राष्ट्रपतिबाट उद्घाटन गरिने

|

काठमाडौं : ऐतिहासिक काष्ठमण्डप एउटै जातको काठ प्रयोग गरेर पुनर्निर्माण भएको छ। एउटै रूखको काठबाट काष्ठमण्डप बनेको इतिहास रहे पनि यसपटक पुनर्निर्माणमा परिवर्तन भएको हो।

पुनर्निर्माणको काम पनि अन्तिम चरणमा पुगेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ।

शुक्रबार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजेश शाक्यले काष्ठमण्डपका सबै भित्री काम सकिएको र बाहिरका केही काम मात्र बाँकी रहेको बताए।

उनका अनुसार एउटै रूखको काठबाट काष्ठमण्डप बनेको इतिहास रहे पनि अब एउटै जातको काठबाट बनेको काष्ठमण्डप भन्न सकिनेछ।

उनले भने, ‘पहिला एउटै रूखको काठबाट बनेको सुनिन्छ तर त्यो सम्भव नै भएन। तैपनि एउटै जातको (सालको) काठ प्रयोग गरिएको छ।’

उनका अनुसार महोत्तरी, कञ्चनपुरलगायत जिल्लाबाट काठ ल्याइएको छ।

करिब १५ प्रतिशत पुनः प्रयोग गर्न मिल्ने पुराना काठ प्रयोग गरेको उनले बताए।

उनले भने, ‘कहिले उद्घाटन गर्ने भनि तिथिमिति हेर्न थालेका छौँ। छिट्टै राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउने तयारी गरेका छौँ।’ 

०७२ साल वैशाख १२ गतेको भूकम्पले काष्ठमण्डपमा क्षति पुर्‍याएको थियो। क्षति पुगेको ३ वर्षपछि पुनर्निर्माण लागि ०७५ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शताब्दी पुरुष सत्यमोहन जोशीले संयुक्त शिलान्यास गरेका थिए।

समितिका सचिव गौतम डंगोलका अनुसार महानगरपालिकाले निर्माण गर्न ११ करोड ५० लाख रूपैयाँ दिएको थियो।

उक्त रकम राखिएको बैंकबाट करिब २५ लाख रूपैयाँ ब्याज समितिले पाएको थियो।

जसमा प्रशासनिक खर्च ५५ लाख २१ हजार १ सय १७ रूपैयाँ भएको छ भने काष्ठमण्डप निर्माणमा १० करोड ८७ लाख ४७ हजार ८ सय ८ रूपैयाँ खर्च भएको जानकारी उनले दिए।

समितिका अनुसार विभिन्न जिल्लाबाट करिब ९ हजार २ सय २४ क्युबिक फिट काठ प्राप्त भएको छ।

मौलिक स्वरूपमै बन्यो काष्ठमण्डप

वास्तुविद् सुदर्शन तिवारीले मौलिक स्वरूपमा काष्ठमण्डप बनेको बताए।

‘अध्ययन गरेर पुरानो काठ प्रयोग गरेका छौँ। यसमा कुनै पनि विदेशी सामग्री प्रयोग भएको छैन’, उनले भने।

पुरातत्त्वविद् एवं पुरातत्त्व विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्यले पनि पहिला प्रयोग गरिएका वस्तु नै प्रयोग गरी काष्ठमण्डप ठडिएको बताए।

‘विज्ञहरूको नियमित सहभागिताले हामीले अहिले यो रूपको काष्ठमण्डप देख्न पाएका छौँ’, उनले भने। काष्ठमण्डपजस्तै भूकम्पले क्षतिग्रस्त बनाएका अन्य सम्पदा पनि पुनर्निर्माण गर्नुपर्ने आवश्यक रहेको बताए।

काष्ठमण्डप सातौँ शताब्दीमा लक्ष्मीनरसिंह मल्लले निर्माण गर्न लगाएका हुन् भन्ने उल्लेख भएको पाइन्छ भने बिसेत नाम गरेका व्यक्तिले निर्माण गरेको श्रुति भेटिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.