|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई अरूको भन्दा फरक ढंगले नेतृत्व दिने दाबी गरेका छन्। आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी गरेका हुन्।

उनले पार्टीलाई सही दिशा दिन र नेता, कार्यकर्ताको शिर झुक्न नदिने बताउँदै अरु नेतृत्व जस्तै रहेछ भन्ने मौका नदिने बताए। नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न, माला र खादा लगाइदिन र मूर्दावाद र जिन्दावादको नारा लगाउन आवश्यक नरहेको बताए।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीलाई विगतको जस्तो गतिहीन र निष्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै पार्टीलाई मात्र नभई पार्टीका मुद्दालाई जोड दिने बताए।

​उनले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरु नहुने समेत दाबी गरे। नवनिर्वाचित अध्यक्ष लिङ्देनले अब पार्टीका नेता, कार्यकर्ताले कोही एक व्यक्तिको नामबाट नभई राप्रपाको कार्यकर्ता भएर भोट माग्न जान पाउने बताए।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले भने, ‘हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हिजोको दिनको जस्तै गतिहीन र निष्क्रिय, बनाएर लैजाने छुट हामीलाई छैन। त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मात्र होइन, त्योभन्दा बढी यसको मुद्दालाई समाप्त हुन नदिनको लागि हामीले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तनलाई लिएका हौँ। आज हामी अनेक समस्याका बाबजुद यो काममा सफल भएका छौँ।’

नवनिर्वाचित अध्यक्ष लिङ्देनले नेपालको राजनीतिमा स्थापित नेतृत्वसँग प्रतिष्पर्धा गरेर राप्रपाको नेतृत्व परिवर्तन गर्नु सानो कुरा नभएको बताए। उनले नेतृत्व परिवर्तन नगरी देश विकास हुँदैन भन्ने कुरामा मात्रै सीमित रहेका देशका ठूला राजनीतिक पार्टी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेका पुस्तान्तरणका कुरा गर्नेहरुलाई अब राप्रपाले नेतृत्व गर्ने बताए।

नव निर्वाचित अध्यक्ष लिङ्देनले नेकपा माओवादीले परिवर्तनको नाममा १० वर्ष ध्वंसात्मक गतिविधि सञ्चालन गरेर पुरानो भत्काउने नयाँ बनाउने भने पनि नयाँ योजना नै बनाउन नसकेको आरोप लगाउँदै अब राप्रपाले पुरानोलाई निरन्तरता दिँदै सिर्जनात्मक तरिकाले देशको विकास गर्ने बताए।

आइतबार बिहान सम्पन्न मतपरिणाममा पार्टीका निःवर्तमान अध्यक्ष कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन पार्टीको अध्यक्ष बनेका हुन्। निःवर्तमान अध्यक्ष थापाले १ हजार ६ सय १७ र लिङ्देनले १ हजार ८ सय ४४ मत प्राप्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.