१० महिनादेखि विद्यार्थीको हातमा थेसिस तर त्रिविले बुझ्न समय दिँदैन

|

काठमाडौं : बुधबार दिउँसाेकाे १२ बजे। त्रिभुवन विश्वविद्यालय परिसरको व्यवस्थापन केन्द्रीय विभागका ढोकाअगाडि दुईजना विद्यार्थी बसिरहेका थिए। उनीहरूका हातमा ​थेसिस(शोधपत्र) थियो। बुझ्दा उनीहरू व्यवस्थापन संकायको स्नातकोत्तर तहको थेसिस बुझाउन आएका रहेछन् तर शोध निर्देशक नआएपछि उनीहरू घर फर्किने तर्खर गरिरहेका थिए। 

उनीहरू यसरी काम नभई फर्किएको एक दिन होइन, पाँच महिनादेखि यस्तै दुःख भोगिरहेका छन्। पटक–पटक थेसिस बुझाउन आउँदा पनि कहिले विभाग प्रमुख त कहिले शोध निर्देशक नभेटिने र भेटिए पनि आलटाल गर्ने गरेको तीमध्येकै एक विद्यार्थीले गुनासो पोखिन्।

नाम नखुलाउने शर्तमा उनी भन्छिन्, ‘मैले थेसिस सकाएको १० महिना भइसक्यो, अहिलेसम्म बुझाउन सकेको छैन। यहाँ धाएको नै पाँच महिना भइसक्यो, यहाँका प्रोफेसर कहिल्यै भेटिदैनन्।’ 

उनका अनुसार कोभिड संक्रमणका वेला करिब पाँच महिना कलेज बन्द थियो। त्यसवेला पनि थेसिसको काम नरोक्ने भनी जिमेलबाट पठाउने र त्यहीबाट हेर्ने शिक्षकले बताएका थिए तर त्यो कार्यान्वयन भएन। हाल भौतिक रूपमा कक्षा सञ्चालन भए पनि उनीहरूले समय दिएनन्।

‘हामीले इमेल गर्दा एक महिनासम्म पनि कुनै जवाफ आउँदैन, उहाँहरू सधैँ व्यस्त हुनुहुन्छ भनेर समय मागेर आउँछौँ। त्यो वेला पनि उहाँहरू भेटिनु हुन्न। हाम्रो समस्या पनि उहाँहरूले बुझ्नुपर्‍याे नि’, उनी आक्रोशित भइन्।

अधिकांश शोध निर्देशकले आज भ्याइँदैन भोलि आउनु भन्दै झुलाउने गरेको उनले बताइन्। उनका अनुसार उनी मात्र होइन‚ त्यहाँ अध्ययनरत ७५ प्रतिशत विद्यार्थीले समयमा थेसिस बुझाउन पाउँदैनन्।

‘यो संकायमा मात्रै होइन, अरू संकायमा पनि यस्तो समस्या छ। उहाँहरूको समस्या मेरो जस्तै पाउनुहुन्छ’, उनले भनिन्, ‘मेरी साथी झन् बच्चा बोकेर बुझाउन आउँछिन्, जहिल्यै पनि यसैगरी दु:ख भोगेर फर्किन्छिन्।’ 

व्यवस्थापन संकायका स्नातकोत्तर तेस्रो सेमेष्टरमा अध्ययनरत राधिका केसी (नाम परिवर्तन)ले थेसिस सकाए पनि त्रिविमा बुझाउन सकस हुने बताइन्। ‘मेरो त अझै बुझाउने वेला भएको छैन तर अघिल्लो सेमेष्टरकै दाइदिदीहरूले पनि समयमा बुझाउन समय नै दिँदैनन् भन्नुहुन्छ’‚ उनले भनिन्।

समाज शास्त्र विभागमा पनि थेसिस बुझाउन सकस भएका विद्यार्थी पायौँ। सञ्चारमाध्यममा यो विषयमा नाम खुलाएर कुरा गर्दा पछि नम्बर कम दिने डर उनीहरूमा छ। त्यसो त नाम नभन्ने शर्तमा अर्का विद्यार्थीले भने, ‘मेरो थेसिस तयार भएकाे चार महिना भइसक्यो तर कहिले त्यो भएन भन्छन्, कहिले के पो भएन त्यो सच्याएर ल्याउनु भन्छन्, पछि फेरि हेर्नै मान्दैनन्।’

भविष्य अन्योलमा 

थेसिस बुझाउन आएकी सिन्धुपाल्चोककी उनी २०१८ ब्याजकी हुन्। उनले बैंकसम्बन्धी अनुसन्धान गरी शोधपत्र सकिन् तर त्रिविले समयमा नबुझ्दा उनले जागिरका धेरै अवसर गुमाएकी छिन्। उनी भन्छिन्, ‘स्नातकोत्तर पढेको चार वर्ष भइसक्यो, अहिलेसम्म सकिएन, त्रिविले हाम्रो बाध्यता बुझेको भए,माष्टर सकेर राम्रो जागिर खान्थेँ, हाम्रो पनि करिअरको कुरा छ, परिवारको दबाब छुट्टै छ।’ 

शाेध निर्देशकहरूले चिनेका विद्यार्थीलाई भने समय दिने र थेसिस बुझ्ने गरेको उनको भनाइ छ। त्रिविले समयमा विद्यार्थीको काम नगर्दा उनी मात्र नभई धेरै जनाको भविष्य बिग्रिएको छ।

                                                                                     त्रिविमा शोध निर्देशकलाई बुझाउन ल्याएको थेसिस

अनलाइनबाट बुझाउने व्यवस्था होस्’

यतिखेर वर्षौं मिहिनेत गरेर तयार पारेको थेसिस त्रिविले किलोको १२ रुपैयाँकाे दरले कवाडीलाई बेचेको भनी चर्को आलोचना र विरोध भइरहेको छ। यो विषयमा थेसिस बुझाउन आएकी उनी भन्छिन्, ‘यति मिहिनेत गरेर थेसिस तयार पार्छौँ  तर यहाँ यसको महत्त्व नै छैन, समय मात्र बर्वाद।’

​अनलाइन प्रणालीबाट थेसिस बुझाउने व्यवस्था भए विद्यार्थीलाई सास्ती नहुने उनी बताउँछिन्। उनी भन्छिन्, ‘बरु त्रिविले अनलाइनबाट बुझाउने व्यवस्था गरे खर्च नि धेरै हुँदैनथ्यो, समय पनि बचत हुन्थ्यो, आखिर कवाडीमा फालिने रहेछ।’

उनका अनुसार स्नातकोत्तर तहका विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालय, केन्द्रीय पुस्तकालयमा र सम्बन्धित क्याम्पसमा गरी तीनप्रति थेसिस बुझाउनुपर्ने हुन्छ। ती सबै प्रिन्ट गरी तयार पार्दा ८ हजार रुपैयाँभन्दा पनि बढी खर्च हुन्छ। राधिका पनि उही माग गर्छिन्। ‘त्यसरी थेसिस बेचेर राम्रो हुँदैन, अनलाइनबाट पठाउने व्यवस्था गर्नुपर्छ’‚ उनले भनिन्। 

यसो भन्छ डीन कार्यालय

व्यवस्थापन संकाय डीन कार्यालयका डीन डिल्लीराज शर्माले थेसिस हेर्ने प्रोफेसर अन्य सेवामा लागेकाले अहिले हेर्न समस्या भएको बताए। ‘पहिला हामीले निरन्तर थेसिस प्राप्त गरी बुझ्ने गरेका थियौँ​,थेसिस हेर्ने प्रोफेसर १५ दिनदेखि अरू सेवामा लागेकाले हेर्न भ्याइएको छैन। यसलाई हामी व्यवस्थापन गर्दै जान्छौँ,’ उनले भने।

उनले बुझाइसकेको थेसिस रिसाइकल गर्ने व्यवस्था भएकाले नै बेच्ने गरेको तर्क राखे। उनले भने, ‘हामीले सफ्ट कपी मात्र माग्छौँ, राख्ने ठाउँ पनि हुँदैन, त्यसैले बेच्ने गर्छौँ, बाहिर जथाभावी बेचिँदैन, गोप्य नै हुन्छ।’

परीक्षा नियन्त्रक भन्छन् : अनलाइनकाे व्यवस्था गर्ने पहल भइरहेकाे छ 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यसरी थेसिस बेच्दा विवाद हुने देखिएकाे भन्दै अनलाइन व्यवस्थापनबाट नै बुझाउन पहल गरिरहेको बताए।

उनले भने, ‘यहाँ वर्षेनि हजारौँ संख्यामा थेसिस जम्मा हुन्छन्, राख्ने ठाउँ छैन। त्यसैले पहिलादेखि नै बेच्नै आइएको हो। अब अनलाइन व्यवस्थाबाट गर्ने राम्रो सल्लाह हो, यसका लागि पहल गरिन्छ।’

शोधकार्यमा ढिलाइ भएको विषयमा उनी थप गर्न लगाएकोमा विद्यार्थीले नै ढिलो गर्ने गरेको तर्क राखे। उनले भने, ‘थेसिस बुझाउँदा केही कुरा थप्नुपर्ने हुन्छ, त्यो थप्दा उनीहरूको समयमा नबुझेको हुनसक्छ। यो विषयमा पनि सबै शोध निर्देशकलाई भनौँला।’

भौतिक रूपमा यो काम गरिँदा विद्यार्थीलाई मारमा परेको भन्दै अनलाइन प्रणालीको व्यवस्था गर्नुपर्ने पक्षमा रहेको व्यवस्थापन संकायका डीन शर्माले बताए। ‘अनलाइनबाट थेसिस बुझ्ने गरे समय र खर्चको बचत हुन्छ, यही प्रणालीबाट गर्ने भनी कुरा उठाइरहेका छौँ। सम्भवतः विस्तारै यस्तो व्यवस्था हुन्छ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.