|

काठमाडौं : नयाँ बानेश्वरबाट तीनकुने नपुग्दै बागमती तर्ने पुल आउँछ। पुल नतरी दाहिनेतिर बागमतीको छेवैछेउ अलिकति हिँड्ने हो भने आउँछ- चियावाला। 

चियावालामा पुगेपछि के पिउने? पक्कै पनि चिया पिउने।

तर कुन चिया पिउने? यहाँ तपाईंले सोचे र सुनेभन्दा धेरै थरी चिया पाइन्छ।

चियावाला गणेशदेव पाण्डेका अनुसार यहाँ अनगिन्ती स्वादका चिया पाइन्छन्।

उनी भन्छन्, 'मेनुमा भएका चाहिँ ९० देखि सय जति होलान्। तर ती हरेक चियाबाट अर्को स्वादको चिया बनिरहेको हुन्छ। जसरी एउटा रागबाट सयौँ गीत बन्छन्।' 

उनी जति अब्बल चियावाला हुन् उत्तिकै अब्बल फिल्म निर्देशक पनि।  

उनले 'मञ्जरी', 'गाजाबाजा' जस्ता फिल्म बनाएका छन्।

उनको पछिल्लो फिल्म 'गाजाबाजा' एक महिनाअघि युट्युबमा सार्वजनिक भएको छ। फिल्मलाई दर्शकले उत्साहजनक प्रतिक्रिया दिएका छन्। फिल्मको कथा, निर्देशन, कलाकारको मेहनत सबैको तारिफ भइरहेको छ। 

तर, जति सजिलै हामी एक क्लिक गरेर फिल्म 'गाजाबाजा' हेरिरहेका छौँ त्यति सजिलै बनेको भने होइन यो फिल्म। 

फिल्म बनाउने इजाजत नै नपाएको, अदालतले डेढ वर्ष झुलाएको, गणेशका ती अनिँदा रातहरू १ घण्टा २५ मिनेटको फिल्ममा कसरी देखिन्छ?

'...प्रजातन्त्र त्यस्तो राजनीतिक व्यवस्था मात्र होइन जो कुनैलाई कुनै संविधानमा आधारित गरेर त्यसका प्रतिको जवाफदेही समाप्त हुन्छ। प्रजातन्त्र मानौं भावानुकरण हो जसका लागि प्रायः अधिकांश व्यक्तिमा स्वभावतः अनुकूल मिजाज विद्यमान रहन्छ, या अनुकूल शिक्षाद्वारा त्यस्तो मिजाज उसमा जन्माउन सकिन्छ।'

विश्वेश्वरप्रसाद कोइरालाको संस्मरण 'आफ्नो कथा'को यो सानो अंश सुनाउँदै कुरा सुरु भयो।

हाम्रोमा प्रजातन्त्र त आयो २००७ सालमा... 

-मेरो लागि आएको छैन।

हामी अहिले नै डराउनु उचित त होइन तर भोलि गएर पनि हामी खुलेर आउन पाउँछौँ कि पाउँदैनौँ भन्ने एउटा डर हामीलाई छ। मलाई सिस्टमको चित्त नबुझेको कुरा मैले व्यक्त गर्न चाहेँ भने?

चलचित्र विकास बोर्डमा पोलिटिकल नियुक्ति हुन्छ। जुन पार्टीको सञ्चारमन्त्री छ, सेन्सर बोर्डमा त्यही पार्टीको मान्छे राखिएको हुन्छ। जसले उनीहरूको विरोध हुन लागेमा त्यसलाई कन्ट्रोल गर्छन्।

'...प्रजातन्त्र त्यस्तो राजनीतिक व्यवस्था मात्र होइन जो कुनैलाई कुनै संविधानमा आधारित गरेर त्यसका प्रतिको जवाफदेही समाप्त हुन्छ। प्रजातन्त्र मानौं भावानुकरण हो जसका लागि प्रायः अधिकांश व्यक्तिमा स्वभावतः अनुकूल मिजाज विद्यमान रहन्छ, या अनुकूल शिक्षाद्वारा त्यस्तो मिजाज उसमा जन्माउन सकिन्छ।'

त्यसको अर्थ तिमीलाई हाम्रो विरोध गर्ने स्वतन्त्रता छैन संविधानमा लेखिएको मात्र हो भनेको होइन र?

मलाई एरोटिक फिल्म बनाउन मन लाग्यो, लेजवियनको फिल्म बनाउन मन लाग्यो भने ए तँ समाज बिगार्ने? समाजमा यस्तो छँदै छैन भन्दिन्छ। 

किनकि समाजका विकृति बाहिर आउँछन् कि भनेर ऊ डराउँछ। आफू नाङ्गिने डरले उसले अंकुश लगाउँछ। अनि अभिव्यक्ति स्वतन्त्रता हनन् हुन्छ।

हिजो मार्क्सकाे किताब पनि पढ्न पाइँदैनथ्यो। आज त्यो एक हदसम्म खुल्ला भएको छ। तर अंकुश हटेको छैन। स्वरूप मात्र फेरिएको छ।

कुरा त उही हो अलिकति छुट दिए जस्तो गरेर तिमी अर्को अंकुश लगाइरहेका छौ। यो प्रजातन्त्र कसरी हुन सक्छ?

म गाँजा खाऊ भन्न आएको होइन गाँजा नखाऊ भन्न आएको पनि होइन। म त कथा भन्न आएको हो। त्यसको कन्सिक्वेन्सले गर्दा साँच्चिकै समाज बिग्रिएको रहेछ भने मलाई कारवाही गर।

अहिले फिल्म युट्युबमै आयो। लाखौँ मान्छेले हेरे समाज बिग्रियो त

'गाजाबाजा' विकास बोर्ड पुग्दा भएको चाहिँ के थियो?

त्यतिवेलाका बोर्ड अध्यक्षले त चलचित्र बनाउने इजाजत नै दिनुभएन। इजाजत नै नदिनु भनेको त बन्नुभन्दा अगाडि नै उनीहरू डराएको हो नि त!
इजाजत दिइएन तर मैले बनाइरहेँ। 

पछि मुद्दा अदालतमा पुग्यो। हामी डराएनौँ, बनाइरह्यौँ, क्रान्ति नै गर्‍यौं भनम न!

हामीलाई सेटमै आएर त रोकेनन् तर लिगल्ली रोके। त्यसरी रोक्ने बित्तिकै हलसम्म आउने वातावरण बन्दैन। किनकि त्यसलाई सेन्सर पास हुनुपर्‍यो। त्यसको लागि फेरि इजाजतपत्र चाहियो।

अनि त्यसलाई मनिटरिङ गर्ने माथिल्लो निकाय, बोर्डमा भएका अरु सदस्यहरू यो गलत भइरहेको छ भनेर किन बोलेनन्? एउटा व्यक्तिको गलत निर्णयलाई स्वीकारेर बस्ने पनि त सबै गलत भए। इन्टायरली सिस्टम नै गलत भयो।

त्यो निर्णय गर्ने मान्छेलाई त्यहाँ पुर्‍याउनु नै गलत भएन? सिस्टमको इन्टायर पोलिसी मेकिङ नै गलत छ भन्ने यहीँबाट प्रमाणित भयो। 

त्यसको असर कस्तो कस्तो भयो?

त्यो धेरै नै गलत भएको हो। अब म ३ वर्षसम्म सफर भएको क्षतिपूर्ति कसले दिने? म सफर भएँ सकियो तर, त्यो रोक्ने मान्छे, सरकारलाई के भयो? फिल्म त युट्युबमा आइसक्यो। 

मैले आफ्नो भात खाने पैसा त्यो फिल्ममा लगाएको थिएँ। मलाई नरोकेको भए मैले अर्को फिल्म बनाइरहेको हुन्थेँ होला यतिवेला। म चियापसल चलाइरहेको हुने थिइनँ होला।

यो त्यहाँ पुगेको (बोर्डमा/सरकारमा) एउटा व्यक्तिको मानसिकता होइन। यो समाजकै मानसिकता हो। 

त्यसले हामीलाई धेरै कुरामा घाटा भयो। फिल्म पूरा गर्न अर्को मान्छेको सहायता लिनुपर्‍यो। व्यवसाय गर्न नपाएपछि आफ्ने फिल्म नै अर्कोलाई बेच्नु पर्‍यो। जो आफैं करप्ट थिए। संरचना नै यस्तो छ। अनि म कहाँ फिल्म बनाउन जानु? कसको लागि फिल्म बनाउनु?

अर्को फिल्ममा फेरि रोके भने म के गर्नु? कसलाई भन्न जानु, अदालतलाई? अदालतमै प्रोब्लम छ। 

चलचित्र विकास बोर्डले रोक्यो अदालतमा गयौँ, त्यही अदालतले डेढ वर्ष रोक्यो। अनि मैले अदालतमा गएर प्रश्न गरेँ। 

अदालतबाट यस्तो जवाफ पाएँ- 'हाम्रो अदालतमा ९ जना न्यायाधीश हुनुहुन्छ १६ वर्षदेखिका २२ हजार मुद्दा छन्।' 

तर, त्यो मेरो प्रोब्लम होइन नि त। तपाईंहरू त जिम्मेवारी वहन गर्न बस्नु भएको हो नि। काम गर्नुस् न! यो कुरा भन्न लाग्यो भने मलाई बौलाहा भन्छन्। भाइ मिलाएर जा भन्छन्। अब म मिलाएर जानु? म पनि उनीहरूसँगै मिलेर करप्ट हुनु्?

यसरी त आउनुपर्ने कथा, बन्नुपर्ने फिल्म कहिले बन्ने? 

यही कथा बन्नुपर्छ फिल्म नै बन्नुपर्छ भन्ने छैन। संसार चल्नको लागि यी कुराहरू नभए पनि हुन्छ। मैले फिल्म बनाउनै पर्छ, तपाईंले पत्रकारिता गर्नैपर्छ भन्ने कुनै जरूरी छैन। तर गर्न चाहनेले त पाउनुपर्‍यो नि।

मानिलिऊँ मैले समाजको राम्रो अथवा नराम्रो पाटोमाथि फिल्म बनाउन चाहेँ अरे, मैले देखेको ब्युटी अरुले नदेखेको पनि हुन सक्छ। त्यो ब्युटी मैले देखाउन खोजेँ भने उनीहरूले फेरि अंकुश लगाउँछन्।

तर, त्यसो भनेर अहिले डराइहाल्नु पनि भएन। मान्छेमा चेतना आउला, सबै परिवर्तन हुँदै जाला। त्यतिबेला गलत भएको थियो भनेर बुझ्ने मान्छे आउला। आशा गर्न सक्छौँ, आशा गरौँ। 

फिल्म चाहिँ कसरी बनेको थियो? 

हामीले एकदम इन्डी पाराले फिल्म बनाएको हो। हामी आफ्नो तर्फबाट तयार भएपछि सेटमा गएको हो। मैले राम्रो टिमसँग काम गरेको थिएँ। विषय बुझ्ने एक्टरहरू थिए। उनीहरूलाई थाहा थियो, हामी के गर्दैछौँ भनेर। 

मेरो क्यामेराम्यान राम्रो थियो। यो फिल्म कसरी बनाउने भनेर सबैलाई भनेको थिएँ, त्यसैले टाइम लागेन। 

फिल्मको सबै सिन रियल नै सुट गरेको हो। पशुपतिमा भागेको सिन छ। जसरी नेचुरल्ली गाडीहरू आउँछन् त्यसमै गरेको हो। केही सुरक्षा व्यवस्था थिएन।एक्टरहरूले एकदमै रिस्क लिएर काम गरेका हुन्।

चक्कु देखाएर लु्ट्ने एउटा सिन छ। त्यो सिन सुट गर्दा एकजना बच्चीलाई साँच्चिकै जस्तो लागेछ। अनि उनले डराएर पुलिसलाई फोनै गरिछन्।

त्यसपछि पुलिस आयो। हामी फिल्मको सुटिङ गर्दैछौँ भन्यौँ। कसलाई सोधेर गरेको भनेर सोध्नुभयो। अनि हामीसँग इजाजत थिएन। त्यस्ता डिफिकल्टिज धेरै फेस गर्नुपर्‍यो। 

तपाईं आफू चाहिँ गाजाबाजालाई कसरी हेर्नुहुन्छ?

प्रोसेसमा रम्ने हो। अनि त्यो प्रोसेस एकदमै रमाइलो थियो। अरुलाई नलाग्न सक्छ तर, मेरो लागि र मेरो टिमको लागि 'गाजाबाजा' एउटा स्कुल हो। किनभने नो मेकअप नो लाइट साधनस्रोत केही थिएन। लिमिटेड क्रु लिएर त्यसरी फिल्म बनाउनु भनेको सामान्य कुरा थिएन। त्यहाँबाट धेरै कुरा सिकियो।

उदाहरणको लागि यही चियावाला हेर्न सकिन्छ। म टेबल किन्न गएँ एउटा टेबललाई १० हजार भन्यो। मसँग के छ? के राख्दा राम्रो हुन्छ भनेर सोचेँ। अनि यो पुरानो बिग्रेको टिभी राखेँ। यो सबै अन्त काम नलागेका, फालिएका सामान राखेर बनाएको हो। सबैलाई मन पनि पर्‍यो। मैले फिल्म पनि त्यसरी नै बनाएको हो। 

मलाई पपुलर अनुहारसँग मतलब थिएन। केही एक्टरलाई अफर गरेँ, हामी यस्तो फिल्म बनाउँदै छौँ भनेर। कोही पैसाको कारण चित्त नबुझेर फिल्म नखेलेका पनि हुनुहुन्छ। उहाँहरूको पनि स्वतन्त्रता हो, म त्यसलाई रेस्पेक्ट गर्छु।

फेरि मैले अरुलाई गएर रिक्वेस्ट गरेँ। अनुपमलाई भनेँ, रविनलाई भनेँ, सुशीललाई भनेँ। गोपाललाई भनेँ, ऊ थिएटरको राम्रो एक्टर हो। ऊ आएर एउटा सिन खेलिदियो।

त्यहाँ पैसाको कुरा आएन। त्यहाँ मोटिभ ठिक थियो।

मसँग जे क्षमता छ, जे स्रोत साधन छ, त्यसलाई सदुपयोग गरेर कसरी राम्रो काम निकाल्न सकिन्छ भनेर काम गर्दा 'गाजाबाजा' बन्यो। 

मसँग ३ आना जग्गा थियो, त्यसलाई कसरी एउटा ब्युटिफुल प्लेस बनाउन सक्छु भन्दा चियावाला बन्यो। १० आना थियो भने त्यसमै गर्थेँ, त्यहाँ अर्कै चिज बन्थ्यो होला।

'गाजाबाजा'को बेलामा हामी घरबाट खानेकुरा लैजान्थ्यौँ। कहिले केरा खाएर काम गर्थ्यौँ। हामीसँग सेटमा कुर्सी हुन्थेन। गाडी थिएन। जे थियो त्यसलाई लिएर फिल्म बनायौँ। 

आउने पुस्ता जोसँग काम गर्ने चाहना छ, क्षमता छ तर, उसको क्षमतामाथि विश्वास लाग्दैन भने उसँग जे छ त्यसबाट पनि काम हुन सक्छ भन्ने एउटा गुड एक्जाम्पल 'गाजाबाजा' हुन सक्छ। 

यही रिसोर्समा अर्कोे कसैले अझ राम्रो कुरा बनाउन सक्थ्यो होला। यही २ आना जग्गामा अझ ब्युटिफुल प्लेस बनाउला। मेरो जति क्षमता थियो मैले त्यति गरेँ।

'गाजाबाजा'बाट हामीले सिस्टमको विरोध नै गरेका हौँ। विरोध गर्ने शैली फरक फरक हुन सक्छ। कुमार नगरकोटी दाइले कविता लेखेर गर्नुहुन्छ मैले फिल्म बनाएर गरेँ। 

फिल्ममा एउटा सिन छ, टिभीमा सुशील कोइरालाले ठूला-ठूला कुरा गरिरहनुभएको छ। केटाहरूले फन बनाइरहेका छन्। त्यो मैले बनाएको फन हो।

एउटा डाइलग छ- नेपालको प्रधानमन्त्री त नेपाली गाडी चढेर पपुलर भएको वाला होइन र? भन्ने, उनीहरूको संकेत टिभीमा देखिएका प्रधानमन्त्रीतर्फ छ।  उनीहरूलाई प्रधानमन्त्रीको नाम थाहा छैन तर, बाबुराम भट्टराईले नेपाली गाडी चढेर पपुलर भएको चाहिँ थाहा छ। उनले राम्रो काम गरेर पपुलर भएको थाहा छैन। किनकि गरेकै छैन। 

बाटोमा भएको खाल्डोमा परेर लडेको सिनमा ढ्वाङ पुरौँ भनेर लेखेको छ। तिमीले मलाई धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भनेर लेख्न लगाएका छौ भने तिमी त्यो बाटोको ढ्वाङ पनि पुर न। 

मेरो पैसा मेरो फोक्सो तिमी मलाई चेतना दिन बसिरहेका छौ, तर तिमीले चाहिँ आफ्नो काम गरिरहेको छैनौ।

फिल्ममा गाँजा खा'को फन्टुस मान्छे लड्यो भनेर भयो र? जो पनि लड्न सक्छ।

एउटा केटीले आफ्नो घरको फोहोर अर्काको घरमा लगेर फालिरा'छ। किन फालिरा'छ? किनकि फोहोर उठाउने गाडी टाइममा आ'को छैन। अनि हामी अर्काको घर फोहोर पार्न गइरा'छौँ। 

यो फिल्ममा मेरो स्टेटमेन्ट त्यो हो। फिल्म हेरेर यसरी कसैले लेखेको थाहा छैन। 

अब तपाईंको नयाँ फिल्म कहिले आउला?

मलाई सिस्टमसँग, यो सिस्टम बनाउने गलत मान्छेहरूसँग प्रोब्लम छ। म त्यसको विरोध गर्न पनि चाहन्छु। तर म बन्दुक लिएर लड्न जाने फाइटर त होइन। मैले गर्ने भनेको फिल्मबाटै हो। 

त्यो निस्किँदा हिजो त्यस्तो नराम्ररी उकुसमुकुस हुने गरी मलाई गाह्रो बनाइदिएका थिए। म निकास नै नभेट्ने अवस्थामा पुगेको थिएँ। भोलि फेरि त्यही अवस्था आयो भने?

मलाई कताकता म फेरि सफर हुन्छु कि भन्ने डर छ। डराएर अब गर्दै नगर्ने होइन, म गर्छु। तर सफर हुनको लागि मात्र किन गर्ने भन्ने कुरा मात्रै हो। बिरामी हुनुभन्दा त बरु फिल्म नै नबनाए भयो।

चियावालाचाहिँ 'गाजाबाजा' पछि नै बन्यो?

मैले 'गाजाबाजा' बनाउनको लागि एक जनासँग ऋण लिएको थिएँ। मलाई फिल्म बनाउनुसँग मतलब थियो। यसबाट ठूलो आशा पनि थिएन। फिल्मले जति कमाउँछ त्यसले लोन तिरौँला भन्ने थियो। 

हिजोको दिनमा मसँग गुमाउनका लागि धेरै कुरा थिएन। मलाई आर या पार चाहिएको थियो। मैले 'गाजाबाजा' बनाएँ।

त्यतिबेलाका घटनाहरूले मलाई मेन्टल्ली नै डिस्टर्ब गरे।

तिमी गलत छौ अनि मलाई गलत प्रमाणित गरेर बसिरहेका छौ। तिमी आफ्नो नाङ्गोपन छोप्नका लागि मलाई युज गरिरहेका छौ। तिमी मोज गरिरहेका छौ म सफर भइरहेको छु।

साँझ चामल कहाँबाट लाने छोराको फी कसरी तिर्ने भनेर म सफर भइरहेको छु। भात खानको लागि लोन माथि लोन थप्दैछु। 

मैले, अनि मेरो बाउले नै तिरेको ट्याक्सको पैसाले तिमी सरकारी गाडी चढेर हिँडिरा'छौ। त्यो बेला मलाई कस्तो हुन्छ होला? 

हरेक दिन रिस उठ्थ्यो। सुत्न सक्दिनथेँ। म बौलाउँथेँ। मेरो परिवारले, यहाँसम्म कि मेरो घरको भित्ताले समेत त्यो रिस फिल गर्थ्यो। त्यत्रो दुःख यो सफर हुनका लागि मात्र गरेको जस्तो भयो। त्यसले मलाई असह्य पीडा भयो। त्यसबाट कसरी मुक्त हुने भनेर सोचिराख्थेँ।

मैले अर्को फिल्म बनाउनु पर्थ्यो कि, म क्रान्तिकारी नै हुनुपर्थ्यो कि या मैले परिवारको लागि खानेकुराको व्यवस्था गर्नुपर्थ्यो। बच्चाहरूको स्कुलबाट फोन आएको छ- फि तिर्नुपर्‍यो भनेर अनि मै कसरी फिल्म बनाउन सक्छु?

तर, मैले केही न केही त गर्नुपर्ने थियो। मैले जानेको अर्को काम यो थियो, चिया बनाउन। अनि चियावाला सुरु गरेँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.