|

धनगढी : प्रहरीले कैलालीका युवक भूपेन्द्र बडुवाल हत्या प्रकरणको विवरण सार्वजनिक गरेको छ।

सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो। प्रहरीले उक्त घटनामा २१ जनालाई अभियुक्त बनाएको छ। उनीहरुमध्ये १२ जना पक्राउ परेका छन् भने ९ जना अझै फरार छन्।

२१ जना अभियुक्तविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दायर समेत गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए।

कात्तिक २३ गते मंगलबार राति भएको बडुवाल हत्या प्रकरणमा संलग्न, योजनाकार र मतियार गरी २१ जनाविरुद्ध मुद्दा दायर गरिएको अधिकारीले बताए।

उनीहरूमध्ये लम्कीचुहा नगरपालिका–३ चिसापानीका २३ वर्षीय महेश रावल, २० वर्षीय धीरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, वडा नम्बर १ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय गोलु भन्ने निशान्त मल्ल पक्राउ परेका छन्।

यस्तै वडा नम्बर ५ बस्ने २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीण रिमाल, बर्दिया राजापुर बस्ने २१ वर्षीय रोहित आले, टीकापुर ब्लक नं. १४ बस्ने २५ वर्षीय सोहन शाह, बर्दगोरिया–२ झगढपुर बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा–३ गोदाना बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही पक्राउ परेका छन्।

यस्तै लम्कीचुहा नगरपालिका –३ चिसापानी बस्ने २७ वर्षीय नविन रावल, चिरञ्जीबी जंग शाही, हिमाल शाही, जानकी– ६ जगतपुरका जयन्द्र शाह, टीकापुर–१ बस्ने बिकास शेरचन, लम्कीचुहा–४ बस्ने रोशनबहादुर शाही,  टीकापुर–६ बस्ने अशोक रावल, लम्कीचुहा–३ बस्ने लोकजंग शाही र बर्दिया गरुवा– ५ बस्ने हेमन्त शाही भने फरार छन्। 

यस्तो छ घटना विवरण 

कैलालीको लम्की, चिसापानी र टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेकापट्टामा आफ्नो बर्चश्व कायम गर्न विभिन्न अपराधिक समूह सक्रिए छन्।

त्यसमा एउटा समूहको नेतृत्व नविन रावल र अर्कोको जयेन्द्र शाहले गर्छन्। प्रहरी उपरीक्षक अधिकारीका अनुसार सुरुमा रावल र शाह एकै समूहमा थिए। केही समय अगाडि मनमुटाव तथा आपसी वैमनश्यता उत्पन्न भएपछि दुई समूहका युवाहरूबीच पटकपटक झगडा हुने गरेको थियो।

बडुवालको हत्या अगाडि नै रावल र शाह समूहका सदस्यहरूका विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलाली, मातहत इकाई र काठमाडौंमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको भेटिएको छ।

‘ती मुद्दामा कोही धरौटीमा छुटेका थिए भने कोही अहिलेसम्म पनि फरार छन्,’ एसपी अधिकारीले भने। ०७८ भदौमा काठमाडौंको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नविन रावल समूहका हिमाल शाहीलाई खुकुरी प्रहार गरी यान मार्ने प्रयास गरेको थियो। ‘त्यो घटनापछि कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नविन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाएको रहेछ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘नविन रावललाई आक्रमण गर्ने योजना बनाउँदै कपिल श्रेष्ठ कार्तिक २० गते काठमाडौंबाट लम्की पुगेका थिए।’

२३ गते नविन रावल समेतको समूह लम्कीमा आयोजित फुटबल खेल हेर्न आएको थाहा पाएपछि कपिल श्रेष्ठले आफ्ना समूहका युवालाई खबर गरे। लम्की खेल मैदानमै आक्रमण गर्न खोजेको भए पनि त्यो सफल भएन। नविन रावलले आफूमाथि आक्रमणको योजना रहेको जानकारी मदन शाहीमार्फत पाए।

रावलले आफ्ना समूहका आर्यान, हिमाल, हेमन्त, मदन, चिरञ्जीबी, रोशन, निशान्त, धीरज, रोहित र सोहनलाई लगेर टीकापुर हिडे। प्रहरीका अनुसार रावल समूहको योजना जयन्द्र समूहको जुनसुकै व्यक्ति फेला पारे पनि आक्रमण गर्ने थियो।

‘टीकापुर क्षेत्रमा लुकी बसेका कपिल श्रेष्ठ एक्लिएपछि लम्कीमा रहेका मिल्ने साथी भूपेन्द्र बडुवाललाई फोन गरेर बोलाएका रहेछन्,’ एसपी अधिकारीले भने, ‘भूपेन्द्र कपिललाई लैजान टीकापुर गए। त्यहाँ नविन रावलको समूह जयन्द्र समूहका व्यक्तिलाई आक्रमण गर्न हातहतियारसहित खोजीमा थियो। सो क्रममा भूपेन्द्र फेला परेपछि उनीमाथि आक्रमण भएको खुलेको छ।’

एसपी अधिकारीका अनुसार झण्डै २ किलोमिटरसम्म लखेटेर सिद्धार्थ होटल नजिक भूपेन्द्रमाथि आक्रमण भएको थियो। आर्यन देवकोटा, चिरञ्जीबी शाही, रोशन शाही र रोहित आले समेतले पेट र छातीको भागमा २ पटक, पिठ्युको भागमा ३ पटक र टाउकोको पछाडि एक पटक धारिलो हतियार प्रहार गरेको खुलेको छ।

आक्रमणपछि नविन रावल समूह जोशीपुर पुग्यो। त्यहाँ एकजनाले अपराध स्वीकार्ने र अरु फरार रहने योजना बनेको पाइएको एसपी अधिकारीले बताए।

‘सोही योजनाअनुसार आर्यन देवकोटा बौनिया बजारमै रहेको र नविन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही र चिरञ्जिबी शाहीलगायत लोकजंगले बनाएको योजना अनुरुप बौनिया बजारभन्दा उत्तर तर्फको चायाँभावर गाउँमा लुकेका रहेछन्,’ एसपी अधिकारीले भने, ‘२५ गते धनगढीको जुगेडा हुँदै उनीहरु भारत गएको पनि अनुसन्धानबाट खुलेको छ।’

नविन, धिरज, आर्यन, मदन, निशान्त, विकास, प्रविण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम हुने सजाय (जन्मकैद) र सोही संहिताको दफा ४१ (जीवित रहेसम्म) बमोजिम कैदसजाय मागदाबी गरिएको छ। 

लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (२) बमोजिम (जन्मकैद) सजाय माग गरिएको छ भने लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) (क) बमोजिम कसुर गरे सरह जन्मकैदको सजाय माग गरिएको छ।

यस्तै दफा १८६ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालालाई उचित क्षतिपूर्तीको पनि माग गरिएको छ। कार्तिक २३ गते टीकापुरमा भूपेन्द्रको हत्या भएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.