|

काठमाडौं : मार्टिन्स अजयीले ह्याट्रिक गरेपछि सातदोबाटो युथ क्लबले एपिएफमाथि ४-१ को प्रभावशाली जित निकालेको छ।

काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा ए डिभिजन लिगको नवप्रवेशी सातदोबाटोले रवाफिलो प्रदर्शन गर्‍यो। जितसँगै सातदोबाटो लिगमा अपराजित रहँदै अंक तालिकाको शीर्षमा उक्लियो।

पहिलो हाफको अन्तिम समयमा मार्टिन्स चम्किंदा सातदोबाटोले गोलको खडेरी तोडेको थियो।

मार्टिन्सले ४२ औं मिनेटमा पहिलो तथा पहिलो हाफको अतिरिक्त समयमा दोस्रो गोल गरेका थिए।

खेलमा सातदोबाटोले ४२ औं मिनेटको दोस्रो गोलसँगै खेलमा अग्रता बनाउन सफल भएको थियो।

मानबहादुर तामाङको फ्रि किक डिफेन्डरबाट डिफ्लेक्ट भएर अनमार्क मार्टिन्सको अगाडि पुगेको बललाई उनले कुनै गल्ती नगरि पोस्टको दिशा दिएका थिए।

पहिलो हाफको अतिरिक्त समयमा आकर्षक हेडमार्फत व्यक्तिगत तथा टिमका लागि उनले दोस्रो गोल गरे।

दोस्रो हाफको सुरूवातमा नै एपिएफले आत्मघाती गोलमार्फत खेललाई २-१ मा ल्यायो।

४८ औं मिनेटमा आशिष लामाको प्रहार विक्की तामाङसँग डिफ्लेक्ट हुँदै आत्मघाती गोलमा परिणत भएको थियो।

तर, सातदोबाटो दोस्रो हाफमा पनि आफ्नो उत्कृष्ट लय कायम राख्दै गोल संख्या बढायो।

५० औं मिनेटमा सुशील राईले टिमका लागि तेस्रो गोल गरे।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका मार्टिन्सले ५८ औं मिनेटमा ह्याट्रिक पूरा गर्दै टीमलाई ४-१ मा पुर्‍याए। उनी जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडीसमेत बने।

जितपछि सातदोबाटो ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।

एपिएफको भने यो लगातार तेस्रो हार हो। लगातारको हारसँगै एपिएफ अंक तालिकाको पुछारमा झरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.