कलेज जीर्ण बन्दा विद्यार्थीलाई पढ्न सकस

|
जीर्ण अवस्थामा रहेको देशकै जेठो त्रिचन्द्र कलेज

काठमाडौं  : नेपालको पहिलो उच्च शिक्षा दिने संस्था हो त्रिचन्द्र कलेज। यसको स्थापना भएपछि नै नेपालमा विधिवत् रूपमा उच्च शिक्षा आरम्भ भएको इतिहास छ। तर हाल संरक्षण अभावले अहिले यो जीर्ण बनेको छ। 

भवनमा झार उम्रिएको छ। वरिपरि झारले ढाक्न थालेको छ। २०७२ को भूकम्पले कतै भवन चर्किएको छ भने कतै भत्किसकेको छ। कलेजसँगै टाँसिएकाे ऐतिहासिक घण्टाघरकाे पनि हालत त्यही अवस्थामा छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०७२ मा बनेको राष्ट्रिय पुनर्निर्माण तथा पुन:स्थापना नीतिमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्षतिग्रस्त केन्द्रीय प्रशासनिक भवन र केन्द्रीय पुस्तकालय भवनको विस्तृत प्राविधिक परीक्षण गरि पुनर्निर्माण तथा मर्मत सम्भार गरिने उल्लेख गरिएको थियो।

तर प्राधिकरणको म्याद सकिँदा पनि कलेज पुनर्निर्माण हुन सकेन। प्राधिकरणको ६ वर्ष नापजाँचमा मात्रै सीमित भयो। गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसद्‌मा पेश गर्दै मुलुकको सबैभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्न प्रबन्ध गरिने बताएका थिए। यद्यपि घोषणा भएको तीन महिनामा पनि केही देखिने काम भएको छैन।

पानी चुहिन्छ, विद्यार्थीलाई पढ्न सकस 

अनेरास्ववियू त्रिचन्द्र क्याम्पस कमिटीका अध्यक्ष सुनिल कँडेल त्रासमा विद्यार्थी पढ्न बाध्य रहेको बताउँछन्। उनले भने, ‘कलेज जीर्ण बन्दै जाँदा बस्ने ठाउँको अभाव छ। त्यसैले अन्तिममा आउने विद्यार्थीले बस्ने बेन्च पाउँदैन। हामीले पटक–पटक कलेज र सरकारलाई समस्याबारे ध्यानाकर्षण गर्दा पनि कुनै माग सुनुवाइ भएन।’ 

उनका अनुसार कलेजमा करिब १० हजार विद्यार्थी अध्ययनरत छन्। ‘कलेज वरिपरि खाली ठाउँ छ। त्यहाँ टहरा बनाएर पढाउने भनिएको पनि थियो तर बनेन’‚ उनले भने। वर्षातको समयमा भवनमा पानी चुहिएकाले पठनपाठन नै प्रभावित हुने गरेको उनले बताए।

‘पहिला नै प्राधिकरणले पुनर्निर्माण गर्ने भनेको थियो, बनाएन’‚ उनले भने, ‘टहरा मात्रै बनेको भए पनि हामीलाई पढ्न सहज हुन्थ्यो। वर्षातको समयमा झनै समस्या हुन्छ।’ सोही कलेजमा अध्ययनरत सन्दीप गैह्रेका अनुसार त्यही जीर्ण कलेजमा भूगर्भशास्त्र, तथ्यांक शास्त्र, मनोविज्ञान, जल विज्ञान र  भूगोलको अध्ययन हुन्छ।

उनले संरचना समयमा नबन्दा पठनपाठनमा समस्या भएको बताए। उनले भने, ‘यहाँको अर्को मुख्य समस्या शौचालयको छ, भवन नबने पनि पहिला शौचालयको व्यवस्था गर्नुपर्‍याे।’

कलेजको इतिहास

राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा विसं १९७५ मा नेपालको पहिलो उच्च शिक्षा दिने संस्था त्रिचन्द्र कलेजको स्थापना भएपछि नै नेपालमा विधिवत् उच्च शिक्षाको इतिहास आरम्भ भएको थियो।

विसं १९७६ भदौ ५ बाट विधिवत् रूपमा त्रिचन्द्रमा आईए र आईएस्सीको अनि वि.सं. १९८१ देखि बीए र २००४ सालदेखि बीएस्सीको पठनपाठन शुरु भएको हो। तर २०१६ सालमा नेपालको आफ्नै विश्वविद्यालय नखुल्दासम्म त्रिचन्द्रको सम्बन्धन पटना विश्वविद्यालयसँग रहेकाले नेपाली विद्यार्थीको परीक्षा लगायत यथावत् शैक्षिक औपचारिकता सोही विश्वविद्यालयबाट हुन्थ्यो। 

‘पुनर्निर्माणका लागि सरकारलाई ताकेता गरिरहेका छौँ’

त्रिचन्द्र कलेजका प्रमुख डा. सुनिल अधिकारीले कलेज पुनर्निर्माणका लागि पहल गरिरहेको बताए।

उनले भने, ‘पहिला प्राधिकरणले बनाउने भनेको थियो। अहिले यसको म्याद सकिएकाले सरकारले नै बनाउने भनेको छ। अर्थमन्त्रीले निर्माण प्रक्रिया अगाडि बढेको बताउनु भएको छ।’ घण्टाघरसहित कलेजको छिट्टै पुनर्निर्माण गर्न सरकारलाई ताकेता गरिरहेको उनको भनाइ छ।

आयोजना भन्छ : पुनर्निर्माण प्रक्रिया अघि बढिसक्यो

प्राधिकरणको म्याद सकिएपछि प्राधिकरणले सम्बन्धित सरकारी कार्यालयमै निर्माणका लागि जिम्मेवारी हस्तान्तरण गरेको छ। जसअनुसार यसको पुनर्निर्माणका लागि अब शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले हेर्नेछ।

एकाइका प्रमुख रामशरण सापकोटाले कलेजको पुनर्निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिए। ‘पुनर्निर्माणको कन्सलटेन्ड हायर गर्न सूचना प्रकाशित गरेका छौँ’, उनले भने, ‘गुरु योजनामा छौँ।’

उनका अनुसार उक्त कलेज पुनर्निर्माण एक्जिम बैंक (भारत)को सहयोगले बन्ने हो। ‘सहयोगका लागि बैंक तयार भइसकेको छ’‚ उनले भने, ‘अबको पाँच महिनाभित्र डिपिआर तयार पार्छौं। यसका लागि प्रक्रिया अघि बढाएका छौँ। त्यसपछि निर्माण गर्न कम्पनीको लागि बोलपत्र आह्वान गरी काम थाल्छौँ।’ निकट भविष्यमै पुनर्निर्माण थाल्ने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.