|

काठमाडौं : स्पेनिस ला-लिगा फुटबलमा जाभिको प्रशिक्षणमा बार्सिलोनाले पहिलो हार भोगेको छ।

उपाधि अभियानमा अघि बढेको रियल म्याड्रिडले भने अग्रता फराकिलो बनाउँदै लगेको छ। अर्को उपाधि दाबेदार मानिएको एट्लेटिको म्याड्रिड पनि पराजित भएको छ। बार्सिलोना घरेलु मैदानमा रियल बेटिससँग १-० ले स्तब्ध बन्यो।

बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई स्तब्ध पार्न जुआनमीले दोस्रो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो। उनले ७९औं मिनेटमा क्रिस्टियन टेलोको पासलाई सदुपयोग गरेका थिए। जाभी हर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले पहिलो हार बेहोरेको हो।​

जाभीको प्रशिक्षणमा बार्सिलोनाले चार खेल खेल्दा दुई जित, एक बराबरी र हारको नतिजा निकालेको छ। ला लिगामा स्पान्योल र भिल्लारियललाई हराएको बार्सिलोनाले च्याम्पियन्स लिगमा बेन्फिकासँग गोलरहित बराबरी खेलेको थियो।

हारसँगै बार्सिलोना १५ खेलबाट २३ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ। बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग १६ अंकले पछि परिसकेको छ। बार्सिलोनाले एक खेल कम खेलेको छ । बार्सिलोनालाई हराएको रियल बेटिस ३० अंक जोडेर तेस्रो स्थामा उक्लिएको छ। 

गएराति नै भएको खेलमा रियल म्याड्रिडले रियल साेसिडाडलाई २-१ ले हरायो।  

अर्को खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा एट्लेटिको रियल मलोर्कासँग २–१ ले स्तब्ध बनेको छ। घरेलु टोलीका म्याथिअस कुन्हाले गोल गर्दा मलोर्काका फ्रान्को रुस्सो र ताकेफुसा कुवोले गोल गरेका थिए।

एट्लेटिकोले ६८औं मिनेटमा म्याथिअस कुन्हाको गोलबाट अग्रता लिएको थियो। उनले एन्जल कोरेआको पासमा गोल गरेका थिए। ८०औं मिनेटमा फ्रान्को रुस्सोले काङ इन लिको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट ताकेफुसा कुवोले एन्जल रोड्रिग्वेजको पासमा गोल गर्दै एट्लेटिकोलाई स्तब्ध पारे।

यो जितसँगै मलोर्का १९ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । पराजित एट्लेटिको १९ अंक जोडेर चौथो स्थानमा झरेको छ।

यस्तै अर्को खेलमा सेभियाले भिल्लारियललाई १–० ले तथा ग्रानडाले डिपोर्टिभो एलाभेसलाई २–१ ले पराजित गरेको छ। जितसँग सेभिया १५ खेलबाट ३१ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। पराजित भिल्लारियल १६ अंक जोडेर १३औं स्थानमा छ। ग्रानडा १५औं र एलाभेस १६औं स्थानमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.