पुषसम्म ठेकेदार कम्पनी छनोट हुने

|

काठमाडौं : नेपालमा बनेका अधिकांश सडक संरचना विदेशीका आर्थिक सहायताले बनेका छन्। विभिन्न डिजाइनका सडक, पुल विदेशी निर्माण व्यवसायीले नै बनाएका छन्।

चीन सरकारको सहयोगमा कलंकी चोकको अन्डरपास बनेको छ। तर पहिलोपटक सरकारले आफ्नै लगानीमा र नेपाली निर्माण व्यवसायीले ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण गर्दै छ।

निर्माणका लागि अहिले ठेक्का मूल्यांकनको चरणमा छ। सडक विभागका अनुसार जुन व्यवसायीले कम लागतमा बनाउन प्रस्ताव गर्छ, उसैले ठेक्का पाउनेछ। विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडी) सौरभ बज्राचार्यले आगामी पुससम्म ठेकेदार कम्पनी छनोट भइसक्ने बताए। 

‘ग्वार्कोको फ्लाई ओभर निर्माणका लागि ९ कम्पनीले आवेदन दिएका छन्, ’उनले भने, ‘यसमा कामको क्षमता र कम रकममा कसले गर्छ। उसले ठेक्का पाउँछ,पहिलो पटक नेपालमा यस्तो विकास हुँदै छ।’

उनका अनुसार यसका लागि ३५ करोड बजेट छुट्याइएको छ। उनले दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने बताए। ‘संरचना बनिसकेपछि त्यही कम्पनीले पाँच वर्षसम्म हेर्नुपर्ने सम्झौता छ’, उनले भने।

यस्तो बन्ने छ फ्लाई ओभर

गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिडी बज्राचार्यका अनुसार ८ लेन रहेको अहिलेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको छ।

‘अहिलेको रिङरोड फ्लाई ओभर माथिबाट जानेछ’, उनले भने, ‘त्यसमा कोटेश्वरतर्फ आउने र कलंकीतर्फ जाने गाडी गुड्नेछन्,मुनिबाट इमाडोल जाने सवारी चल्नेछ।’

उनका अनुसार लम्बाइ करिब पाँच सय मिटर र ६ मिटर रहनेछ। माथि चढ्न र झर्नका लागि र्‍याम र माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ। 

यी कम्पनीले दिए आवेदन 

ग्वार्कोको फ्लाई ओभर निर्माणका लागि शर्मा एण्ड पिभिटी लिमिटेड, लामा–गोल्डेन गुड जेभी, सूर्य–भ्याली–विकास एण्ड ब्रोर्डर जेभी, इलाइट कन्स्ट्रक्सन कम्पनी लिमिटेड, एनके–श्रेष्ठ ज्वाइन्ट भेन्चरले आवेदन दिएको छ।

त्यस्तै टुन्डी–रसुवा–रोशन जेभी, आशिष–समानान्तर–रेलिगेयर जेभी, एमआर–हिम सगरमाथाले र कालिका कन्ट्रक्सनले निवेदन दिएका छन्। गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिडी बज्राचार्यले भने, ‘कालिका कन्स्ट्रक्सनको अदालतमा मुद्दामा परेकाले त्यसलाई मूल्याङ्कन पार्ने कि नपार्ने भन्ने अन्योल थियो तर माथिबाटै राख्ने भन्ने आदेश दिएपछि उसलाई पनि समेट्यौँ।’ 

उनका अनुसार कम्पनी छनोट भएपछि ती कम्पनीले एक चरण उनले कस्तो बनाउने भनी डिजाइन बुझाउनुपर्ने छ। ‘कम्पनी छनोट भएपछि पाँच महिनाभित्र डिजाइन पनि पेस गर्नुपर्छ। त्यसपछि निर्माणको काम सुरु हुन्छ’, उनले भने। फ्लाई ओभर बनेपछि ट्राफिक जाम व्यवस्थापनमा सहज हुने उनको अपेक्षा छ। 

अरू यी ठाउँमा बनाउने योजना

सरकारले आव २०७७।०७८ नीति तथा कार्यक्रममा तीनकुने कोटेश्वर जडीबुटी खण्डमा सम्भाव्यता अध्ययन पूरा गरी  फ्लाई ओभर तथा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भ गर्ने योजना ल्याएको थियो।

नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म सवारी जाम सहजताका लागि विकल्प पहिचान गरी कार्य थाल्ने भनिएको थियो। तर केन्द्रले ग्वार्को, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको थियो। विभागका प्रवक्ता शिवप्रसाद नेपाल ग्वार्कोपछि सातदोबाटो र एकान्तकुनामा फ्लाई ओभर तथा अन्डरपास सडक बनाउने योजना रहेको बताए।

उनका अनुसार यसका लागि अर्थ मन्त्रालयमा सहमतिका लागि पत्र पठाइएको छ। ‘यहाँबाट अर्थ मन्त्रालयमा सहमतिका लागि सबै कागजात प्रक्रिया पास भएको छ, बजेट बिनियोजन भएपछि काम हुन्छ’, उनले भने।

परामर्शदाताबाट भएको अध्ययनलाई आधार मानी ग्वार्कोमा भने निर्माण अगाडि बढाएको उनको भनाइ छ। उनले भने, ‘ट्राफिक व्यवस्थापनलाई पनि हेर्नुपर्छ। त्यसैले एक चरणमा सबै ठाउँमा बनाउन सकिदैन। क्रमशः बनाउँदै जान्छौँ।’ उनले गौशालामा पनि बनाउन सम्भाव्यता अध्ययन गर्ने कुरा भइरहेकाे बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.