काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरूको मानमर्दन र कार्यकर्ताको विश्वासघात नगर्ने बताएका छन्।
नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीका निवर्तमान अध्यक्षहरूको जीवनकालमै आफ्नो पार्टीलाई मुलुकको बलियो शक्तिको रूपमा स्थापित गराउने प्रतिबद्धता समेत व्यक्त गरे।
आइतबार काठमाडौंमा शपथ ग्रहण गर्दै उनले दुईपटक मृत्युको मुखमा पुगेर पनि बाँचेको आफूले नेताको सम्मान र कार्यकर्ताको भावनाको सम्मान गर्दै पार्टीलाई बलियो बनाउने बताए।
लिङदेनले यो मोरो पनि बदमास रहेछ भन्ने नपार्ने दृढता समेत व्यक्त गरे। उनले अनुभवी नेताहरूको साथ लिएर काम गर्ने बताए। अध्यक्ष लिङदेनले भने, ‘राजेन्द्र लिङदेनले पार्टी चलाउन सक्छ भन्ने आशंका छ। पार्टीमा म मात्रै कहाँ छु ? श्रद्धेय तीन नेताहरू र हाम्रा पदाधिकारीहरू हुनुहुन्छ। मैले दाइ मानेका अनुभवी मानिसहरू हुनुहुन्छ। उहाँहरूको साथ लिएर अघि बढछौं।’
उनले आफ्ना जीवनका अनेक संयोग भएको चर्चा गरे। उनले आफू मृत्युको मुखबाट दुईपटक फर्केर आएको बताए। यसरी बाँचेको मान्छेले देश र समाजका लागि केही गर्ने स्पष्ट पारे।
उनले भने‚ ‘एक चोटि माओवादी द्वन्द्वका वेला माओवादीहरूले शहरका बीचमा पक्रिएर हजारौं मानिसले निर्घात कुटपिट गरेर अब यति भए यो मान्छे बाँच्दैन, बाँच्यो भने पनि गरिखान सक्दैन भनेर फ्याँकेको मान्छे हुँ। बाँचेर यहाँसम्म आए। अस्ति यो महामारीमा एकैरात ढिलो ल्याएको भए म आज तपाईहरूका बीचमा हुन्नथेँ। म पटकपटक मृत्युको मुखबाट फर्केर आएको दुई चार वर्ष बाँच्नका लागि मात्रै हो?’
नवनिर्वाचित अध्यक्ष लिङदेनले कांग्रेस र एमालेलाई पनि जोडेर आफूहरूले राप्रपालाई मुलुकको अग्रणी पार्टीको रूपमा अघि बढाउने बताए। उनले अब पार्टीभित्र कुनै पनि गुट नभएको दाबी समेत गरे।
उनले भने, ‘मलाई विश्वास छ–हामी सबै मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तपाईंहरूको जीवनकालमै राप्रपा यो मुलुकको बलियो शक्ति भएको देखाउँछौं। त्यो विश्वासका साथ हामी काम गर्छौँ। यो पार्टीभित्र कुनै गुट छैन, समूह छैन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।