|

धनकुटा : अघिल्लो सरकारले अस्पताल शिलान्यास गरेको एक वर्ष पुगे पनि काम अघि बढ्न सकेको छैन।

केपी ओलीको सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले एकैसाथ अस्पतालको शिलान्यास गरेको थियो।

ती अस्पताल संघीय सरकार र स्थानीय सरकारले बनाउने गरी एक वर्षअघि प्रदेश १ मा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पतालको एकसाथ शिलान्यास गरिएको थियो।

प्रदेश १ को झापामा १२, पाँचथर, इलाम, संखुवासभा र ओखलढुंगामा ७/७, भोजपुर र खोटाङमा ६/६, तेह्रथुम, सोलखुम्बु र सुनसरीमा ५/५, धनकुटामा ४ र मोरङमा १० ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो।

आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिए पनि अधिकांश अस्पताल निर्माण अलपत्र अवस्थामा परेका छन्। सरकारले १ देखि १५ शय्यासम्मको आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरेको थियो।

संघीय सरकारले नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा दिने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरे पनि निर्माणमा ढिलाइ हुँदा दुर्गम भेगका बासिन्दा सरकारले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चित छन्।

आधारभूत स्वास्थ्य अधिकार सम्बोधन हुने गरी सरकारले अस्पतालको शिलान्यास गरे पनि आधारभूत स्वास्थ्य अस्पताल निर्माणले भने गति लिन सकेको छैन.

अस्पताल शिलान्यासपछि धनकुटाको छथर जोरपाटीका स्थानीय रामबहादुर थापाले अस्पताल शिलान्यास भए पनि काम नभएको गुनासो गरे।

उनले ठेक्का लागेको भन्ने सुने पनि काम सुरु नभएको गुनासो गरे। जग्गाको व्यवस्था भइसकेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए। उनले ठेक्का आह्वान गरेर स्वीकृत भई करिब साढे ४ करोडको हाराहारीमा निर्माण सुरु भएको बताए।

शिलान्यास भए पनि स्थानीय तहले केही प्रतिशत, प्रदेश सरकारले केही प्रतिशत र बाँकी संघीय सरकारले बजेट छुट्याउनुपर्ने भएकाले काम हुन केही ढिलाइ भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले बताए।

उनले हरेक स्थानीय तहले ५ शय्याको कोभिड अस्पताल सञ्चालन गरिरहेको र त्यसैलाई स्तरोन्नत्ति गरेर १५ शय्याको बनाउने बताए।

बोलीमा मात्रै सीमित

एमाले अध्यक्ष केपी शर्मा ओलीले गत कात्तिकमा आफ्नो पालामा सरकारले गरेका कामले गिनिज बुक आधा भरिने दाबी गरेका थिए।

उनले भनेका थिए, ‘हामीले देशभर एकैचोटि ३९६ अस्पतालको शिलान्यास गरेका छौं। विश्व रेकर्ड हो यो। गिनिज बुकमा यस्ता त कति लेखे हुन्छ हुन्छ, हामीले त दाबी नगरेर मात्र हो। गिनिज बुक आधा त हामीले गरेका कामले भरिन्छ।’

केही पालिकामा भने बल्ल टेन्डर प्रक्रिया सुरु भएको छ। शिलान्यास गरिएका अधिकांश ठाउँ घाँसले पुरिएका छन्। कतिपय स्थानीय तहले संघीय सरकारबाट बजेट नआएकाले प्रक्रिया नबढेको दाबी गरेका छन् भने केहीले ठावै छान्न सकेका छैनन्।

प्रदेश १ मा प्रदेशस्तरीय सरुवा रोग अस्पताल र १४ जिल्लामा ८६ आधारभूत अस्पतालको एकैपटक शिलान्यास गरिएकामा एउटा अस्पतालको पनि जग निर्माण हुन सकेको छैन। केहीमा टेन्डर प्रक्रिया सकिएको छ भने केहीमा टेन्डर सुरु भएको छैन।

जग्गा विवाद, कतै जनप्रतिनिधिबीचको स्वार्थको लडाइँ

कतै जग्गा विवाद, कतै जनप्रतिनिधिबीचको स्वार्थको लडाइँ त कतै आफ्नो मान्छेलाई टेन्डर पार्ने प्रतिस्पर्धाले अस्पताल निर्माण चुनौतीपूर्ण बनेको जनप्रतिनिधिको भनाइ छ।

झापाको मेचीनगर–१० धुलाबारीको पशु हाटमा शिलान्यास गरिए पनि पछि निर्माणस्थल परिवर्तन भयो। जमिन अपुग हुने भएकाले लालपानीमा योजना सारिएको नगर कार्यपालिका सदस्य कृष्ण कनालले जनाए।

धेरै पालिकामा निर्माण सम्झौता भए पनि खाल्डो खन्ने कामसमेत भएको छैन। कनकाई र गौरादह नगरपालिकामा जमिन अभावले निर्माण अघि बढेको छैन।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.