|

खोटाङ : जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले भोलि (मंसिर १७ गते) एक दिन सार्वजनिक बिदा दिने भएको छ। बाला चतुर्दशीको अवसरमा भोलि नगरपालिकाको वडा नम्बर ७ स्थित सुप्रशिद्ध त्रिधार्मिक तपोभूमि हलेसीमा बृहत् मेला लाग्ने भएको हुँदा नगरपालिकाले एक दिन (शुक्रबार) सार्वजनिक बिदा दिएको सूचना जारी गरेर जानकारी दिएको छ।

कोरोनाका कारण दुई वर्षयता लाग्न नसकेको हलेसी मेला यो वर्ष भव्यताका साथ लाग्ने तयारी छ। धार्मिक तथा सांस्कृतिक रूपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ।

हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न भक्तजन आउने गरेका छन्।

हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, साउनको सोमबारलगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ। हलेसीमा सबैभन्दा लामो मेला रामनवमीमा १५ दिनसम्म लाग्ने गरेको छ।

हलेसीमा नेपालका विभिन्न जिल्लासँगै भारत, बंगलादेश, भुटानलगायत देशबाट पनि भक्तजनहरू आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले बताए। तर, कोरोनाको त्रासका कारण यो वर्षको बालाचतुर्दशीका अवसरमा लागिरहेको मेलामा बाहिर देशबाट भक्तजन आएका छैनन्।

यतिबेला विभिन्न जिल्लाबाट व्‍यापार र दर्शनका लागि आएका मानिसहरुले मन्दिर वरिपरि भिड लागेको छ। विशेष गरी बालाचतुर्दशीको दिन बिहान पितृको नाममा सतबीज छर्ने र राति जाग्राम बस्ने चलन रहेको छ। 

गुफामा हिन्दू, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरिकाले पूजापाठ गर्ने गर्छन्। जुन दृश्य सबैका लागि रोचक लाग्ने गर्छ। हिन्दू धर्ममा आस्था राख्नेहरूले यसलाई पशुपतिनाथको रूपमा, बौद्ध धर्मावलम्बीहरू दोस्रो लुम्बिनीको रूपमा र किरात धर्मावलम्बीहरूले आदिम भूमिको रूपमा पूजाआजा गर्ने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.