|

काठमाडौं :  यति वेला नेपाली सांगीतिक क्षेत्रमा स्थापित अधिकांश गायक गायिका स्टेज शोका लागि देश दौडाहामा छन्। यो समय देशभर व्यापक मेला महोत्सव हुने समय पनि हो तर २ वर्षअघिका जस्ता मेला महोत्सव हुन सकेका छैनन्।

यस्तो हुँदाहुँदै पनि कोरोनाकालमा शून्य भएको मेला महोत्सव अहिले केही चलायमान भने भएको छ।

कोरोना महामारीका कारण झण्डै डेढ वर्ष नेपाल प्रभावित बन्यो। कोरोनाले हरेक क्षेत्रले उस्तै दुःखान्त अवस्था व्यहोर्न पुगे।  पर्यटन क्षेत्र त पूरै धराशायी भयो। त्यसमाथि  मेला-महोत्सव, कन्सर्ट वा सांगीतिक कार्यक्रम शून्य रहे।

देशभर हुने मेला महोत्सवले आन्तरिक पर्यटनको ठूलो हिस्सा ठप्प रह्यो। मेला महोत्सव नहुने भएपछि सबैभन्दा बढी प्रभावित भने सांगीतिक क्षेत्रलाई परेको थियो। सांगीतिक क्षेत्रमा लागेका कलाकारदेखि प्राविधिकसम्म आर्थिक रूपले कठिन मोडमा गुज्रिएका समाचार सार्वजनिक भएका थिए।

स्टेज कार्यक्रम कलाकारका लागि आर्थिक उपार्जनकोसबैभन्दा राम्रो स्रोत मानिन्छ। दर्शक आकर्षित गर्न मेला महोत्सवले पनि कलाकारको निमन्त्रणा गर्छन्।

कलाकारको भरपर्दो आयस्रोत नै देश वा देश बाहिर गरिने स्टेज कार्यक्रम हुन्। कोरोनाका कारण लामो समय फुर्सदमा रहेका गायक–गायिकाहरू पुनः स्टेज कार्यक्रमका लागि देश तथा विदेशमा पुगेका छन्। कोरोना केही न्यूनीकरण भएपछि अधिकांश कलाकार व्यस्त बनेका छन्।

'छोटो छ जिन्दगी' का सर्जक भुपू पाण्डे पनि अहिले गीत निर्माणमा व्यस्त छन्। यो बिचमा उनी स्टेज कार्यक्रममा व्यस्त थिए। उनी स्टेज कार्यक्रमकै लागि देश दौडाहा थिए। काठमाडौं उपत्यका लगायत देशका करिब १० जिल्लामा पुगेका उनले कोरोना संकटपछि संगीतको करियरमा केही राहत महसुस गरेका छन्।

'स्टेज कार्यक्रम नै हाम्रा लागि राम्रो अवसर हो। अहिले पनि म स्टेज कार्यक्रम र गीत रेकर्ड एकैसाथ गरिरहेको छु', उनी भन्छन्।

उनी नयाँ गीतका लागि म्युजिक भिडियो छायांकनका लागि व्यस्त रहेको सुनाउँछन्। 'कोरोनाले थिलथिलो बनाइरहेको अवस्थामा पछिल्लो स्टेज कार्यक्रमले पुन: आशाको किरण देखाएको छ', उनी भन्छन्।

पछिल्लो समय पुन: कोरोनाको अर्को भेरियन्ट 'ओमिक्रोन' विश्वका ५० भन्दा बढी मुलुकमा देखिएपछि त्रास थपिएको छ। यसले नेपाली कलाकारहरू विदेशका विभिन्न कार्यक्रम स्थगित हुने कुराले चिन्तित भएका छन्।

कोरोनाको नयाँ भेरियन्ट विदेशमा देखिसकेको छ। विस्तारै नेपालभित्र पनि देखिए सरकारले न्यूनीकरण गर्न लकडाउन गर्न सक्ने डर कलाकारमाथि रहेको छ।

विदेशमा आयोजना हुने कार्यक्रमका लागि कलाकारले पुन: केही समय पर्खिनुपर्ने अवस्था आउन सक्ने देखिएको छ। यसअघि पहिलो र दोस्रो चरणको कोरोना लहरले गर्दा विश्वका धेरै देशले लकडाउन गरेका थिए।

अहिलेको नयाँ भाइरसले धेरै मुलुकले हवाई सेवा बन्द गरिसकेका छन्। यो क्रम बढ्न सक्ने देखिएको छ। जसले गर्दा विदेशको कार्यक्रम पुन: बन्द हुन सक्ने देखिएको छ।

सरकारले अहिलेबाट नयाँ भेरियन्ट रोक्न काम गर्ने हो भने स्वदेशमै आयोजना हुने कार्यक्रमले पनि कलाकारलाई आर्थिक रूपमा ठूलो राहत दिने गायक कर्णराज गिरी सुनाउँछन्।

उनी भन्छन्, 'सरकारले नयाँ भेरियन्ट रोक्न वेलैमा काम गरिदिए देशभित्रको स्टेज कार्यक्रम गर्न सहज हुनेथियो। अहिले फेरि कोरोनाको नयाँ भेरियन्ट आएको समाचार सुनिरहेको छु। यसले पुन: लकडाउन हुने हो कि भन्ने डर छ। '

झण्डै डेढ वर्षको कोरोनाको आक्रान्तले संगीतको क्षेत्र अन्धकारमय भएको गायक गिरीले बताए। अन्धकारमय संगीत क्षेत्रलाई नेपाली स्टेज कार्यक्रमले फेरि केही प्रकाश बोकेर आएको उनी सुनाउँछन्।

यो बिचमा उनी देशका विभिन्न १५ जिल्लामा पुगे। थाहाखबरले सम्पर्क गर्दा उनी बुटवलको कार्यक्रममा थिए।

उनी सुनाउँछन्, 'कोरोनाको चाप घटेपछि व्यस्तता ह्वात्तै बढेको छ। आम दर्शकसँग नजिकिन पाउँदा खुबै खुशीको अनुभूति भएको थियो। स्टेज कार्यक्रमले आर्थिक उपार्जनका लागि पनि थप मद्दत गरिदियो।'

पछिल्लो समय स्टेज कार्यक्रममा व्यस्त गायक तथा संगीतकार रोशन सिंह सम्पूर्ण नेपाली सांगीतिक क्षेत्र चलायमान बनाउन मात्र होइन‚ देशको अर्थतन्त्र नै चलायमान बनानउ नै स्टेज कार्यक्रमको महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन्।

कोरोना कालमा उनले आधा दर्जन गीत सिर्जना गरेर लकडाउनको सदुपयोग गरेका थिए। अहिले भने उनी स्टेज कार्यक्रमका लागि देश दौडाहा गरिरहेका छन्।

यो बिचमा दर्जनभन्दा बढी जिल्ला पुगेका उनी अहिले पनि दर्जनभन्दा बढी जिल्लाको कार्यक्रमको तयारीमा रहेका छन्।

'कलाकारहरू आर्थिक रूपले सम्पन्न हुनुपर्छ भन्ने कुरा नै मुख्य हो। अहिले स्टेज कार्यक्रमले धेरै कलाकारलाई सहज बनाएको छ', उनी भन्छन्, 'स्टेज कार्यक्रमले कलाकार र दर्शक बिचको सम्बन्ध अझ प्रगाढ बनाइरहेको छ।

मेला महोत्सवले आफैंमा आन्तरिक पर्यटन विकासका लागि योगदान दिन्छन् नै। त्यसमाथि कलाकारहरूको उपस्थितिले यसमा थप उमंग थपिदिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.