|

धनगढी : सुदूरपश्चिम नेपाली कांग्रेसका प्रथम निर्वाचित सभापति वीरबहादुर बलायरले पार्टीलाई अझै बलियो र एकढिक्का बनाएर लैजाने बताएका छन्।

पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बलायरले पार्टीमा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै एकढिक्का बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन्।

‘नेतृत्व चयनका लागि हुने निर्वाचन नै हाम्रो पार्टीको आन्तरिक लोकतन्त्र हो। यसमा हामी कसैले पनि अन्यथा लिनु आवश्यक छैन,’ बलायरले भने, ‘पार्टी पंक्तिलाई मिलाएर एकढिक्का बनाएर लैजाने कुरामा म प्रतिबद्ध छु। कार्यकर्ताबीच सहिष्णुता कायम हुनुपर्छ। आपसमा विवाद गर्नु आवश्यक छैन।’

यस्तै, उनले नजिकै आउन लागेको अद्यावधिक निर्वाचनलाई ध्यानमा राखेर सुदूरपश्चिममा पनि तीव्र तयारीमा लाग्नुपर्ने बताए।

अहिले फरक धारमा देखिएका नेताहरुलाई समेत मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘काम गर्न चाहने साथीहरुलाई पार्टीभित्र अवसर दिने हो। आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो। अब सबै मिलेर अगामी चुनावमा जान्छौँ।’

आइतबार सम्पन्न मतपरिणाम अनुसार प्रतिद्वन्द्वी नारायणदत्त मिश्रलाई फराकिलो मत अन्तरले पराजित गर्दै बलायर सुदूरपश्चिम प्रदेशको पहिलो सभापतिका रुपमा निर्वाचित भएका हुन्। बलायरले छ सय ८८ मत ल्याउँदा प्रतिद्वन्द्वी  मिश्रले दुई सय ८० मत प्राप्त गरेका थिए।

२०७० सालको संविधानसभा निर्वाचनमा डोटीबाट सांसदमा विजयी भएका बलायर शेरबहादुर देउवा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका थिए। बलायर सुदूरपश्चिम प्रदेशको पहिलो सभापति बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.