|
तस्वीर : ध्रुवसागर शर्मा

म्याग्दी : प्रशस्त पर्यटकीय सम्भावना रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविर जोड्ने ‘मरिस हर्जोग ट्रेल’ मा पूर्वाधार निर्माण भएपछि पदमार्ग चिटिक्क परेको छ।

८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधारशिविर जाने ‘मरिस हर्जोग ट्रेल’मा धमाधम पूर्वाधार निर्माण हुन थालेपछि पर्यटकलाई सुविधा पुग्नुको साथै यात्रा पनि सहज भएको हो।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधारशिविर पुग्न सकिने गरि पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायतका पूर्वाधार निर्माण गरिएको हो।

पर्यटन मन्त्रालयबाट विनियोजित करिब २ करोड ८० लाख रूपैयाँ बजेटबाट गत वर्ष निर्माण सुरु भएको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा अन्नपूर्ण गाउँपालिकाले पदमार्ग सञ्चालन गरेको थियो।

८ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सेली मरिस हर्जोगका नाममा तयार भएको यो पदमार्ग आधार शिविर पुग्ने छोटो र सुरक्षित भएकाले यसको व्यापक प्रचारप्रसार र पूर्वाधार निर्माणमा पहल गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए।

अन्नपूर्ण आधारशिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गराउन पदमार्गको प्रवेशविन्दु नारच्याङमा २ वर्षअघि प्रथम अन्नपूर्ण पर्यटन महोत्सवसमेत गरिएको बताउँदै अध्यक्ष पुनले यो पदमार्गलाई गाउँपालिकाको पर्यटन विकासको नयाँ आयामका रुपमा विकास गर्न लागिपरेको जानकारी दिए।

हर्जोगले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै ८ हजारभन्दा अग्ला हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ रेकर्ड बनाएका थिए।

अन्नपूर्ण प्रथम आरोहण भएको ३ वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ।

आधारशिविर भ्रमण, हिमाल आरोहण सँगै झरना, ताल, वन्यजन्तु, वनस्पतिको सौन्दर्यमा रमाउन पाउनु यस पदमार्गका आकर्षण हुन्।

अघिल्लो वर्ष यसै पदमार्ग हुँदै आधारशिविर पुगेर ७० जनाले हिमालको आरोहण गरेका थिए।

यस वर्ष असारयता मात्रै करिब ७ सयभन्दा बढी आन्तरिक पर्यटक आधारशिविर पुगेको अनुमान छ।

नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सडक सञ्जाल पुगेपछि हुमखोलादेखि आधारशिविरसम्म पदमार्गलगायत पूर्वाधार निर्माण गरिएको छ।

हालसम्म ढुंगा चिनेर ६ हजार ५ सय वटा खुट्किला बनाइएको छ भने करिब १४ किलोमिटर पदमार्ग निर्माण भएको पदमार्ग निर्माण समितिका स्थानीय संयोजक तेज गुरुङले जानकारी दिए।

अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्षसमेत रहेका गुरुङका अनुसार, ०६८ सालमा पहिचान भएको पदमार्गमा आधारभूत पूर्वाधार निर्माण सकिन लागेको छ।

त्यसैगरी निलगिरिखोला हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत् आयोजनाले अक्करे पहाडमा विस्फोटक पदार्थ प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । यो सडकले दुई दिनको यात्रा दुई घण्टामा छोटिएपछि आधारशिविर पुग्न लाग्ने अवधि छोट्टिएको जानकारी गुरुङले दिए।

पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धीखर्क, भुसकेत, धर्मशालामा गरि ६ ठाउँका खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ भने ६ स्थानमा आश्रयस्थल निर्माण भइरहेको छ।

निलगिरि हिमालको फेदी हुमखोलाबाट करिब १४ किलोमिटर लामो पदमार्गमा ढुंगाका खुट्किला चिनिएको छ भने अक्करे पहाड र भीरमा रेलिङसमेत राखिएको छ।

पर्यटन विभागबाट खानी एन्ड एनवी जेभी निर्माण कम्पनीले पदमार्गका पूर्वाधार बनाउने ठेक्का पाएको थियो।

अहिलेसम्म करिब ७० प्रतिशत पूर्वाधार निर्माण भइसकेको र २ महिनाभित्र सबै काम सक्ने योजना रहेको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर होमराज गौतमले बताए।

उनका अनुसार पदमार्गअन्तर्गत ५ ठाउँमा काठको साँघु, १० ठाउँमा चौतारालगायत निर्माण भइरहेको छ।

यो पदमार्गमा यसअघि पर्यटन विभागसँगै प्रदेश सरकार, गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को समेत लगानीमा पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, खुट्किलालगायत पूर्वाधार निर्माण भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.