|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा मन्त्रालयको नीतिगत कामभन्दा कर्मचारीकै सरुवामा रमाउन थालेका छन्।

कोरानाको नयाँ भेरियन्टको त्रास बढ्दो छ। विभागीय मन्त्रीको हिसाबले नयाँ भेरियन्ट भित्रन नदिन मन्त्रालयका अनुभवी स्वास्थ्यकर्मी र चिकित्सकको सहयोगमा तीव्र तयारी गर्नुपर्ने वेला उनी सरुवा बढुवामै रमाउन थालेका हुन्।

मन्त्रालयको जिम्मेवारी समालेको दुई महिना नहुँदै उनले दर्जनभन्दा बढी कर्मचारीको सरुवा गरिसकेका छन्।

कोरोनाविरुद्ध फ्रन्टलाइनमा लड्ने चिकित्सककै सरुवा

मन्त्रीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका निर्देशक डा. अनुप बाँस्तोलाको जिम्मेवारी खोसेका छन्। नेपालमा कोरोना संक्रमितको उपचारमा सबभन्दा पहिले खटिने चिकित्सक समेत रहेका डा. अनुपलाई सरुवा गरेर मन्त्रीले काम गर्ने विज्ञ चिकित्सकको मनोबल कमजोर बनाएका छन्।

कोरोना कालमा राम्रो काम गरेर सरकार र सरकारी अस्पताल पनि अब्बल छन् भन्ने सन्देश दिन सफल डा. बाँस्तोलालाई हटाएर डा. मनीषा रावललाई अस्पताल निर्देशक बनाएका छन्। डा. बाँस्तोलालाई सेवा समूह नै नमिल्ने सार्क क्षयरोग केन्द्रमा पठाइएको छ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार कोरोनाको जोखिम नघटेको र नयाँ भेरियन्टको जोखिम बढ्दै गएको वेला विज्ञ चिकित्सकलाई सेवा नमिल्ने ठाउँमा सरुवा गर्नु मन्त्री गैरजिम्मेवार भएको बताउँछन्। ‘सरुवा नै गर्ने भए सेवा समूह मिल्ने ठाउँमा गर्नुपर्ने, यस्तो महामारीका वेला बिरामी हेर्ने डाक्टरलाई सेवा समूहमै नमिल्ने ठाउँमा सरुवा गर्नु भनेको गैरजिम्मेवारी काम हो’‚ उनले भने।

महामारीका वेला टेकु अस्पतालले उदाहरणीय काम गरेको र त्यसमा डा. अनुपको भूमिका महत्त्वपूर्ण रहेको र अहिले पनि महामारीको जोखिम नघटेका वेला अनुभव भएको व्यक्तिलाई सरुवा गर्न नहुने ती अधिकारीले बताए।

यस्तै महामारीको समयमा सोही विषयमा विशेषज्ञता भएका कर्मचारीलाई सरुवा गर्दा विशेष ध्यान पुर्‍याउनुपर्ने स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ चिकित्सक महेन्द्र श्रेष्ठ बताउँछन्। ‘सरुवा मन्त्रालयको नियमित प्रक्रिया भए पनि महामारीको समयमा त्यस विषयमा ज्ञान भएकाको सरुवा गर्दा ध्यान दिनुपर्ने थियो’‚ उनले भने।

यति मात्रै नभएर मन्त्री खतिवडाले महत्त्वपूर्ण महाशाखा मानिएको अन्तरराष्ट्रिय समन्वय महाशाखामा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. संगीता मिश्रालाई ल्याइएको छ।

त्यो महाशाखा सम्हालिरहेकी रीता जोशीलाई मन्त्रालयमै फाजिलमा थन्काइएको छ। डा. मिश्रा निर्देशक रहेको प्रसूति अस्पतालको निर्देशकमा एनेस्थेसियोलोजिष्ट डा. अमीरबाबु श्रेष्ठलाई ल्याइएको छ। उनी सोही अस्पतालका एनेस्थेसियोलोजिष्ट हुन्।

संगठन संरचनामा प्रसूति गृहको निर्देशक अब्स्टेटिक तथा गाइनोकोलोजिष्ट रहने व्यवस्था छ। दुई महिनाअघि मात्रै परिवार कल्याण महाशाखाबाट सार्क क्षयरोग केन्द्रमा लगिएका डा. तारा पोखरेललाई नीति, योजना तथा अनुगमन महाशाखामा ल्याइएको छ। डा. पोखरेल आगामी माघ १० गते सेवाबाट अनिवार्य अवकाश पाउँदै छन्।

स्वास्थ्य सेवा विभागको सबैभन्दा आकर्षक ठाउँ मानिने व्यवस्थापन महाशाखाको जिम्मेवारी अर्थोपेडिक सर्जन डा. रुद्र मरासिनीलाई दिइएको छ। डा. मरासिनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ११ औं तहका अर्थोपेडिक सर्जन हुन्।

संगठन संरचनाअनुसार व्यवस्थापन महाशाखाको प्रमुख हेल्थ इन्पेक्सन समूह ११ औं तह रहने व्यवस्था छ।

यसअघि सो महाशाखा प्रमुख डा. भीमसिंह तिंकरी रहेका थिए। उनी १२ औं तहमा बढुवा भएपछि सो पद खाली रहेको थियो। सोही

महाशाखाअन्तर्गतको व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानालाई पनि हटाइएको छ। उनको ठाउँमा यसअघि पटक पटक विवादमा तानिएका सुरेन्द्र चौरसियालाई लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.