|

दाङ : पछिल्लो समय सवारी दुर्घटना अधिक हुँदा धेरैले अकालमै ज्यान गुमाएका छन् भने धेरै घाइते भएका छन्।

तिहारको भोलिपल्ट सल्यानबाट दाङ आउन लागेको बस सल्यानको कपुरकोटमा दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाए भने धेरै घाइते भए।

कपुरकोट दुर्घटनाको २४ घण्टा नबित्दै सल्यानको कालिमाटीबाट दाङको तुलसीपुर आउँदै गरेको जिप बबई गाउँपालिका-२ एक्लेबर नजिकै दुर्घटना हुँदा एकजनाको ज्यान गयो भने १९ जना घाइते भएका थिए।

त्यस्तै गत कात्तिक २८ गते रोल्पाको माडी गाउँपालिका-६ स्थित घर्तीगाउँ नजिकै जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भयो भने २ जना घाइते भए। त्यस्तै मंसिर ३ गते रोल्पामा दाङबाट गएको बस दुर्घटना हुँदा चारजनाको घटनास्थलमै र १९ जना घाइते भएका थिए। 

यी घटना त उदाहरण मात्र हुन्। भौगोलिक बनावटको समस्या, सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने र चालकको लापरबाहीले गर्दा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीका अनुसार सवारी दुर्घटना हुनुमा धेरै कारण भए पनि मुख्य ४/५ वटा रहेका छन्।

दुर्घटनाको प्रमुख कारण चालक रहेको उनको भनाइ छ। त्यस्तै सवारीसाधनको अवस्था राम्रो नहुँदा र सडक जीर्ण हुँदा पनि दुर्घटना हुने गरेको उनले बताए।

जिल्लामा आफूहरूले दुर्घटना न्यूनीकरण गर्न सक्रिय रूपमा काम गर्दै आएको समेत उनले बताए। त्यस्तै उनले वर्षायाममा पानीले र हिउँदमा हुस्सुले गर्दा पनि दुर्घटना हुने गरेको बताए।

उनले भने, मुख्य कारण त मानवीय कारण नै हो। चालकले लापरबाही गरी सवारी चलाउँदा धेरै दुर्घटना हुने गर्दछन्। तीव्र गति, मादक पदार्थ सेवन, सिट क्षमताभन्दा बढी मालसामान र यात्रु बोक्दा दुर्घटना हुने गर्दछ। हामीले दुर्घटना भएपछि अनुसन्धान गर्दा सबैभन्दा बढी तीव्र गति नै हो।’

यसैगरी उनले सडकको अवस्थाअनुसार नै दुर्घटना हुने गरेको समेत बताए। उनले सडकको अवस्था राम्रो भए दुर्घटना कम हुने र जीर्ण अवस्था भए दुर्घटनाको जोखिम बढी हुने भएकाले पनि दुर्घटना हुने गरेको बताए।

यता प्रहरीले चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको भन्दै आए पनि सवारीचालक तथा यातायात व्यवसायी भने सडकका कारण दुर्घटना हुने गरेको बताउँछन्।

केही दुर्घटना चालकका लापरबाहीका कारण हुने भए पनि पछिल्लो समय सडकका कारण दुर्घटना हुने गरेको घोराही-तुलसीपुर सार्वजनिक बस चलाउँदै आएका चालक लोकमणि पोख्रेलले बताए। उनले चालकको लापरबाहीका कारण दुर्घटना कम मात्रामा हुने दाबी गरे। 

उनले भने, ‘चालकले सबै यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने भनेर जिम्मा लिएर सवारी चलाएको हुन्छ। उसलाई पनि बाँच्ने रहर हुन्छ। सडक नै राम्रो नभए पनि सवारीसाधन कसरी चलाउन सकिन्छ।’

उनले कुनै पनि ठाउँमा गाडी दुर्घटना भए चालकको लापरबाहीका कारण भएको भन्दै आफूलाई नै राज्यले दोषी दिने गरेको गुनासो समेत गरे।

‘उनले अहिले जति पनि घटना भएका छन्। त्यो चालकका कारण नै भन्ने गरिन्छ। सडकका कारण दुर्घटना भएको भनेर राज्यले कहिले भनेको सुन्न पाइँदैन’, उनले भने।

उनका अनुसार तुलसीपुरदेखि घोराहीसम्म दूरी २४ किलोमिटर छ तर त्यो दूरी पार गर्न पौने घण्टा समय लाग्ने गर्दछ।

करिब २ वर्षदेखि सडक जीर्ण भएको र सडकमा खाल्टाखुल्टी धेरै भएका कारण दुर्घटना जोखिम बढी रहेको बताए।

त्यस्तै यातायात व्यवसायी भीमबहादुर खत्रीले पनि चालकका कारणले मात्र दुर्घटना नभई विभिन्न कारणले गर्दा हुने गरेको बताए। दुर्घटना हुनुमा मुख्य कारण सडक भएको उनको भनाइ छ। यस्तै उनले गाडी मालिकहरूका कारणले पनि दुर्घटना हुने गरेको समेत बताए।

उनले भने, ‘कुनै पनि दुर्घटना भएपछि सिधै चालकलाई दोषी देखिन्छ तर यहाँ चालकभन्दा पनि सडक र गाडी मालिकहरू पनि दुर्घटना हुनुका मुख्य कारण हुन्। सडक राम्रो नहुँदा गाडीहरूको अवस्था राम्रो हुँदैन। मालिकहरूले गाडी मर्मत नगराई पैसा कमाउनमा ध्यान दिँदा दुर्घटना हुने गरेको पाइन्छ।’

उनका अनुसार घोराही–तुलसीपुर सडक चार लेनको नाममा अस्तव्यस्त हुँदा सबैले सास्ती भोग्दै आएका छन्। सडकको वरिपरि खाडल बनाए दुईवटा गाडी  आपसमा पास हुने अवस्था समेत नरहेको उनको भनाइ छ।

लामो समयसम्म निर्माणाधीन  सडकहरू अलपत्र हुँदा र निर्माण भएका सडकहरू गुणस्तरीय नहुँदा सडक जीर्ण भएपछि दुर्घटना हुने गरेको उनले बताए। 

‘दाङकै घोराही तुलसीपुर सडकको अवस्था यस्तो छ। बन्न लागेको २/३ वर्ष भयो, अहिलेसम्म केही भएको छैन’‚ उनले भने, ‘अन्य पहाडी जिल्लाको सडकको अवस्था कस्तो होला। तराई जस्तो ठाउँको सडकको हालत यस्तो छ। घोराहीदेखि तुलसीपुर जान करिब पौने घण्टा लाग्छ तर अहिले सडकका कारण २ घण्टा लाग्छ। एकदमै जोखिम रहेको छ। यस्तो सडकमा दुर्घटना नभए कहाँ हुन्छ?’

त्यस्तै उनले सडकको मात्र नभई चालकहरूका कारण र सवारीसाधनको समस्याका कारण पनि दुर्घटना हुने गरेको बताए। उनले सवारी चलाउँदा सडकको अवस्था र सवारीको अवस्थाअनुसार चलाउनुपर्ने समेत सुझाव दिए।

त्यस्तै घोराही उपमहानगरपालिका-१५ का स्थानीय लेखनाथ बुढाथोकीले पनि सडक र चालकका कारण नै दुर्घटना हुने गरेको बताए। उनले सडकको अवस्थाअनुसार सवारी चलाउनुपर्ने भए पनि चालकहरूले तीव्र गतिमा चलाउँदा दुर्घटना हुने गरेको बताए। 

उनले अहिले घोराही-तुलसीपुर सडकखण्डमा पनि दुर्घटनाको जोखिम रहेको उनले बताए। लामो समयदेखि सडक निर्माण नहुँदा सडक जीर्ण र सवारीको चाप धेरै हुने भएकाले दुर्घटनाको जोखिम बढिरहेको उनको भनाइ छ।

‘अहिले फोर लेन सडकको निर्माण कार्य एकातिर छ। सडकको अवस्था एकातिर छ’, उनले भने, ’पहाडी जिल्ला जाने सडकको कुरै नगरौँ। पिच भएको सडक पनि अहिले नाम मात्र पिच छ। सडकमा पैदल हिँड्न नसक्ने अवस्थाका छन्। त्यसमा सवारीसाधन कसरी चल्छन् होला। जसले गर्दा जोखिम बढिरहेको छ। वर्षायामको पानीले सडक जीर्ण बनाएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.