|
बाढीले बगाएको मेची खोलामा रहेको बिजुलीको पोल।

 झापा : स्थानीय सरकारले निकै तामझामका साथ मेचीनगर नगरपालिका–१५ मेचीपारिको ग्वालबस्तीमा बिजुली बलेको कार्यक्रम उद्घाटन गरेको थियो।

२०७७ चैत ७ गते नगरपालिकाका मेयर विमल आचार्य र उपमेयर मीना पोखरेल (उप्रेती)ले संयुक्त रूपमा स्विच थिचेर बिजुली बालेका थिए। पहिलो पटक बिजुली पुगेपछि त्यहाँका बासिन्दा हर्षित भएका थिए।

नगरपालिकाले उनीहरूलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको थियो तर ग्वालबस्तीका बासिन्दाको त्यो खुसी धेरै दिन रहेन। अहिले ग्वालबस्तीका बासिन्दा फेरि अँध्यारोमा रात कटाउन बाध्य छन्।

चैत ७ गते बिजुली बालेर उद्घाटन गरिए पनि वैशाखदेखि पूरै ग्वालबस्तीमा बिजुली पुगेको थियो। जेठबाट त्यहाँ बत्ती बल्न शुरु भयो तर करिब ३ महिना (जेठ, असार, साउन) मात्र बिजुली बाल्न पाएको ग्वालबस्ती टोल विकास संस्थाका अध्यक्ष अमल यादवले बताए।

स्थानीय सरकार तथा विद्युत् प्राधिकरणको लापरबाही र हेलचक्राइँका कारण गाउँमा बिजुली बलेको तीन महिना नपुग्दै मेची खोलामा आएको बाढीले बिजुलीको पोल बगाउँदा सेवा रोकिएको हो।

प्राधिकरणका कर्मचारीले नदीमा बिजुलीको पोल राम्ररी नगाडेका कारण बाढीले पोल बगाएर लगेको अध्यक्ष यादवको भनाइ छ।

२० वर्ष अघिदेखि गाउँमा बिजुली बत्ती चाहिन्छ भनेर यहाँका बासिन्दाले आवाज उठाउँदै आएका थिए।

‘बल्ल बल्ल गाउँमा बिजुली आयो, तैपनि बल्न छाड्यो’, उनले भने। बाढीले पोल बगाएको पनि धेरै दिन बितिसक्यो।

उनले भने, ‘अहिलेसम्म न त स्थानीय सरकारका जनप्रतिनिधिले, न त प्राधिकरणका कर्मचारीले चासो देखाए।’

‘घाम ढल्नासाथ खाना खाइसक्नु पर्ने बाध्यता छ’, स्थानीय सङ्गीता यादवले भनिन्, ‘मट्टितेल पनि पाइँदैन, पाइए पनि महँगोमा किन्नुपर्छ। यहाँका जनताले वर्षौँदेखि भोग्दै आएको सास्ती जस्ताको त्यस्तै छ।’

शिक्षा, स्वास्थ्य र यातायातलगायतका विकासको पूर्वाधार नपुगेका ती गाउँमा रात परेपछि टुकी र लालटिन बाल्नुपर्ने बाध्यता छ। केही घरमा सौर्य बिजुली जडान गरिएको छ।​

गाउँमा बिजुली नबलेको प्राधिकरणलाई जानकारी छैन : इन्जिनियर

यता नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्र इन्जिनियर तथा सूचना अधिकारी नरेन्द्रकुमार साहले ग्वालबस्तीमा बिजुली अवरुद्ध भएको बारेमा कार्यालयलाई कुनै जानकारी नआएको बताए।

बाढीले पोल बगाएको हो तर बिजुली नै अवरुद्ध भएको विषयमा त्यहाँका बासिन्दाले अहिलेसम्म जानकारी नगराएको इन्जिनियर साहको भनाइ छ।

‘पत्रकारले जानकारी गराउँदा मात्र समस्याको विषयमा थाहा भयो’, उनले भने, ‘केन्द्र प्रमुख धीरेन्द्रकुमार यादव बिदामा जानुभयो र उहाँ आउनासाथ यो विषयमा जानकारी गराई समस्याको समाधान गर्छौँ।’

अस्थायी रूपमा नदीमा पोल राख्दा समस्या आएको हो। यसका लागि केन्द्रले टेन्डर प्रक्रियामार्फत गाउँमा बिजुली पुर्‍याएको भए समस्या आउँदैनथ्यो।

अब प्राधिकरणसँग बजेट मागेर टेन्डर प्रक्रियामार्फत बिजुली पुर्‍याउने विषयमा सक्दो पहल गरिने उनले बताए।

मेचीपारि नेपाली भूमिमा बसोवास गर्दै आएका त्यहाँका बासिन्दाले आफूहरूलाई राज्यले उपेक्षा गर्दै आएको आरोप समेत लगाएका छन्।

मेचीनगर नगरपालिकामा पर्ने मेची नदीपारि ग्वालबस्तीमा, सिसौडाँगी र झाडुबस्तीमा करिब १५० घरपरिवार बसोवास गर्दै आएका छन्।

आर्थिक अवस्था कमजोर भएका आदिवासी र तराई समुदायको बाक्लो बसोवास छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.