|

म्याग्दी : गत रातिदेखि मुस्ताङमा हिमपात भएको छ। म्याग्दीका उच्च लेकाली क्षेत्रमा समेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन्।

मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको हो भने म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीय मनबहादुर विकले जानकारी दिए।

माथिल्लो क्षेत्रमा हिमपात भएसँगै तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ। मुस्ताङको सदरमुकाम जोमसोम र म्याग्दीको सदरमुकाम बेनी आसपासका क्षेत्रमा आज बिहानैदेखि पानी परेको छ।

वर्षा र हिमपात तथा हुस्सु र कुहिरोका कारण जोमसोम–पोखरा हवाई उडान पनि प्रभावित बनेको छ।

मौसम प्रतिकूल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार मुस्ताङमा यो सिजनमा दोस्रोपटक हिमपात भएपछि मुस्ताङको जनजीवन समेत प्रभावित बनेको छ।

हिमपात र वर्षाका कारण मुस्ताङको तापक्रम माइनस तर्फ झर्दै गइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका उच्च लेकाली क्षेत्रमा हिमपात भएपछि तल्लो म्याग्दीमा जाडो बढेको छ।

अत्यधिक चिसोका कारण गाउँगाउँका शिवालयमा शतबीज छर्ने भक्तजनलाई समस्या भएको छ।

हिउँदे वर्षा गहुँबालीका लागि निकै उपयुक्त हुने स्थानीय तहका कृषि शाखाले जनाएका छन्। गहुँबालीका लागि मात्रै नभएर हिउँदे फलफूलदेखि स्याउका नयाँ विरुवालाई राहत गरेको छ।

हिउँदे फलफूलका बिरुवा रोप्ने समय आएको छ। फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक रहेको छ। गहुँ छरिसकेका किसान पनि हिउँदे वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन्।​

अत्यधिक जाडो

वर्षाले म्याग्दीको उच्च लेकाली क्षेत्रमा जाडो बढाएको छ। केही क्षेत्रमा हिमपात समेत भएको स्थानीयले बताएका छन्। वर्षासँगै जिल्लाको धेरैजसो ठाउँमा जाडो बढेको छ।

जाडोले जनजीवन प्रभावित भएको बेनी नगरपालिका–२ का वेदप्रसाद उपाध्यायले बताए। जाडोले बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ। बिहीबार रातिदेखि जिल्लामा लगातार पानी परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.