न थाल्यो।  

हरेक दिन हाम्रा सपनाहरू इँटाभट्टामा भन्दा पनि तातो अरबका मरुभूमिहरूमा खरानी हुन्छन् र काठका बाकसमा फर्किन्छन्। त्यति मात्र कहाँ हो र? संसारभरका सबैभन्दा फोहोर, कठिन र जोखिमयुक्त काम गर्दागर्दै एकदिन प्रशस्त कमाएर घर फर्किने र अलि सुखपूर्ण जीवन जिउने युवा सपनाहरू हरेक दिन खरानी हुन्छन् विभिन्न मुलुकहरूमा।

हरेक दिन शोकसन्तप्त परिवारको रुवावासी चल्छ अचेल गाउँमा, विदेश जानका लागि ऋण लिन धितो राखेको गैरी खेतमा साहुको शासन चल्छ।

हाम्रा सपनाहरू यसरी खरानी हुँदा पनि यस देशका शासकहरूलाई छुँदैन। हामीले तिरेको कर धुवाँमा उदाउँदै, साइरन बजाउँदै, हामीलाई कुल्चँदै ती दिनरात केके न हतार भएजस्तो गरी दौडिरहन्छन्। नानाथरी भत्ता, सरकारी आवासलगायत सुविधा, निवृत्तिभरण तिनलाई नै चाहिन्छ, यद्यपि ती कामका नाममा सिन्कोसमेत भाँच्दैनन्।

स्पष्ट छ, अब  बेच्न बाँकी समृद्धिका सपनाहरू छैनन्। जति नै उद्भट हास्यव्यंग्य शिरोमणिले पनि सारंगीजस्तो खोक्रो पेटका धनी नेपालीहरूलाई सधैँभरि हसाइरहन नसक्लान्। अब रेलिङ भाँच्न, टायर जलाउन, चक्काजाम गर्न, नेपाल बन्द गर्न कुनै बहाना बाँकी छैनन्। 

अहिले उनीहरू नानाथरी झण्डासहित अधिवेशनमा जुटेका छन्। चितवनमा गैँडा महोत्सव चलिरहेको छ, सक्कली गैँडाहरू अचम्म मान्दै उक्त महोत्सव चाखपूर्वक हेरिरहेका होलान्। दासढुंगामा यो देश कहिल्यै कुनै विदेशी शक्तिको दासको रूपमा रहेन तर ढुंगोचाहिँ कसरी अनि कसको दास हुन पुगेछ?  

दशकौँअघि बगेका आँसु ओभाइसकेका छन्, महाकाली, अरुण, राप्ती, कर्णालीलगायत नदी किनारहरूमा समृद्धिको सूर्य अस्ताएको दशकौँ बितिसक्यो। छेवैमा रहेको सुस्ता छातीमा दु:खको पहाड बोकेर, गहभरि आँसु बोकेर महोत्सव नियालिरहेको छ।  

गोदान गर्न बाँकी रणनीतिक महत्वका केही पहाडहरू छन्, डोजराध्यक्षलगायत आधुनिक इन्द्रहरूले गरेको मानमर्दनका कारण गर्भमा ज्वालामुखी बोकेका भए पनि प्रकटमा ती पहाडहरू मौन छन्। 

ती पहाडहरूमा राष्ट्रिय अन्तर्राष्ट्रिय माउन्टेन माफियाहरूको निवृत्तिभरण क्याम्पवालाहरू, रिसोर्टवालाहरू, धार्मिक आध्यात्मिक आस्थाका व्यापारी आदिहरूको आँखा लागेको कसैबाट छिपेको छैन।

देशको अन्नभण्डार छिमेकीको कृपाले जलभण्डार भइसकेको अवस्था छ, त्यस भण्डारमा नेपालका खोला र नदीहरूको पानी मात्र होइन, तराई, पहाड र हिमालका नेपालीहरूको आँसुको मात्रा पनि कम छैन। 

देश झनझन् हरितन्नम हुँदै गएको बेला, महँगीले सगरमाथा छुन लागेको बेला कुनै बेलाको 'सर्वहाराको दल' भने करोडौँ खर्च गरेर यस्तो भव्य मेला आयोजना गर्ने अवस्थामा पुगिसकेको छ।

स्पष्ट छ, अब  बेच्न बाँकी समृद्धिका सपनाहरू छैनन्। जति नै उद्भट हास्यव्यंग्य शिरोमणिले पनि सारंगीजस्तो खोक्रो पेटका धनी नेपालीहरूलाई सधैँभरि हसाइरहन नसक्लान्। अब रेलिङ भाँच्न, टायर जलाउन, चक्काजाम गर्न, नेपाल बन्द गर्न कुनै बहाना बाँकी छैनन्। 

यस्तो अवस्थामा पनि हामी नेपाली चुप छौँ, सहेर बसेका छौँ। यो मुर्दाशान्ति कतै खतराको संकेत त होइन?   

प्रसिद्ध क्रान्तिकारी कवि अवतार सिंह पाशको मेहनतकी लूट कविताका केही अंश उधारो लिऊँ : 

मेहनत की लूट सबसे ख़तरनाक नहीं होती

पुलिस की मार सबसे ख़तरनाक नहीं होती

ग़द्दारी और लोभ की मुट्ठी सबसे ख़तरनाक नहीं होती

बैठे-बिठाए पकड़े जाना बुरा तो है

सहमी-सी चुप में जकड़े जाना बुरा तो है

सबसे ख़तरनाक नहीं होता

कपट के शोर में सही होते हुए भी दब जाना बुरा तो है

जुगनुओं की लौ में पढ़ना

मुट्ठियां भींचकर बस वक्‍़त निकाल लेना बुरा तो है

सबसे ख़तरनाक नहीं होता

सबसे ख़तरनाक होता है मुर्दा शांति से भर जाना

तड़प का न होना

सब कुछ सहन कर जाना

घर से निकलना काम पर

और काम से लौटकर घर आना

सबसे ख़तरनाक होता है

हमारे सपनों का मर जाना

हो, मुर्दा शान्ति व्याप्त हुनु, दु:ख-पीडा अनुभव नहुनु, चुपचाप सबै सहनु, हाम्रा सपनाहरूको मृत्यु हुनु सबैभन्दा खतरनाक हुन्छ। नवगणतन्त्रका पुरानै शासकहरूले बेलैमा यो कुरा बुझून् र आफूहरूलाई सुधारून्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.