|

काठमाडौं : मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि राष्ट्रिय लिग उपाधिको दावेदार थ्रि स्टार क्लब फ्रेन्ड्स क्लबसँग पराजित हुनबाट जोगिएको छ।

सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) भएको पहिलो खेलमा एक गोलले पछि परेको थ्रि स्टारले गोल गरेपछि ललितपुर डर्बिमा हार्नबाट जोगिएको हो।

दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

दोस्रो चरणको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएको थ्रि स्टारविरुद्ध फ्रेन्ड्सले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो।

गोल गर्न असफल रहेको थ्रि स्टार दबाबमा परेका बेला फ्रेन्ड्सले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्दै झन् दबाब दिएको थियो।

५१औं मिनेटमा नाथानियल जुडे गार्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए।

कप्तान प्रकाश बुढाथोकीको क्रस सदुपयोग गर्दै जाली चुमाउँदै बलियो टोलीविरुद्ध फ्रेन्डसका गार्सियाले अग्रता दिलाएका थिए।

गोल खाएपछि अत्यन्त दबाबमा परेको थ्रि स्टारले काउन्टर अट्याक गरेर फ्रेन्ड्सलाई दबाबमा राखेको थियो।

कप्तान प्रकाश बुढाथोकी चोटग्रस्त हुँदै उपचारका लागि बाहिरिएको अवस्थामा थोरै खेलाडी भएको फाइदा उठाउँदै थ्रि स्टारले बराबरी गोल फर्काउन सफल भयो।

८३औं मिनेटमा हेमन्त थापामगरको चलाखीपूर्ण पासमा ऋतिक खड्काले दिएको क्रसलाई मिक्चेन तामाङले गोल गर्दै थ्रि स्टारलाई १–१ गोलको बराबरीमा ल्याए र उक्त नतिजा नै निर्णायक बन्यो।

त्यसपछि पनि स्पष्ट अंकका लागि प्रयास गरे पनि थ्रि स्टारले खेल जित्न सकेन।

बराबरीपछि थ्रि स्टारले ३ खेलबाट ४ अंक जोडेको छ।

समान ३ खेल खेलेको फ्रेन्ड्सको २ अंक भएको छ।

यसअघि पहिलो खेलमा थ्रि स्टारले च्यासललाई ३–० ले पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.