|

हेटौंडा : कांग्रेसको १४ औ महाधिवेशननअन्तर्गत बिहीवारदेखि सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन सुरु हुदैछ।

​बागमती प्रदेशको प्रदेश अधिवेशन बिहिबारबाट हेटौंडामा सुरु हुदैँछ। हेटौँडा–१० वनविज्ञान अध्ययन संस्थानमा हुनेछ।  १४ औँ महाधिवेशनअन्तर्गत हुन लागेको प्रदेश अधिवेशनमा करिब आधा दर्जन सभापतिका आकांक्षी छन्। 

पार्टी सभापति देउवा निकट इन्द्रबहादुर बानियाँले बुधबार काठमाडौंमा आफ्नो उम्मेद्ववारी घोषणा गरेका भने देउवाकै विश्वासिलो पात्र नेता मोहनबहादुर बस्नेतले पनि उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ। 

यद्यपी उनले आधिकारिक रुपमा घोषणा भने गरिसकेका छैनन्। कृष्णप्रसाद सिटौलानिकट भिमसेनदास प्रधानले यसअघि नै प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। मकवानपुर कांग्रेस सभापति तथा बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँ देउवाको विश्वासिलो पात्र हुन्।  सिटौला पक्षको प्रधानलाई संस्थापनपक्षको आधिकारिक उम्मेद्ववार बनाउन पनि जोडतोडले कसरत चलिरहेको बुझिएको छ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जगदीश्वरनरसिंह केसीको नाम प्रदेश सभापतिको रुपमा अगाडि सारेको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बसेको पौडेल पक्षका नेताहरुको बैठकले सभापति र महामन्त्रीका उम्मेदवारको छनोट गरेको हो। पौडेल समूहले काभ्रेका कन्चनचन्द्र बादे र मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल  (माइकल)लाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

पौडेल समूहबाट बागमती प्रदेश सभापतिको उम्मेदवारमा जगदीश्वरनरसिंह केसी, मधु आचार्य, रमेश धमाला, राजुराज जोशी र रामकृष्ण घिमिरेको दाबी थियो। तर केसीले बाजी मारेका छन्।

प्रदेश अधिवेशनले सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री निर्वाचित गर्ने विधानमा व्यवस्था छ। अधिवेशनबाट प्रत्यक्ष निर्वाचित, समावेशी र समानुपातिक आधारमा कार्यसमिति सदस्यहरू चयन गर्नेछ। 

कांग्रेसको विधान अनुसार प्रदेश कार्यसमितिमा निर्वाचित सदस्यहरूबाट एक जना कोषाध्यक्षको निर्वाचन हुनेछ। अधिवेशनमा प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट केन्द्रीय अधिवेशनका लागि निर्वाचित महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापति र प्रदेशका भातृ, शुभेच्छुक तथा संघसंस्थाका प्रमुखहरू प्रदेश अधिवेशनका सदस्य हुनेछन्। अधिवेशनमा करिब २ हजारको हाराहारीमा प्रतिनिधिहरू आउने अधिवेशन सचिवालय समितिका संयोजक प्रदीप कोइरालाले जानकारी दिए। 

बिहिबार बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, शुक्रबार बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, त्यही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँच÷बुझ गर्ने र मङ्सिर १७ गते २ बजे त्यसमाथि निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका रहेको छ। 

शुक्रबार दिउँसो २ देखि बेलुका ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, त्यही दिन बेलुका साढे ६ बजे मनोनयन फिर्ता लिने, बेलुका साढे ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते बिहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुने जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.