|

इलाम : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जनताको चाहनाअनुसार पहिचानको आधारमा प्रदेशको नाम राखिने बताएका छन्।

इलामको माङसेबुङमा किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आङ्बोले आफू पहिलेदेखि नै किरात प्रदेशको पक्षमा रहेको उल्लेख गर्दै प्रदेश १ लाई पहिचानको आधारमा नाम दिने बताएका हुन्।

‘तत्कालका लागि यो प्रदेशको नाम किरात नै उपयुक्त हुन्छ’, मन्त्री आङबोले भने, ‘गठबन्धन सरकार समेत पहिचानको आधारमा प्रदेश नामकरण गर्न तयार छ। हामी आपसी छलफल र सहमतिमा नाम टुंग्याउँछौं।’

उनले प्रमुख प्रतिपक्षी दलले सहयोग गरे प्रदेशको नाम राख्न सहज हुने आशा व्यक्त गरे। ‘यदि एक समूहले सरकारदेखि सडकसम्म पुगेको बदलाको भावना नलिए प्रदेशको नामकरण गर्न सहज हुनेछ।’

नेकपा एमालेलाई लक्षित गर्दै उनले भने– ‘उहाँहरूलाई ज्ञान प्राप्त होस्, हामी जनताको जनवादभन्दा बाहिर जानु हुँदैन र जनचाहनाभन्दा बाहिर पनि जानु हुँदैन भन्ने सद्‌बुद्धि आजको दिनबाट प्राप्त भए गठबन्धन सरकार पहिचानको आधारमा प्रदेशको नामकरण गर्न तयार रहेको छ।’

आङ्बोले किरात धर्मगुरु आत्मानन्द लिङदेनले माङसेबुङ र किरात धर्मलाई विश्वमा चिनाएको उल्लेख गर्दै थप विकासका लागि प्रदेश सरकारबाट कोसिस गर्ने प्रतिबद्धता समेत जनाए।

कार्यक्रममा प्रदेश सभा सदस्य धीरेन्द्र शर्मा ‘रमण’ लगायत विभिन्न राजनीतिक दलका नेताहरु, स्थानीय तहका प्रमुखहरु, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, साधुसन्त लगायत किरात धर्मावलम्बी उपस्थित थिए।

धर्मगुरुको जन्मोत्सव मनाउन विभिन्न देशबाट किरात धर्मावलम्बी माङसेबुङ आएका छन्। किरात धर्मावलम्बीको आस्थाको केन्द्र माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा वर्षेनि राज्यका विशिष्ट व्यक्तित्व उपस्थित हुने गर्छन्।

जन्मोत्सवमा यसअघि पूर्व राजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वराष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत माङसेबुङ आइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.