|

म्याग्दी : पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको म्याग्दीको प्रशिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेहरुको भिड लागेको छ।

सदरमुकाम बेनीबजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर धाममा रातिदेखि नै टाढाटाढाका भक्तजनहरु आएका थिए। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ।

कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सातथरीका बीउ छर्ने आएका भक्तजनको घुइँचो लागेको हो।

यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन्।

गलेश्वरमा सतबिज छर्नका लागि म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, नवलपरासी लगाएतका स्थानबाटसमेत भक्तजनहरु आएका गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ।

द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबीज छर्नका लागि हजारौं भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका भीमनाथ पराजुलीले जानकारी दिए। उनका अनुसार गलेश्वरमा रातभरी भजन कीर्तन गर्दै जाग्राम बसेर बालाचतुर्दशीको दिन बिहानै कालीगण्डकी स्नान गरी पितृको स्मरण गर्दै दीपदानसहित  शतबीज छर्ने प्रचलन रहेको छ।

दुई वर्षअघिसम्म गलेश्वरमा पूजाआजाका साथै बालाचर्तुदर्शीको अवसरमा घुम्ती व्‍यापार मेलासमेत लाग्ने गर्दथ्यो। तर, कोभिड १९ को संक्रमणका कारणले गत वर्ष र यस वर्ष मेला र घुम्ती व्यापार भने सञ्‍चालन गरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.