|

म्याग्दी : जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय गन्तव्यका नयाँ स्थानहरुको पहिचान र प्रवर्द्धन कार्यक्रम  अघि बढाएको छ।

पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि नयाँ पदमार्गसहित थप नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी अभियान संचालन गरेको हो।

विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्डसडकले ती स्थानहरुसम्म पुग्ने पदमार्ग विस्थापित भएपछि पर्यटकहरु अलमलमा पर्ने गरेका छन्। सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए।

‘कोभिडपछिको पर्यटनका लागि भर्जिन गन्तव्य पहिचान गरेका छौँ’, उनले भने, ‘नयाँ गन्तव्यमा पूर्वाधार निर्माणसँगै प्रवर्द्धनमा जोड दिएका छौँ।’ अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’, खयर–खोपारा, नारच्याङ र महभिर झरना, जलजले–फगाम–मोतिचौर बराह–धवलागिरि आधार शिविर, करबाकेली, बयली, मोहरेडाडा, प्यारीबाराही, कालीबराह ताल, फूलबारी, गुराँसपार्क, मुन्द्रा चढाउने डाँडा, नागी, टिकोट, पाउद्धार, सेकार्कु, रातोपानी कुण्ड अन्नपूर्णका नयाँ पहिचान भएका गन्तव्य हुन्।

संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, भुरुङ–तातोपानी, घोडेपानी, पुनहिल, अन्नपूर्ण–धवलागिरि पर्यावरणीय सामुदायिक पदमार्ग अन्नपूर्णका स्थापित पर्यटकीय गन्तव्य हुन्।

प्राकृतिक दृश्यावलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिकाको मोहरेडाँडा र खोपारामा रहेको सामुदायिक लजको क्षमता बढाइएको छ। अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने दुई ठाउँमा २०-२० जना क्षमताको लज थिए।

पाहुनाको चाप बढेपछि मोहरेडाँडामा गाउँपालिका र पर्यटन मन्त्रालयले रु एक करोड ५० लाख लगानीमा तीनवटा र खोपारामा गण्डकी प्रदेश सरकारको रु २० लाख लगानीमा एक आठकोठे आश्रयस्थल भवन निर्माण भएको छ।

क्षमता विस्तार र सुविधा थपेर सामुदायिक लजको स्तरोन्नति भएपछि मानव बस्तीदेखि टाढा रहेको मोहरेडाँडामा पर्यटकले बास नपाएर दुःख पाउने समस्या हटेको मोहरेडाँडाको सामुदायिक लजका कर्मचारी नगेन्द्र गर्बुजाले बताए।

अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलो मानव पाइला पारेका फ्रान्सका मौरिज हर्गोजको नाममा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग सञ्चालन भएको छ। मौरिजको नामबाट नामाकरण भएको यस पदमार्गमा पर्यटन मन्त्रालयले रु दुई करोडभन्दा बढी लगानीमा गत आर्थिक वर्षमा पदमार्ग बनाएको छ।

राष्ट्रिय फुल गुराँसको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले अन्नपूर्ण गाउँपालिका–७ फूलबारीमा गुराँस पार्क (उद्यान) स्थापना गरेको छ। अन्नपूर्ण गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ मा पर्ने बयली, घोडेपानी, फूलबारी, मोहरेडाँडा क्षेत्रमा गण्डकी प्रदेशमै ठूलो लालीगुराँसको जङ्गल भएको दाबी गरिएको छ।

डिभिजन वन कार्यालय म्याग्दीको रु १० लाख अनुदान सहयोगमा नेसरानी सामुदायिक वन उपभोक्ता समूहले २० रोपनी पाखो सम्याएर घेराबार गरी नेपालमा पाइनै सबै ३१ प्रजातिका गुराँसको बगैँचा र सूचना केन्द्रका लागि परम्परागत शैलीको गोलघर र सार्वजनिक शौचालय निर्माण गरी पार्क बनाएका हुन्।

समूहका अध्यक्ष लालबहादुर गर्बुजाले गुराँसको अध्ययन तथा सूचना केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको पार्कबाट पृष्ठभूमिमा हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.