|

विराटनगर : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को अधिवेशनले यतिबेला विराटनगरमा चहलपहल बढेको छ।

त्यसमा पनि कार्यक्रमस्थलमा अधिवेशनको मौकामा त्यहाँका स्थानीय, व्यापारी चियानास्ता व्यापारमा व्यस्त छन् भने सधैं घरदैलोमा लुगाकपडा बोकेर व्यापारका लागि हिँड्ने जुम्लाका व्यापारीसमेत कार्यक्रमस्थलमा कपडा बेच्न व्यस्त देखिन्थे।

‘आयो हजुर कांग्रेस आस्कोट, मात्र एक हजार रूपैयाँमा,’ कोट देखाउँदै घरिघरि माइकको आवाजलाई पनि उछिन्दै कराउँदै थिए एक व्यापारी। उनी थिए- जुम्लाका खकबर खत्री।

उनी जाडो छल्दै  व्यापार गर्न विराटनगर आएका रहेछन्। सँधैजस्तो हुँदो हो त यतिवेला खकबर विराटनगरका गल्ली गल्ली र बजारमा आस्कोटको विज्ञापन र व्यापार गर्दै कराउँदै हिँड्नु पर्थ्यो। तर, कांग्रेस अधिवेशनले व्यापार केही सहज भएको उनले सुनाए।

अरु समय २ देखि ३ हजारको व्यापार गर्ने उनले आज (शुक्रबार) एकै दिन ४ हजारको व्यापार गरेको उनले बताए।

‘अरु वेला हातमा बोकेर बजार, गल्ली कराउँदै हिँड्नुपर्ने हुन्थ्यो, आज त्यसरी हिँड्नुपरेको छैन,’ उनले भने, ‘आज त एकै दिनमा ४ हजारको व्यापार भयो।’

उनको छेवैमा व्यापार गर्दै बसेका एकेन्द्र साहीले पनि बिहानै ३ हजारको व्यापार गरेको सुनाए। उनको पनि आस्कोट व्यापार थियो।

उनीहरू हिँउदभर व्यापारका लागि तराईका विभिन्न जिल्ला घुम्ने र बर्खा लागेसँगै खेतीपातीका लागि गाउँ फर्किने गरेको एकेन्द्रले बताए।

यता विराटनगर-२ का अनिल सिंह दम्पती अधिवेशनको मौकामा चियानास्ताको स्टल सुरु गरेको बताउँछन्।

घरमा यत्तिकै बस्नुभन्दा दुई पैसा भए पनि आम्दानी हुने भएकाले चियानास्ता राखेको अनिल बताउँछन्।

‘सबैले व्यापार गरिरहेका छन्, घरमा यत्तिकै बस्नुभन्दा अधिवेशनमा आएकाले चियानास्ता खानुहुन्छ,’ उनले भने, ‘एकदुई पैसा भए पनि आउँछ भनेर आजैदेखि पसल रोखको हो।’

महाधिवेशनको चहलपहलका वेला चम्किएको व्यापार तस्वीरमाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.