|

काठमाडौं :  देशको संघीय राजधानी काठमाडौंका सडकहरू वर्षौंदेखि अलपत्र  अवस्थामा छन्। उपत्यकाको चक्रपथ बाहिरका सडकहरू वर्षौदेखि कालोपत्रे हुन नसक्दा हिलो र धुलो सास्ती कायमै रहेको छ। 

इमाडोल–सिद्धिपुर, गोदावरी खोला, लुभु, लामाटार, कर्म नासा खोला, हरिसिद्धि,जोरपाटी–सुन्दरीजल, चाबहिल–साँखु,गोदावरी कुण्डलगायत सडक खण्डका स्थानीयले वर्षौंदेखि हिलो,धुलोको  सास्ती भोग्दै आएका छन्। वर्षातको समयमा हिलोको सास्ती खेपेका स्थानीयले यति वेला धुलोको सास्ती भोगिरहेका छन्। कालोपत्रेको माग गर्दै स्थानीयले पटकपटक आन्दोलन गर्दै आए। तर सुनुवाई हुन सकेको छैन। सरकारको बेवास्ता र ठेकेदारको ढिलासुस्ती मारमा भने स्थानीय पर्दै आएका छन्। 

सरकारले विस्तार गर्ने बहानामा चक्रपथ बाहिरका सडक क्रमशः भत्कायो तर कालोपत्रे हुनै सकेन। गत आर्थिक वर्षमा नै सकिनुपर्ने काम विश्वभर फैलिएको कोरोना भाइरसका कारण ठप्प भएको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। 

विश्वभरी  महामारीको रुपमा फैलिएको कोरोनाका कारण काम गर्न नसकेको सडक विस्तार आयोजनाका प्रमुख दिपेन्द्र पाण्डेले बताए। गत आर्थिक वर्षमा गरिसक्नु पर्ने काम कोरोनाको कारण देखाउँदै म्याद थपिएको थियो। आगामी चैतसम्मको ठेक्काको म्याद सकिँदै छ।  आयोजनाका अनुसार विस्तारका क्रममा रहेका सबै सडक तोकिएको समय भित्रै सकिन्छ । तर,सडकको अबस्था हेर्दा कुनै प्रगति देखिँदैन। 

आयोजनाका प्रमुख पाण्डेले भने,‘चैत सम्ममा सबै काम सकिसक्नु पर्ने हुन्छ। ठेक्काको म्याद फेरि थपिने छैन।’ सोहि अवधिमा सबै सडकको मा सक्नुपर्ने सडक विस्तार आयोजनाले जनाएको छ।

सात वर्षसम्म अलपत्र चावहिल साँखु सडक

सरकारले जोरपाटी–साँखु सडक निर्माण  तत्कालै हुन्छ भन्दै  आश्वासन देखाएको सात वर्ष पुरा भयो तर सडक कालोपत्रे हुन सकेन। १२ किलोमिटर लम्बाइको  सो सडक चौडा विस्तार गरेर ४ लेन फराकिलो बनाउने, सडकका दुवैतर्फ फुटपाथ र २–२ मिटर अपांग मैत्री संरचना बनाउने गरी २२ मिटर चौडा बनाउन २०७२ सालमै सम्झौता भएको थियो।

 पाँच चरणमा काम भइरहेको सो सडकको काम अझै पुरा हुन सकेको छैन। युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु–च्याङमिलारखानी जेभी, बज्रगुरु–विरुवाखानी जेभी र बिटी–सुनकोसी र वर्ल्ड वाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। पछि लामा र समानान्तर जेभी कम्पनी पनि यही सडक निर्माणमा थपिएको छ।

जग्गाको मुआब्जाका कारण स्थानीयको अवरोध गरेको भन्दै सडकको काम अगाडी बढ्न सकेको थिएन। सरकारले उपलब्ध भएको जग्गामा कालोपत्रे गर्नू भनि आदेश दिएको ३ वर्ष वितिसक्दा पनि सडक कालोपत्रे हु्न सकेको छैन।  निर्माण सुरु गरेको सात वर्षमा करिब ८ किलोमिटर कालोपत्रे गरेको सडक विस्तार आयोजनाले जनाएको छ। 

इमाडोल–सिद्धिपुर–गोदावरी खोला– लुभु लामाटार 

इमाडोल–सिद्धिपुर–गोदावरी खोला– लुभु लामाटार सडक विस्तारका २०७७ जेष्ठमा सम्पन्न गर्ने गरी २०७३ मा सम्झौता भएको थियो।  पहिलो  चरणको करिब ३ किलोमिटर सडक निर्माणका लागि डाँफे–समानान्तर जेभीसँग ठेक्का सम्झौता भएको थियो। तर हालसम्म सो सडकमा कालोपत्रे हुन सकेको छैन। 

त्यस्तै दोस्रो चरणको काम गर्न करिब ३ किलोमिटर सडक निर्माणका लागि २९ चैत २०७६मा सम्पन्न गर्ने गरी  ३० असार २०७४ मा आशिष सी एम ड्रागन जेभीसँग ठेक्का सम्झौता भएको थियो। भने,तेस्रो चरणको ४ किमी सडक निर्माणका लागि २८ पुस २०७७ मा सम्पन्न गर्ने गरी ३० असार २०७४ मा लामा–समानान्तर जेभीसँग ठेक्का सम्झौता भएको थियो।  सो सडक हालसम्म सम्पन्न हुन सकेको छैन। कोभिडका कारण  काममा ढिलाई भएको र हाल कालोपत्रेको काम भइरहेको सडक विस्तार आयोजनाले जनाएको छ।  चैतसम्ममा सबै काम सकिने आयोजनाको भनाइ छ। 

५ वर्षमा ३ किलोमिटर कालोपत्रे

कर्म नासा खोला–हरिसिद्धि–गोदावरी सडकखण्डमा २ चरणमा विभाजन गरेर विस्तार गर्ने ठेक्का सम्झौता भएको थियो। पहिलो चरणअन्तर्गत कर्म नासा खोलादेखि करिब ४ किलोमिटर सडक विस्तार गर्न आशीष–सिएम जेभीले ठेक्का पाएको थियो। माघ २०७७ मा सम्पन्न गर्ने गरी  ३ असार २०७३ मा  सम्झौता भएको थियो। 

त्यस्तै, दोस्रो चरणको करिब ३ किमी सडक निर्माणका लागि लामा–समानान्तर जेभीले ठेक्का पाएको थियो। २०७७ कात्तिकमा सम्पन्न गर्ने गरी ३० असार २०७४ मा  ठेक्का सम्झौता भएको थियो। तर हालसम्म सा सडकले पनि गति लिन सकेको छैन। 

जोरपाटी–सुन्दरीजल

७ किलोमिटरको जोरपाटी–सुन्दरीजल सडक निर्माणका लागि आशीष–सिएम जेभीसँग २०७३ सालमै २ वर्षभित्र काम सक्ने गरी सम्झौता भएको थियो। सम्झौताको ५ वर्ष बित्यो तर सडकको अवस्था फेरिएन। २०७५ साल असोजमा काम सक्ने ठेक्का सम्झौता भएको थियो।  सरकारले कोभिडका कारण एक वर्ष समय थप गरेको थियो सो समय आगामि चैतसम्म रहने छ। चैतसम्म सो सडकको काम सम्पन्न हुने सडक विस्तार आयोजनाको भनाइ छ। 

त्रिपुरेश्वर–नागढुंगा सडक 

त्रिपुरेश्वर–नागढुंगा सडक २०७२ असार ३१ गतेबाट सुरू भएको यस सडक २०७६ चैत महिनाभित्र सम्पन्न गर्ने भनिए पनि सो समयमा सम्पन्न हुन नसकेपछि २०७७ पुषसम्मको म्याद थप भएको थियो । उक्त समयमा समेत ठेक्का सम्पन्न गरी हस्तान्तरण नभएपछि आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी म्याद थप भएको छ।

पेप्सीकोला–सल्लाघारी सडक 

पेप्सीकोला–सल्लाघारी सडक यस सडक विस्तार आयोजना अन्तर्गत हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यस क्षेत्रमा कालो पत्रको काम मात्र बाँकी रहेको बताइएको छ ।

४.५ किलोमिटर लम्बाइ रहेको यस आयोजना कान्छाराम आर उमा एण्ड कम्पनी जेभीले निर्माण ठेक्का लिएको छ। सो आयोजना अन्तर्गत साढे २ किलोमिटरमा कालोपत्रेको काम सम्पन्न भएको छ । २ सय  मिटरमा आरसीसी ढलान गर्न लागिएको आयोजनाले जनाएको छ।

ढोलाहिटी–चापागाउँ–लेले सडक  

ढोलाहिटी–चापागाउँ–लेले सडक यस सडक आयोजना अन्तर्गत हालसम्म ७० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ। सो खण्डको लेले क्षेत्रमा बेस हालिएको छ। ढोला हिटिमा सब–बेस र कालोपत्रेको काम बाँकी रहेको छ। उक्त खण्डमा ग्रेडिङ हाल्ने काम भइरहेको छ। २०७३/७४ मा सुरू भएको यस आयोजनामा यथास्थितिमा भए पनि यही चैतभित्र पूरा गरिने भनिएको छ।

नख्खु खोला–भैँसेपाटी–बुंमती सडक 

नख्खु खोला–भैँसेपाटी–बुंमती सडक यस सडक आयोजना अन्तर्गत २ वटा प्याकेजमा ५ किलोमिटर सडकमा पाटो हाल्ने, हिम पाइप हाल्ने लगायतको काम भइरहेको छ। यस आयोजनामा कुनै पनि खण्डमा हालसम्म कालोपत्र हुन सकेको छैन। आयोजनाको काम गर्न ठेकेदारले सुरू गरिसकेको जोशीको दाबी छ।

७५ प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको यस आयोजना चैतभित्र सम्पन्न गर्ने अनुमान गरिएको छ। २०७३÷७४ मा सुरू भएको हो। कोरोनाका करण काम गर्न नसकिएको भन्दै  यी सबै सडकको म्याद थप गरिएको सडक विस्तार आयोजनाले जनाएको छ। आगामी चैतसम्म म्याद रहेको आयोजना प्रमुख पाण्डेले बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.