|

भारतको राजधानी दिल्लीमा भोलिदेखि सबै स्कुल बन्द हुने भएका छन्।

सर्वोच्च अदालतले आज (बिहीबार) दिल्ली सरकारलाई प्रदूषणका वेला स्कुल किन खोलेको भनेर प्रश्न गरेको थियो।

दिल्लीका वातावरणमन्त्री गोपाल रायले भने, 'दिल्लीमा प्रदूषणका कारण सबै स्कुल अर्को आदेश नहुँदासम्म बन्द गर्ने निर्णय गरेको छ।'

वयस्कले घरबाटै काम गर्ने अनुमति दिएका वेला बालबालिकालाई स्कुलमा बोलाउनुपर्ने कारण के हो भनेर दिल्ली सरकारलाई स्पष्टीकरण मागेको थियो।

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले ट्वीट गर्दै प्रदूषणलाई ख्याल गरी दिल्लीका सबै स्कुल अर्को आदेश नआउँदासम्म बन्द हुने जानकारी दिएका छन्।

दिल्ली सरकारले गत सोमबारदेखि मात्रै स्कुल खोल्न लगाएको थियो।

अदालतमा चर्काचर्की

बुधबार प्रधानन्यायाधीश एनवी रमणले दिल्ली सरकारलाई सोधेका थिए‚ ‘तपाईँले स्कुल बन्द छन् भनेर ढाँट्नु भयो। बालबालिकालाई बिहानै तुवाँलो लागेका वेला स्कुल जानु परेको छ। यो कुनै तरिका हो? मैले चिनेका बालबालिका स्कुल जाँदै गरेका छन्। तपाईंहरूले हामीलाई केही कुरा भन्न बाँकी छैन। उमेर पुगेका व्यक्तिले घरबाटै काम गर्ने सुविधा पाएका छन् तर बालबालिका स्कुल जान बाध्य छन्। यो केका लागि?’

दिल्ली सरकारका तर्फबाट वरिष्ठ वकील अभिषेक सिंघवीले सर्वोच्च अदालतमा भनेका थिए‚ ‘अभिभावकका सहमतिबाटै बालबालिका स्कुल गइरहेका छन्। अदालतले भन्छ भने हामी  स्कुल बन्द गर्छौं।’

प्रधानन्यायाधीशले उनलाई जवाफ दिएका थिए‚ ‘हाम्रो काँधको प्रयोग गरेर जोगिन सक्नु हुन्न। तपाईं सरकारमा हुनुहुन्छ। सरकारले के गर्नुपर्छ भन्ने तपाईंले जान्नुपर्छ। जो स्कुल आउन चाहन्छौ आऊ, घरैबाट पढ्न चाहनेले घरैबाट पढ भनेर सरकारले विकल्प देओस्। विद्यार्थी स्कुल आउँछन् कि घरैबाट पढ्छन्?’

वायु प्रदूषण बढेपछि दिल्ली सरकारले भौतिक उपस्थितिमा कक्षा बन्द गरेको थियो। बुधबार दिल्लीको वायुको गुणस्तर सूचकांक एक्यूआई (एअर क्वालिटी इन्डेक्स) ३७० थियो भने बिहीबार ४१६ थियो।

वायुको गुणस्तर सूचकांक

०-५०              ठीक

५१-१००          सन्तोषजनक

१०१-२००        मध्यम

२०१-३००       खराब

३०१-४००      निकै खराब

४०१-५००     खतरनाक​


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.