|

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले प्रदेश १ कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा राईले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा  गरेका हुन्। १४औँ अधिवेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय महाधिवेशनमा चयन भएका राई डा. शेखर कोइराला निकटका हुन्।

उनको निर्वाचन क्षेत्रमा वामपन्थीहरूको बलियो पकड भए पनि करिब तीन दशकको अन्तरालमा आफूले सांसद पदमा विजय हासिल गर्दा सो क्षेत्रका लोकतान्त्रिक बिचारका साथै काँग्रेसप्रति आस्था भएका स्थानीयवासीमा खुसी छाएको उनले दाबी गरे।

‘मैले जितेको निर्वाचन क्षेत्रमा वामपन्थीहरूको अत्यन्तै बलियो पकड थियो,’उनले भने,‘करिब तीन दशकमा पहिलोपटक नेपाली कांग्रेसको तर्फबाट मैले निर्वाचन जित्दै गर्दा म होइन, त्यस क्षेत्रमा संगठन गरिरहनुभएका र दशकौँदेखि वामपन्थीको कडा प्रहार खेप्न बाध्य लोकतान्त्रिक विचारसँग निकट र कांग्रेसका स्थानीय नेताहरु बढी खुशी र आनन्दित हुनुहुन्थ्यो।’

उनले थपे,‘म सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा म तिनै अनुहार र हनोहार योद्धाहरुलाई स–सम्मान स्मरण गरिरहेको छु।’  उनले आफ्नो उम्मेदवारी योद्धाहरूको सम्मान र वामपन्थी उग्रताको बहिर्गमनको लागि रहेको प्रष्ट पारे।

पार्टीमा आफूले खेलको भूमिका र पुर्‍याएको योगदानप्रति सदैव सकारात्मक र संस्थागत रहेको बताउँदै उनले पार्टीमा सैद्धान्तिक, वैचारिक रूपान्तरण मार्फत लोकतन्त्रको जग बलियो बनाई समृद्ध नेपाल निर्माण गर्नुपर्ने अभिभारा नयाँ पुस्तामा आइपरेको बताए।

‘कार्यभारलाई  सहज रूपले ग्रहण गर्ने र एउटा परिणाममुखी  निष्कर्षमा पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउन सक्छु भन्ने अठोट र विश्वास छ’, उनले भने, ‘त्यही अठोट र विश्वासले प्रदेश १ कार्यसमितिको सहमहामन्त्री पदमा मैले आफूलाई उभ्याएको हुँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.